८ वैशाख २०८१ शनिबार
खेल

रोकिएको छैन विरोधी स्वर

जुलाई २३ मा टोकियो ओलम्पिकको उद्घाटन सत्रमा आतिसबाजी चलिरहँदा काई कोयमा टोकियो ओलम्पिक रंगशालाबाहिर थिए। उद्घाटन सत्र चलिरहँदा त्यहाँ कोयमा मात्र एक्लै थिएनन्। अन्य मानिस पनि त्यहाँ जम्मा भएका थिए, टोकियो ओलम्पिक २०२० उद्घाटनको उत्सव मनाउन नभई त्यसको विरोधमा ।

जापानमा लगातार कोभिड १९ संक्रमण दर उकालो लागिरहँदा त्यहाँ टोकियो ओलम्पिक २०२० को आयोजनालाई लिएर धेरै सर्वेक्षण भए। अधिकांश सर्वेक्षणको एउटै मत थियो, हामी तत्कालका लागि टोकियो ओलम्पिक २०२० आयोजनाको विपक्षमा छौं। जापानमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउनेको संख्या पनि निकै कम छ तर उद्घाटन सत्रपछि भने विरोधी स्वर कमजोर भइरहेका छन्।

टोकियो अहिले पनि आंशिक निषेधाज्ञामा छ। टोकियोका अधिकांश बासिन्दाले ओलाम्पिकको उद्घाटन सत्र टेलिभिजनमा हेरेका थिए। उद्घाटन सत्र जारी रहँदा केही मानिस त्यहाँ ओलम्पिक रिङ्समा तस्बिर लिन व्यस्त थिए भने केही प्रतियोगिता आयोजनाप्रति विरोध जनाउन त्यहाँ उपस्थित भएका थिए। जापानले घरेलु मैदानमा भएको यस संस्करण ओलम्पिकको पदक तालिकामा समेत आफूलाई दरिलो रूपमा उभ्याइरहेको छ। यससँगै ओलम्पिक रंगशालाबाहिर रहेका पसलमा समेत व्यापार बढिरहेको छ।

उद्घाटनको दिनदेखि टोकियो ओलम्पिक स्टेडियममा कोयमाको आवतजावत रोकिएको छैन। फरक यत्ति छ कि, उद्घाटनकै दिन विरोधमा उत्रनेको संख्या सयौंबाट दर्जनमा झरेको छ तर विरोध प्रदर्शन रोकिएको छैन।‘पदकभन्दा जीवन महत्वपूर्ण छ,’ प्रतियोगिता सुरु हुनु केही दिनअघि जापानका प्रधानमन्त्री योसिहिदे सुगाको कार्यालयअगाडि भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीले लगाएको नारा थियो यो। तीमध्येका एक थिए,कोयमा। उनीहरूको चाहना थियो, प्रधानमन्त्री सुगाले प्रतियोगिता हालका लागि स्थगन गरून्। जुन कोभिड १९ महामारीकै कारण निर्धारित मितिभन्दा एक वर्ष पछि धकेलिएको थियो।

‘म सरकारसँग रुष्ट छु,’ ४० वर्षे कोयमाले भने, ‘हामी संकटकालमा छौं, कोभिड १९ संक्रमणका लागि मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै छ। तर पनि ओलम्पिक खेल भने निर्वाध रूपमा सञ्चालन भइरहेको छ । जनताको ज्यानभन्दा पदक ठूलो हो?’

कोभिड १९ महामारीकै कारण गत वर्ष नै आयोजन हुनुपर्ने टोकियो ओलम्पिक २०२० एक वर्ष पछिका लागि धकेलिएको थियो। अहिले पनि जापानमा कोभिड १९ संक्रमणको दरमा कमी आइसकेको भने छैन। कोभिड १९ संक्रमण दरकै कारण विदेशी समर्थकमाथि प्रतिबन्ध लगाएको जापान सरकारले जारी ओलम्पिकका अधिकांश खेलस्थलमा स्थानीय समर्थकको प्रवेशमा समेत रोक लगाएको छ। तर कोयमाको बुझाइ छ, ‘टोकियो ओलम्पिक २०२० ले गलत सन्देश प्रवाह गर्नेछ,जसका कारण मानिसहरू कोभिड १९ को स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै निर्वाध रूपमा हिँडडुल गर्नेछन् ।’

उद्घाटन सत्र दौरान रंगशालाबाहिर रहेका प्रदर्शनकारीले विरोध गरिरहँदा उनीहरूको आवाज दर्शकविहीन रंगशालामा सहजै सुनिएको थियो। ‘म निरीह थिएँ। मलाई रिस समेत उठेको थियो, जब मैले ओलम्पिक रंगशालामा आतिशबाजी देखें। जबकि ८० प्रतिशत जापानीहरू ओलम्पिक आयोजनाको विपक्षमा थिए,’ कोयमाले भने, ‘आयोजकहरूले प्रदर्शनकारीलाई प्रजातन्त्रविरोधी भनिरहेका छन्,यो समग्र जापानीको अपमान हो।’

प्रकाशित: २० श्रावण २०७८ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App