२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल हुने

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २४ र २७ गते बंगलादेशसँग दुई खेल खेल्ने पक्का भएको आफ्नो वेभसाइटमा उल्लेख गरेको छ। दुई मैत्रीपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुग्नेछ।  

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटअघि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दुवै मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने एन्फाले जनाएको छ। छनोटअघिको अभ्यास खेलका रूपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ। एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रूपैयाँ तोकेको छ।  

छनोट खेल सुरुआतमा नेपालमा तय भए पनि कोरोनाका कारण उज्वेकिस्तानमा आयोजना हुन लागेको हो। उक्त छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् र अहिलो नेपाली टोली ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा अभ्यास गरिरहेको छ।

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल समूह ‘एफ’ मा छ। नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स छन्। उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ। नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै सुरुआत गर्ने तालिका छ। नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने दोस्रो खेल हङकङसँग असोज ५ मा हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ। 

प्रकाशित: २१ भाद्र २०७८ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App