३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

अल्मुताइरीलाई लक्ष्य साकार गर्ने अवसर

गत चैतमा नेपालमा सम्पन्न थ्री नेसन्स कपपछि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियन बनाउने रहेको बताउँदै आएका छन्।

अल्मुताइरीले टोली प्रशिक्षण सम्हाल्दा नेपाल कतार विश्वकप २०२२ को छनोट चरणअन्तर्गत बाँकी रहेका तीन (चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डन) विरुद्ध खेलको तयारीमा थियो। टोली सम्हालेदेखि नै अल्मुताइरीले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियनसिपको उपाधि जिताउने रहेको पटकपटक दोहोर्‍याउँदै आएका छन्। नेपालले शुक्रबार नेपाली समयअनुसार राति ९ः३० बजे आयोजक माल्दिभ्सविरुद्ध खेल्दै साफ च्याम्पियनसिप २०२१ मा आफ्नो यात्रा सुरु गर्नेछ। नेपालको यात्रासँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत वास्तविक परीक्षा मालेमा हुनेछ। नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि गत महिना घरेलु मैदानमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। 

पहिलो खेल गोलरहित बराबरी खेलेको नेपाल दोस्रो खेलमा पराजित भएको थियो। त्यसलगत्तै नेपाल १० दिनको अभ्यासका लागि कतार प्रस्थान गरेको थियो। कतारमा त्यहाँको दोस्रो श्रेणीको अल बिदाविरुद्धको पहिलो अभ्यास खेल २–० ले जितेको नेपाल ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा भने ७–२ ले पराजित भएको थियो। नेपाल कतारबाटै माल्दिभ्स प्रस्थान गरेको थियो।

साफ च्याम्पियनसिपको १३औं संस्करण आइपुग्दा समेत नेपालले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन। सन् १९९३ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्नु नै नेपालको साफमा सबैभन्दा ठूलो उपलब्धि रहँदै आएको छ। नेपाल प्रतियोगिताको सेमिफाइनलबाट समेत माथि उठ्न सकेको छैन। श्रीलंकामा सन् १९९५ मा सम्पन्न दोस्रो संस्करणको साफमा सेमिफाइनसम्मको यात्रा तय गरेको नेपाल सन् १९९९ मा भारतमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको थियो। सन् २०११ र २०१३ को साफ च्याम्पियनसिपमा समेत नेपालको पाइला सेमिफाइनलबाट माथि उठ्न सकेन। युवा तथा अनुभवी खेलाडीको बाहुल्य रहेको नेपालसामु मालेमा साफ च्याम्पियनसिपको उपाधि खडेरी तोड्ने सुनौलो अवसर समेत हुनेछ।

नेपालका कप्तान किरणकुमार चेम्जोङले युवा तथा अनुभवी खेलाडी भएकाले मालेमा सुखद नतिजाको आशा गरेको बताए। ‘हाम्रा लागि सबै खेल महत्त्वपूर्ण छन्,’ किरणले भने, ‘हामी सुखद नतिजाका लागि मैदान उत्रनेछौं। हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौं। त्यसैले समूहका सबै खेलमा उत्कृष्ट नतिजाका साथ हामी फाइनल प्रवेश गर्न चाहन्छौं।’ किरणले माल्दिभ्सविरुद्ध जितका साथ प्रतियोगितामा सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको समेत बताए। नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पनि राम्रो तयारी गरेकाले सुखद नतिजा ल्याउने बताए।

‘साबिक विजेता माल्दिभ्सविरुद्ध उसैको घरेलु मैदानमा खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छाैं,’ श्रेष्ठले भने, ‘माल्दिभ्सविरुद्धको खेल कठिन हुने भए पनि हामी प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छाैं।’ नेपालले दोस्रो खेलमा असोज १८ गते श्रीलंका, असोज २४ गते भारत र असोज २७ गते बंगलादेशविरुद्ध खेल्नेछ। 

प्रकाशित: १५ आश्विन २०७८ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App