१५ असार २०८१ शनिबार
image/svg+xml
विचार

पुटिन–किम सहकार्यको सन्देश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि जुन व्यस्त महिना रह्यो। रुसको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रममा बोल्दै उनले युक्रेनसँग शान्ति वार्ताका लागि आफ्ना सर्तहरू तथा चीनसँगको सहकार्यमा वैकल्पिक अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली स्थापना गर्ने प्रस्तावबारे प्रकाश पारेका थिए। उनले महाशक्ति राष्ट्रहरूको चर्काे द्वन्द्वले अन्तराष्ट्रिय मञ्च तथा समाधानको हार हुने बताएका थिए।

त्यसको एक सातापछि उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उनले उत्तर कोरियाली तानाशाह किम जोङ उनसँग रणनीतिक रक्षा सम्झौतामा हस्ताक्षर गरे। रसिया र उत्तर कोरियाले युद्धको अवस्थामा एकअर्कालाई तत्काल सैन्य सहायता प्रदान गर्ने वाचा गरे। सँगसगै पुुटिनले उक्त अवसरमा अमेरिकी नेतृत्वको वर्तमान विश्व व्यवस्थालाई कमजोर पार्न विश्वभरका अधिनायकवादीहरूसँग गठबन्धन गरेर अगाडि बढ्ने क्रेमलिनको दृढ संकल्प दोहोर्‍याएका थिए।

स्विट्जरल्यान्डमा युक्रेनको सक्रियतामा आयोजित शान्ति सम्मेलनको कही दिनअघि अर्थात जुन १४ मा दिएको आफ्नो एक घण्टा लामो सम्बोधनमा पुटिनले अनेकौँ रणनीतिक विषयहरू समेटेका थिए। सो सम्बोधनको सुरुमा उनले युक्रेनमा गरिएको तथाकथित ‘विशेष सैन्य कारबाही’ देखि लिएर नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको ‘अपरिहार्य’ उदयको आवश्यकता औल्याएका थिए।

यसैगरी ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स सदस्य रहेको ‘ब्रिक्स प्लस समूह’ को अध्यक्षता रुसले गरिरहेको प्रसग उद्धृत गर्दै उनले ग्लोबल साउथको विकासमा पश्चिमा राष्ट्रहरू बाधक रहेको दाबी गरेका थिए।  सम्बोधनमा आफ्ना सामान्य गुनासोबाहेक पुटिनले युक्रेनमा शान्तिका लागि रुसी सर्तहरू रेखांकित गरेका थिए।

सन् २०२२ मा रुसले कब्जा गरेको चार क्षेत्रबाट युक्रेनी सेनाहरू फिर्ता हुनुपर्ने उनको माग थियो। उता, युक्रेनी राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीले रुसी राष्ट्रपतिका यी सर्त तुरुन्तै अस्वीकार गरे। युक्रेन आक्रमणअघि रुसले जारी गरेको अल्टिमेटमसँग यो मागले समानता राखेको तर्क जेलेन्स्कीको थियो। जेलेन्स्कीको यो अस्वीकृतिलाई नाटोका महासचिव जेन्स स्टोल्टेनवर्गले तत्काल समर्थन गरेका थिए र भनेका थिए– सुरुमा युक्रेनी क्षेत्रबाट रुसी सेना फिर्ता हुनुपर्दछ।

त्यसो त, प्रमुख रूसी टिप्पणीकारहरूले समेत पुटिनका यी मागलाई अवास्तविक भनेर चित्रण गरेका छन्। उनीहरूले यसलाई शान्ति प्राप्त गर्ने वास्तविक प्रयासको सट्टा पश्चिमलाई थप दबाब दिने पुटिनको रणनीति भनेका छन्। पुटिनले यो युद्ध रुस–युक्रेनबीच मात्र नभै पश्चिमेली राष्ट्र र विशेषगरी संयुक्त राज्य अमेरिकासँगको प्रोक्सी युद्ध रहेको दाबी गर्दैै आएका छन्। यसअघिको ‘युरो–एटलान्टिक सुरक्षाको सम्पूर्ण प्रणाली’ पतन भएको घोषणा गर्दै उनले समग्र युरोपको रक्षा सुनिश्चित गर्न द्विपक्षीय र बहुपक्षीय सामूहिक–सुरक्षा ग्यारेन्टीसहितको युरेसियन प्रणाली स्थापना गर्ने चरणबद्ध योजनाको ढाँचासमेत सार्वजनिक गरेका छन्।

पुटिनका अनुसार यो प्रस्तावित ढाँचा चिनियाँ विश्वव्यापी सुरक्षा पहलको पुरकका रूपमा हुनेछ। चीन–रुस सम्बन्धको ‘कुनै सीमा नभएको’ चर्चा गर्दै उनले आपसी साझेदारितामा रुस र चीन नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। नयाँ सुरक्षा गठबन्धन नाटोका सदस्यहरूका लागि खुला हुने बताउँदै पुटिनले हाल नाटोको आधारभूत सिद्धान्तको विपरित ‘युरेसियन क्षेत्रमा बाह्य शक्तिको सैन्य उपस्थिति’ रहेको र यसलाई पुनर्विचार गर्न युरोपेली देशहरूलाई आग्रह गरेका थिए। यद्यपि पुटिनका यी तर्क नयाँ होइनन् तर उनले ग्लोबल साउथ, विशेषगरी अफ्रिका र ल्याटिन अमेरिकी देशलाई गरेको आग्रह महत्त्वपूर्ण थियो।

