१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दोहोरिएला त सेप्टेम्बर ५ ?

नेपालले पछिल्लो पटक चिरप्रतिद्वन्द्वी भारतविरुद्ध सन् २०१३ को सेप्टेम्बर ५ मा दशरथ रंगशालामा सम्पन्न साफ च्याम्पियनसिपको समूहचरणमा जित हात निकालेको थियो।

त्यसयता यी दुईबीच भएका ६ खेलमध्ये भारतले चार खेल आफ्नो पक्षमा पारेको छ। दुई खेल भने बराबरीमा टुङ्गिए। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आइतबार भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। संयोगले आइतबार पनि सेप्टेम्बर ५ नै हो र खेलस्थल पनि दशरथ रंगशाला। यसपटक नेपालले घरेलु भूमिमा त्यो सुखद नतिजा दोहोर्‍याउला त ? तथापि, पछिल्लो समय भारतले फुटबलमा धेरै विकास गरिसकेको छ, जुन विश्व वरीयतामा उसको उपस्थितिले पनि थप प्रस्ट पार्दछ। पहिलो मैत्रीपूर्ण खेलमा १–० ले पछाडि परेको अवस्थामा भारतको प्रदर्शनबाट नै छिमेकी प्रतिद्वन्द्वी कति बलियो टोली हो भन्ने प्रष्ट हुन्छ।  

यद्यपि, घरेलु समर्थकको साथ पाउने नेपालले पनि भारतविरुद्धको जितलाई प्रतिष्ठाको लडाइँ मान्ने गरेको छ र कडा चुनौती दिनेमा दुई मत छैन। त्यसो त लामो समयको अन्तरालपछि मैदान प्रवेशमा अनुमति पाएका नेपाली समर्थकका लागि भारतविरुद्धका जित विशेष महत्व राख्दछ। नेपाली राष्ट्रिय फुटबल टोली पनि समर्थकलाई विशेष उपहार दिन चाहन्छन्। तुलनात्मक रूपमा भारत निकै बलियो रहे पनि नेपालले छिमेकी प्रतिद्वन्द्वीविरुद्ध सहजै हार स्विकार गरेको इतिहास छैन। यी दुई चिरप्रतिद्वन्द्वीबीचको खेल सधैं रोमाञ्चक हुने गर्दछ। यद्यपि, नतिजाको हिसाबमा भने भारत सबै अब्बल रहँदै आएको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालको भारतविरुद्धका मैत्रीपूर्ण खेल नै अन्तिम अभ्यास खेल बन्न पनि सक्छ।  

भारतसँगको खेल लगत्तै १० दिनको बन्द प्रशिक्षणका लागि नेपाल कतार भ्रमण गर्ने तय भए पनि त्यहाँ कुन टोलीविरुद्ध अभ्यास खेल्ने वा नखेल्ने तय भइसकेको छैन। नेपाली टोली कतारबाटै असोज १५ देखि ३० गतेसम्म हुने साफ च्याम्पियनसिपका लागि माल्दिभ्स प्रस्थान गर्नेछ। बिहीबार भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल १–१ को बराबरीमा रोकिएको थियो। साथै लामो समयपछि छिमेकी राष्ट्रसँग जित निकाल्नबाट पनि नेपाल चुक्यो। सो खेलपछिको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राम्रो खेल्दा खेल्दै पनि जितबाट वञ्चित भएको भन्दै नेपाली दर्शकसँग क्षमा मागेका थिए।  

उनले दोस्रो खेलमा जितका साथ नेपाली समर्थकलाई खुसी दिने पनि विश्वास व्यक्त गरेका छन्। ‘हामी अग्रता जोगाउन नसक्दा भारतविरुद्ध जितबाट टाढियाैं,जुन जित साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालका लागि समेत विशेष बन्न सक्थ्यो,’अल्मुताइरीले भने, ‘टोलीले मेरो रणनीतिअनुसार नै प्रदर्शन गरेको हो। तर दोस्रो हाफको सुरुआती १० मिनेट हामी अल्मलिएको जस्तो देखियो। त्यसको फाइदा उठाउँदै भारत खेलमा फर्कियो।’ उनले जितका लागि अझै टोलीमा सुधारको आवश्यकता रहेको पनि बताएका थिए। ‘टोलीमा धेरै सुधार आवश्यक छ। युवा टोलीको प्रदर्शनबाट सन्तुष्ट छु,’ उनले भने,‘आइतबार हुने दोस्रो खेलमा हामी जितका लागि खेल्नेछौं। साथै साफ च्याम्पियनसिपका लागि उच्च मनोबल बनाउन चाहन्छौं।’  

भारतविरुद्ध आइतबार हुने दोस्रो मैत्रीपूर्ण खेलसँगै कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले सर्वाधिक खेलको कीर्तिमान रच्नेछ। सन् २००८ मा कम्बोडियामा सम्पन्न एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका किरणले बिहीबार मात्र पूर्वकप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए। विराजले गत चैतमा काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपअन्तर्गत बंगलादेशविरुद्धको फाइनल खेलसँगै राष्ट्रिय टोलीबाट संन्यास लिइसकेका छन्। यता भारतका क्रोएसियाली प्रशिक्षक इगोर स्टिमाकले पहिलो खेलमा सोचे अनुरूपको प्रदर्शन गर्न नसके पनि दोस्रो खेलमा सुखद नतिजा ल्याउने बताए।

प्रकाशित: २० भाद्र २०७८ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App