१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डोले गरे दाईको कीर्तिमान बराबरी

साबिक विजेता पोर्चुगलले अन्तिम १६ मा स्थान बनाउँदा क्रिस्टियानो रोनाल्डोले गरेको दुई गोल टोली र व्यक्तिगत करियरका लागि निकै यादगार बन्यो। उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इरानी स्ट्राइकर अली दाईका नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमानसँग बराबरी गरेका छन्। यसले रोनाल्डोका लागि बुधबार फ्रान्सविरुद्धको खेल यादगार भएको हो। 

फ्रान्सविरुद्ध पेनाल्टीबाट बुधबार दुई गोल गरेका रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय नवौं गोल पूरा गर्दा अली दाईको कीर्तिमानसँग बराबरी भएको हो। युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ताको इतिहास बनाएका ३६ वर्षीय रोनाल्डोले फ्रान्सविरुद्ध पोर्चुगलका लागि खेल्दा १ सय ७८औं खेल खेलेका हुन्। यस्तै रोनाल्डो लगातार पाँचौं संस्करणसम्म युरो कप खेल्ने पहिलो खेलाडी पनि भएका छन् भने सबै संस्करणमा गोल गर्ने खेलाडी पनि। जारी संस्करणमा ५ गोल गरेका रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी सूचीको अग्रस्थानमा छन्।  

युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोको युरोपियन च्याम्पियसिपमा १४ गोल पूरा भएको छ। ९ गोल बनाएका फ्रान्सका मिचेल प्लाटिनीभन्दा रोनाल्डो ५ गोलले अगाडि छन्। २००४ मा सम्पन्न युरो कपअन्तर्गत ग्रिससँगको खेलमा रोनाल्डोले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। २–० ले पछि परेको अवस्थामा रोनाल्डोले इन्जुरी समयमा टोलीका लागि अग्रता छोट्याउँदा राष्ट्रिय गोलको खाता खुलेको थियो। उक्त खेलमा पोर्चुगल २–१ ले पराजित भएको थियो। यी दुई टोलीले फाइनलसम्मको यात्रा तय गर्दा आयोजकका रूपमा रहेको पोर्चुगल ग्रिससँग १–० ले नै स्तब्ध हुँदै उपविजेतामा खुम्चिएको थियो।  

आफ्नो कीर्तिमान तोडेका रोनाल्डोको प्रशंसा गर्दै अली दाईले उनलाई डिएगो म्याराडोना र लियोनल मेसीभन्दा शीर्ष स्थानमा रहेको प्रतिक्रिया दिएका छन्। ‘बधाई क्रिस्टियानो रोनाल्डो। सर्वाधिक गोल गर्ने खेलाडी कीर्तिमान रच्न एक गोलले मात्र पछाडि रहेकामा,’ इरानी स्ट्राइकर दाईले इन्स्टाग्राममा लेखेका छन्। विश्वविजेता र युरोपेली विजेताबीचको भिडन्त २–२ को बराबरीमा सकिँदा दुई गोल गरेका रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका थिए भने फ्रान्सका लागि करिम बेन्जिमाको नाममा दुई गोल रहेको थियो।  

रोमाञ्चक बनेको हंगेरी र जर्मनीबीचको खेलमा सुरुआती अग्रता भने हंगेरीले लिएको थियो। ११औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए। ६६औं मिनेटमा जर्मनीका लागि काई हाभार्ट्जले गोल गर्दै टोलीलाई १–१ अवस्थामा ल्याएका थिए। दुई मिनेटपछि नै हंगेरीका आन्द्रेस स्क्याफेरले गोल गर्दै अग्रता पुनः निकाले पनि ८४औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा फर्काउँदै हारबाट जोगाएका थिए।

प्रकाशित: ११ असार २०७८ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App