१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

थामिएनन् मेसीका आँखामा आँसु

एक वर्षअघि लियोनल मेसीले बार्सिलोनाका तत्कालीन अध्यक्षलाई फ्याक्स गर्दैै क्लब छोड्ने चाहना व्यक्त गरे। तर क्याम्प नोउ आफ्ना स्टार खेलाडीलाई तत्काल छोडिहाल्ने पक्षमा थिएन। बार्सिलोनाले मेसीका लागि चर्को फुकुवा रकम राखेपछि उनलाई भित्र्याउन इच्छुक देखिएका म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मन (पिएसजी) त्यसबाट पछि हटे। अन्ततः मेसी थप एक वर्ष बार्सिलोनामा बस्न सहमत भए।  

एक वर्षपछि अवस्था ठीक विपरीत बन्यो। मेसी बार्सिलोनामै बस्न चाहन्थे, त्यसका लागि उनले आफूले प्राप्त गर्दै आएको तलब सुविधामा आधा तलब कटौती गर्दै क्याम्प नोउमै बस्ने खबर सार्वजनिक नभएका होइनन्। तर बिहीबार बार्सिलोनाले स्पेनिस ला लिगाको आर्थिक नियमअनुसार मेसीसँगको सम्झौता नवीकरण गर्न नसकेको र उनलाई क्लबमा राख्न नसक्ने स्तब्धपूर्ण घोषणा गर्‍यो।

आइतबार मेसी क्याम्प नोउमा उपस्थित आफ्नो बिदाइका लागि अयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदा निकै भावुक बने। उनले पटकपटक आफ्नो आँसु रोक्ने असफल प्रयास गरिरहे। पत्रकार सम्मेलनमा बोल्नुअघि नै मेसी भक्कानिरहेका थिए।  

‘म मेरो जीवनको अधिकांश समय यहीं रहें, तर मेरो चाहनाविपरीत मैले क्लबसँगको सम्झौतामा पूर्णविराम लगाउनुपरेको छ। त्यसैले पनि मेरा लागि यो निकै कठिन क्षण हो,’ मेसीले भने, ‘म तयार नै थिइनँ।’  

गत वर्ष आफूले क्लब छोडन चाहे पनि यस सिजनबाट भने आफू बार्सिलोनामै बस्ने मानसिकता बनाएको र त्यसका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको पनि मेसीले खुलासा गरे। मेसीले क्लबको ऋण र ला लिगाको आर्थिक नियमका कारण यस सिजनबाट आफू क्याम्प नोउमा बस्न नपाउने खबर सुन्दा निकै अचम्मित भएको बताए।  

‘पछिल्ला केही दिन मैले आजको बिदाइ कार्यक्रममा के बोल्ने होला भन्ने सोचेरै बिताएँ,’ मेसीले भने, ‘तर इमानदारीका साथ भन्नुपर्दा म केही तयारी नगरी यहाँ आएको हुँ। मेलै केही सोच्नै सकिरहेको थिइनँ र अहिले पनि मैले केही पनि सोच्न सकिरहेको छैन। म स्तब्ध र शब्दविहीन छु। मेरो घरको रूपमा रहेको क्लबमा म बस्छु भन्नेमा म विश्वस्त थिएँ ।’

बिदाइ कार्यक्रममा मेसीका परिवारका सदस्य र उनका टोली सहयात्रीको पनि उपस्थिति थियो।  मेसीले आफ्नो अप्रत्याशित बार्सिलोना बहिर्गमनलाई खेलजीवनकै सबैभन्दा कठिन क्षण भएको बताए।

‘बार्सिलोना बस्दा मैले धेरै आरोहअवरोहको सामना गरें। धेरै खेल गुमाएँ पनि तर जेजति भए पनि म प्रशिक्षणका साथै उही जोस र जाँगरका साथ मैदान फर्कन्थें,’ मेसीले भने, ‘स्थिति फरक बन्यो। विगत फर्काउन सकिँदैन। यो अन्त्य हो र अब नयाँ कथाको सुरुआत हुन्छ।’

मेसीले आफ्ना समर्थकमाझ बिदाइ लिन पाएको भए त्यो आफ्ना लागि विशेष हुने भए पनि त्यो अपूरै रहेको बताए। यद्यपी मेसीले धेरै क्लबहरूबाट प्रस्ताव आइरहेको भन्दै अहिले नै आफ्नो आगामी गन्तव्यका बारेमा खुलेर केही बताउन भने चाहेनन्।फ्रेन्च लिग वान क्लब पिएसजी जानेबारे सोधिएको प्रश्नमा मेसीले भने, ‘त्यो सम्भावित कदम हो।’

युथ टोली हुँदै बार्सिलोनामा खेलजीवन सुरु गरेका मेसीले क्याटलान क्लबमा करिब दुई दशक बिताए। मेसीले सन् २००४ मा पहिलो पटक १७ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए। जहाँ उनले १७ वर्षे खेलजीवनमा ४ पटक च्याम्पियन्स लिग, १० पटक स्पेनिस ला लिगा, ७ पटक कोपा डेल रे र ८ पटक स्पेनिस सुपर कपको उपाधि जिते।

मेसी बार्सिलोनाका सर्वकालीन सर्वाधिक गोलकर्तासमेत हुन्। उनले बार्सिलोनाबाट ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका थिए। मेसी ला लिगाका समेत कीर्तिमानी गोलकर्ता हुन्। उनले ला लिगामा ५ सय २० खेलमा ४ सय ७४ गोल गरेका छन्।

प्रकाशित: २५ श्रावण २०७८ ००:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App