२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्राथमिकतामा नराखेको खेलकुदबाट चर्चित

दुई वर्षको हुँदा आसिया मोहम्मदलाई रेलले हानेपछि उनले दुवै खुट्टा र हातका केही औंला गुमाइन्। त्यसपछि उनी सामान्य जीवन बिताउनबाट वञ्चित भइन्।

तर शारीरिक रूपमा अशक्त भए पनि मोहम्मद मानसिक रूपमा बलियो देखिइन्। उनले आफ्नो क्षमता प्रमाणित गर्दै उनी हाल केन्याकै सबैभन्दा चर्चित पारा ओलम्पिक खेलाडी बनिसकेकी छिन्। केन्याबाट पारा ओलम्पिकमा स्थान बनाउने मोहम्मद पहिलो महिला रोअरर खेलाडी बनिन्। २९ वर्षीया मोहम्मदले पाँच वर्षअघिसम्म पनि आफूले खेलकुदलाई प्राथमिकतामा नै नराखे पनि अहिले त्यही खेलकुदको माध्यमबाट आफू चर्चित भएको प्रतिक्रिया दिइन्।

‘मेरो तौल अत्यधिक बढ्दै गयो। म ७० केजीको थिएँ,’ उनले भनिन्, ‘मलाई तौल घटनाउनकै लागि खेलकुदमा लाग्न परिवारले बारम्बार सुझाव दिन्थे। मैले कुनै प्रतियोगिता खेल्छु र राष्ट्रको प्रतिनिधित्व गर्छु भनेर सोचेको थिइनँ। तर आज त्यही खेलकुदबाट म चिनिएकी छु।’

केन्याको पूर्वी तटमा ह्विलचेयर टेनिस, ब्याडमिन्टन र रोविङको अभ्यास हुन्थ्यो। मोहम्मदले ह्विलचेयर टेनिस, ब्याडमिन्टन र रोविङका साथै ह्विलचेयर म्याराथनको समेत पदक जितिन्। अन्ततः मोहम्मदले रोविङलाई निरन्तरता दिने निधो गरिन्। उनै मोहम्मदले टोकियोमा पिआर वान सिंगल स्कल्समा प्रतिस्पर्धा गर्दै छिन्।

‘मैले रोविङ खेललाई आफू सुहाउँदो पाएँ, त्यसैले यही खेललाई निरन्तता दिने निधो गरेँ,’ उनले भनिन्, ‘मैले ओलम्पिक छनोटको अठोट लिएँ र अहिले त्यो पूरा भएको छ। मैले पढाउने काम छोडें र सबै ध्यान रोविङ खेलमा केन्द्रित गरें।’ मोहम्मदले यसअघि आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा इटालीमा मे २०१९ मा पारा रोविङतर्फ सहभागिता जनाएकी थिइन्।

ट्युनिसमा अक्टोवर २०१९ मा भएको अफ्रिकन प्रि–पारा ओलम्पिक च्याम्पियनसिप अन्तर्गत ७ प्रतिस्पर्धीलाई पछि पार्दै मोहम्मदले पिआर वान महिला एकल स्कल्सको उपाधि जित्दै पारा ओलम्पिकमा छनोट भइन्।

मोहम्मदले आफूजस्ता खेलाडीमाथि राज्यको नजर नपरेको भन्दै दुखेसो पोखिन्। ‘मैले पटकपटक सहयोग गर्न आग्रह गरे पनि केन्या रोविङ संघ र केन्या पारा ओलम्पिक कमिटीले छनोट खेलमा कुनै आर्थिक सहयोग गर्न नसक्ने बताएपछि म निराश बनेको थिएँ,’ उनले भनिन्।

उनको परिवारले जसोतसो जुटाएको आर्थिक सहायताकै कारण उनी पारा ओलम्पिक छनोट खेलमा सहभागी भइन्। उनका लागि सबैभन्दा गौरवको विषय तब बन्यो जब रोविङ खेल मात्र केन्याबाट पारा ओलम्पिक २०२० का लागि छनोट हुने एक मात्र खेल बन्यो।

प्रकाशित: ३२ श्रावण २०७८ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App