पुटिनले ब्रिक्स प्लसलाई पश्चिमा शक्तिका लागि भूराजनीतिक प्रतिसन्तुलनकारी निकायका रूपमा विकास गर्न तथा सदस्य राष्ट्रले स्वतन्त्र भुक्तानी प्रणाली स्थापना गर्न आवश्यक रहेकोमा जोड दिएका थिए। यसले भुक्तानी प्रणालीमा रहेको पश्चिमा नियन्त्रण समाप्त हुने उनको तर्क थियो। पुटिनको यो भनाइले विद्यमान विश्वव्यापी वित्तीय संरचनालाई कमजोर पार्ने र अमेरिकाको नेतृत्वमा लगाइएको आर्थिक प्रतिबन्धको प्रभाव कम गर्ने बृहत् रुसी रणनीतिलाई प्रतिविम्बित गर्छ।

पुटिनको जुन १४ को भाषण संयोगवस गरिएको थिएन। यो भाषणले रुसको पश्चिममा आलोचनात्मक नीति बहसलाई आकार दिन चाहेको थियो। विशेषगरी फ्रान्समा जारी चुनावी अभियानलाई प्रभाव पार्ने क्रेमलिनको चाहनालाई यसले प्रष्ट संकेत गरेको थियो। फ्रान्समा मरिनले पेनले नेतृत्व गरेको अतिराष्ट्रवाद पक्षधरहरूको बृहत् प्रदर्शनले सुसंगत रुस रणनीति बनाउने युरोपेली प्रयासहरूलाई कमजोर पार्न सक्ने रुसी आकलन छ।

पुटिनको भाषणको महŒवपूर्ण अंश युरोपेली युनियनसँग समर्पित थियो जसलाई उनले लामो समयदेखि अमेरिकाको अधीनस्थ मान्दै आएका छन्। युरोपमा रहेको पुरानो विभाजनलाई पुनरुत्थान गर्ने स्पष्ट प्रयासका रूपमा उनले ‘साँचो अर्थमा युरोपेली र विश्वव्यापी स्तरका राजनीतिज्ञ’ एक हुनुपर्ने बताए। विशेषगरी फ्रान्सका स्वर्गीय राष्ट्रपति चाल्र्स डे गउलेले भनेझैँ रुससँग मैत्रीपूर्ण सम्बन्ध युरोपको बृहत् भलाइका लागि अति महत्त्वपूर्ण हुने तर्क उनको थियो। वास्तवमा पुटिनले विद्यमान विश्वव्यापी व्यवस्थालाई कमजोर पार्न गरेको आफ्नै प्रयासलाई उल्लेख गर्न चाहेनन्।

चीनसँग मिलेर रुसले लामो समयदेखि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा ध्वंसात्मक भूमिका निर्वाह गर्दै आएको छ। सिरियामा विद्रोही–नियन्त्रित क्षेत्रमा मानवीय सहायता मिसन समाप्त गर्न र उत्तर कोरियामा आर्थिक प्रतिबन्धहरूको अनुपालनको अनुगमन गर्ने विशेषज्ञ टोली खारेज गर्ने विषयमा रुसले भिटो प्रयोग गरेपछि अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरू चिन्तित देखिन्छन्।

उत्तर कोरियाली नेता किमसँगको सुरक्षा सम्झौताका सर्तहरूले सोभियत संघ र उत्तर कोरियाबीचको सन् १९६१ सम्पन्न सन्धिलाई प्रतिध्वनित गर्दछ। यसले पुटिनकै मापदण्डअनुसार पनि तनावलाई बढावा दिन्छ। युक्रेनमा पुटिनको आक्रामक युद्धका लागि उत्तर कोरियाले दिएको सममर्थनले किमको आणविक महत्त्वाकांक्षाका लागि रुसी समर्थन बढाएको संकेत गर्दछ। यसले अन्ततः चीनलगायत उत्तर कोरियाका छिमेकीहरूलाई समेत हानि पुर्‍याउँछ।

पछिल्लो रुस–उत्तर कोरिया विकासक्रमको जवाफमा दक्षिण कोरियाले रुसी राजदूतलाई बोलाएर युक्रेनलाई हतियार सहायता पठाउने विषयमा आफूले विचार गर्ने घोषणा गरेको थियो। उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदारसमेत रहेको चीनले आफूलाई पछिल्लो यो ‘दुष्ट गठबन्धन’ बाट टाढा राख्न खोजेको छ। उत्तर कोरियाली मामलामा रुस अगाडि बढ्दा अन्ततः उत्तर कोरियामा चीनको प्रभाव कम हुन सक्छ। यसले एकतिर पश्चिमसँगको तनाव बढाउन सक्छ भने अर्काेतिर सँगसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङको दीर्घकालीन भूराजनीतिक महŒवाकांक्षालाई समेत खतरामा पार्न सक्छ।

पुटिनले पश्चिमा राष्ट्रको एकतालाई खलल पार्ने प्रयासलाई निरन्तरता दिने र विद्यमान विश्व व्यवस्थालाई कमजोर पार्ने प्रयास त्याग्ने सम्भावना नरहेको वर्तमान पृष्ठभूमिमा किम–पुटिन सहकार्यले चीन र रुसबीचको साझेदारिता कमजोर हुने आदर्श अवसर सिर्जना भएको छ।

– पालासिओ स्पेनकी पूर्वपरराष्ट्रमन्त्री तथा विश्व बैंकका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्।  

(प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: १२ असार २०८१ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App