२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जितको लयमा फर्कने चाहना

विश्व क्रिकेट लिग दुईअन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल शुक्रबार अमेरिकाविरुद्ध आफ्नो तेस्रो खेल खेल्दा जितको लयमा फर्कन चाहन्छ। सोमबार पहिलो खेलमा अमेरिकामाथि ५ विकेटको जित हात पारेको नेपाल मंगलबार घरेलु टोली ओमानसँग ५ विकेटले नै पराजित भएको थियो।

सन् २०१९ फेब्रुअरीमा काठमाडौंमै सम्पन्न त्रिदेशीय शृंखलामा दुुई खेलमा अमेरिकालाई हराएको नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो।

पहिलो खेलमा ओपनर कुशल भुर्तेलसँगै रोहितकुमार पौडेलको ब्याटिङ मज्जाले चल्दा नेपालले अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य भेट्टाएको थियो। अमेरिकाविरुद्धको खेलमा स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका थिए।

अमेरिकाविरुद्ध बलिङ र ब्याटिङमा सम्हालिएको प्रदर्शन गरेको नेपाल दोस्रो खेलमा भने घरेलु टोली ओमानसँग निरीह बनेको थियो। टस जितेर ब्याटिङ रोजेको नेपालका ओपनर कुशल डकआउट भएका थिए।ओपनर आसिफ शेखले ९० रन जोडे तर उनलाई दरिलो साथ दिने अन्य ब्याट्सम्यान नहुँदा नेपालले २ सय रनको आँकडासमेत कटाउन सकेन।

ओमानविरुद्ध बिर्सनलयाक ब्याटिङ गरेको नेपाल बलिङमा पनि निरीह देखिएको थियो। पहिलो ओभरबाटै ओमानका ओपनर जितेन्दर सिंहसामु निरीह देखिएका नेपाली बलरले कुनै पनि समय घरेलु टोलीलाई दबाब दिन सकेनन्।

ओमान भ्रमणमा दुई खेल सम्पन्न हुँदा नेपालले एक खेल जितेको छ भने एक खेल गुमाएको छ।अमेरिकामाथि सहज जितका साथ शृङ्खलामा सुखद सुरुआत गरेको नेपाल दोस्रो खेलमा ओमानसँग निराश बन्यो। त्यसैले तेस्रो खेलमा अमेरिकाको सामना गर्दा नेपाल जितको लयमा फर्केको सन्देश दिन चाहन्छ। अन्तिम खेलमा नेपालले ओमानको सामना गर्नेछ।

विश्व क्रिकेट लिग दुईमा नेपाल ६ खेलमा ६ अंकका साथ  छैटौं स्थानमा छ। १२ खेल खेलेको ओमान २० अंकका साथ शीर्ष स्थानमा छ भने अमेरिका १४ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै ८ खेलमा ९ अंक जोड्दै स्कटल्यान्ड तेस्रो, ७ खेलमा ८ अंक बटुलेको नामिबिया चौथो र युएई ७ खेलमा ७ अंकका साथ पाँचौं स्थानमा छन्। यता ८ खेलमा अंक खाता खोल्न नसकेको पपुवा न्युगिनी भने सातौं स्थानमा छ।

प्रकाशित: १ आश्विन २०७८ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App