८ वैशाख २०८१ शनिबार
खेल

ओलम्पिक पदक दोहोर्‍याउने वाचा

टोकियो ओलम्पिकमा ब्रिटेनबाट सहभागी सबैभन्दा कान्छी खेलाडी स्काई ब्राउनले २०२४ मा हुने ओलम्पिकमा पदक दोहोर्‍याउने वाचा गरेकी छिन्।  ११ वर्षको उमेरमा स्केटबोर्डसँग जोडिने क्रममा गम्भीर दुर्घटनाबाट बाँचेकी १३ वर्षीया ब्राउनले उक्त दुर्घटनाले खेलमा लाग्न प्रेरित गरेको बताइन्। गम्भीर चोटबाट मुक्त हँदै जीवन पाएकी ब्राउनले दुर्घटनाकै कारण ओलम्पिकसम्मको यात्रा तय गर्न सम्भव भएको बताइन्। गम्भीर दुर्घटनामा ब्राउनको टाउको, नाडी र हातमा गम्भीर चोट लागेको थियो। सोही घटना जीवनको सिकाइ र भोगाइ भएको उनको प्रतिक्रिया थियो।

जापानमा जन्मिएकी स्केटर ब्राउनले आफूले लगाएको हेलमेटले नयाँ जीवन दिएको प्रतिक्रिया दिँदा पहिलो सहभागितामा नै कांस्य पदक हात पारेकी छिन्। स्केटबाट ओलम्पिकमा सहभागी होइन्छ भन्ने पनि सोच नराखेकी ब्राउनले दुर्घटनाले खेलमा लाग्न सहयोग पुर्‍याएको दोहोर्‍याइन्।

‘दुर्घटना हुँदा म राम्रोसँग स्केट गर्न जान्ने अवस्थामा पनि थिइनँ। मेरा बुबाआमाले स्केटभन्दा अन्य केही गर भनेर बारम्बार भन्नुहुन्थ्यो,’ प्राप्त कांस्य पदकबाट खुसी देखिएकी ब्राउनले भनिन्, ‘आज म निकै खुसी छु।  इमानदारीसाथ भन्दै छु, दुर्घटनाले नै मलाई झनै बलियो बनाएको हो।’

१३ वर्ष २८ दिन पुगेकी ब्राउन १९३६ मा अमेरिकन स्केट खेलाडी मार्जोरी जेस्टरिङले सबैभन्दा कम उमेरमा जितेको स्वर्ण पदकको कीर्तिमान भंग गर्ने लक्ष्यमा थिइन्। तर उनी कांस्य पदकमै खुम्चिन पुगिन्। त्यो समयमा अमेरिकन खेलाडी मार्जोरी जेस्टरले १३ वर्ष २ सय ६८ दिनको दिन ओलम्पिकमा सहभागी हुँदै स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी थिइन्। हाल अहिले उनी ८५ वर्ष भएकी छिन्।  

दुर्घटनाबाट पाठ सिकेकी ब्राउन पेरिसमा हुने २०२४ को ओलम्पिकमा अर्को सफलताको खोजीमा हुनेछिन्। स्केटबोर्डका अलावा सर्फिङमा पनि प्रतिस्पर्धा गर्ने लक्ष्य ब्राउनमा हुनेछ।

‘सर्फिङमा पनि इच्छा छ। सम्भवतः मेरो इच्छा पूरा हुनेछ,’ ब्राउनले थपिन्। स्केटबोर्ड ओलम्पिकमा राखिएको नयाँमध्येको खेल हो। यो खेलको उदेश्य युवा समर्थकलाई केन्द्रित गर्ने हो। कलिलै उमेरका खेलाडीलाई पदक दिलाउँदै खेलमा आकर्षित गर्ने लक्ष्यका साथ ओलम्पिकमा समावेश गरिएको हो। पदक जितेपछि सञ्चारकर्मीसँग भिलेजबाट अभिव्यक्ति दिएकी ब्राउनले आफ्नो पदकले युवतीहरूलाई प्रेरणा मिल्ने बताइन्। आफैंले आफूलाई विश्वास गरेर निरन्तर लागे सफल हुने भन्दै ब्राउनले सबैलाई सन्देश पनि दिइन्। ‘सबैले स्केटबोर्डमा प्रतिस्पर्धा गर्न सक्छ। उमेर र उचाइले केही फरक पार्दैन। चाहे जुनै समयमा पनि सफल हुन सकिन्छ। दृढ संकल्प गर्ने खेलाडी सफल हुन्छ,’ ब्राउनले थपिन्।

प्रकाशित: २१ श्रावण २०७८ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App