११ कार्तिक २०७८ बिहीबार
खेल

तीन दशकअघिको कीर्तिमान अझै यथावत्

एथलेटिक्समा परिचित नाम हो डम्बर कुँवर। हाइजम्प,  हन्ड्रेड एन्ड टेन (११०) मिटर हर्डल्स र डेकाथलन विधाको चर्चा चल्दा जोकोहीले पनि उनको नाम लिने गर्दछन्। सन् १९८८ मा कोरियाको सियोलमा सम्पन्न २४औं ओलम्पिकअन्तर्गत डेकाथलनमा कुँवरले एउटा कीर्तिमान बनाएका थिए। ५६०० प्वाइन्टबाट रचिएको उक्त राष्ट्रिय कीर्तिमान अहिलेसम्म नेपाली एथलेटिक्समा कसैले तोड्न सकेका छैन।  

‘पोखरामा भएको छनोट खेलबाट म उत्कृष्ट हुँदै सियोल ओलम्पिकमा सहभागी हुने मौका पाएँ,’ ओलम्पियन कुँवरले भने, ‘सियोलमा सहभागी भए पनि सोचेजस्तो नतिजा निकाल्न सकिएन। यद्यपि डेकाथलनमा राष्ट्रिय कीर्तिमान कायम भयो।’ स्कुले जीवनदेखि नै खेलकुदमा रुचि राख्ने कुँवर २०३५ सालमा खेलकुदकै माध्यमबाट नेपाल आर्मीका जागिरे बने। दार्चुलाको महेन्द्र माविमा कक्षा १० को पढाइ सकेपछि जागिरे बनेका कुँवरको सूदूरपूर्व झापामा पोस्टिङ भएपछि पनि विभागबाटै कुँवरले खेलजीवनलाई निरन्तरता दिए। जागिरकै क्रममा वि.सं. २०४१ सालमा शान्ति सैनिकका रूपमा कुँवर लेबनान गएका थिए। एक वर्षपछि शान्ति मिसनबाट फर्किएका कुँवरले एसियन ट्य्राक एन्ड फिल्ड सिंगापुर र थाइल्यान्ड एथलेटिक्स प्रतियोगिताको रिले विधामा सहभागिता जनाउँदै अनुभव सँगाल्ने मौका पाएका थिए। सिंगापुरको सहभागिता कुँवरका लागि अनुभव बन्दा सोही वर्ष थाइल्यान्डमा भएको अर्को एथलेटिक्समा कांस्य पदक मिलेको थियो।  

ऊ बेलाका गणका प्रमुख सेनानी दिलीप रायमाझीलाई आदर्श व्यक्ति मान्ने कुँवरले पहिलो, दोसो, र तेस्रो संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा हाइजम्प, हन्ड्रेड  एन्ड टेन (११०) मिटर हर्डल्समा सहभागिता जनाएका थिए। पहिलो र दोस्रोमा अनुभव बटुलेका कुँवरले कोलकातामा सम्पन्न तेस्रो सागमा भने चौथो स्थान हात पारेका थिए। उमेरसँगै पारिवारिक जिम्मेवारी बढ्दै गएपछि कुँवरले खेलकुदको सक्रियतालाई बिस्तारै घटाउँदै परिवारका लागि समय व्यतीत गर्न थाले। ३५ वर्ष सक्रिय खेलकुदमा सहभागी कुँवरलाई २०५५ सालमा गोर्खा दक्षिणबाहुबाट विभूषित गरिएको थियो। 

विभागको जागिरबाट पेन्सन पाएका कुँवरले २०५२ सालपछि ट्य्राक एन्ड फिल्डमा नफर्किने निधो गरे। उनले बढ्दो पारिवारिक उतरदायित्व र उमेरका कारण एथलेटिक्सलाई छाडेको बताए। ‘ऊर्जाशील उमेर बिस्तारै घट्दै गयो। २०३८ सालबाट २०५२ साल सम्म एथलेटिक्समा जोडिएँ,’ कुँवरले भने, ‘खेलाडी जीवनमा भोगेको अनुभवलाई जोडेर खेलाडी उत्पादन गर्ने लक्ष्य राखें। केही समय उत्पादन गर्न मिहिनेत पनि गरें, तर निरन्तरता दिन सकिनँ। अहिले पारिवारिक दैनिकीमा समय बितिरहेको छ।’

कुँवरले झापामा खेलकुद विज्ञको रूपमा परिचय बनाएका छन्। शारीरिक तन्दुरुस्तीका लागि कुँवर अहिले नजिकैको स्कुलमा खेलकुद प्रशिक्षकको जिम्मेवारी निभाइरहेका छन्। डेढ वर्षकी नातिनीसँग खेलेर दैनिकी बिताइरहेका कुँवर अहिले सोखले खसी पालेर बुढेसकाल कटाइरहेका छन्। पेन्सनबाट आएको पैसाले जेनतेन जिन्दगी छिचलिरहेको बताउने कुँवर खेलकुद केन्द्रमा मात्र सीमित हुने गरेकोमा चिन्ता व्यक्त गर्छन्। पहिलेजस्तो अहिले एथलेटिक्समा खेलाडीलाई समस्या नभएको बताउने कुँवरको खेलेर जीविका चलाउन सकिने समय आएको बुझाइ छ।

‘हाम्रो र अहिलेको समयलाई तुलना गर्दा मागअनुसार खेलाडीले सेवासुविधा पाएका छन्। तर प्रतियोगितापूर्व हुने तयारीले मात्रै सहभागिता सार्थक हुन सकेको छैन,’ कुँवरले भने, ‘एथलेटिक्समा खेलाडीलाई उत्पादन गर्न स्कुले जीवनबाट नै शिक्षा दिनुपर्छ। एकेडेमी खोलेर उनीहरूलाई निरन्तर अभ्यास चाहिन्छ। 

समयअगाडिको केही महिनाको अभ्यासले नतिजा निस्कँदैन।’ योगितापूर्व हुने तयारीले मात्रै सहभागिता सार्थक हुन सकेको छैन,’ कुँवरले भने, ‘एथलेटिक्समा खेलाडीलाई उत्पादन गर्न स्कुले जीवनबाट नै शिक्षा दिनुपर्छ। एकेडेमी खोले र उनीहरूलाई नि रन्त र अभ्यास चाहिन्छ। समयअगाडिको केही महिनाको अभ्यासले नतिजा निस्कँदैन।’

प्रकाशित: १२ भाद्र २०७८ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App