पोखरा महानगरपालिकाले महानगरभित्र विभिन्न क्षेत्रमा रहेका सार्वजनिक ऐलानी र पर्ति जग्गा अतिक्रमण गरि अनधिकृत रुपमा संरचना बनाएकोले ती संरचना हटाउन सरोकारलालाई ताकेता गरेको छ। त्यस्तो जग्गामा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन महानगरले निर्देशन दिएको हो।
महानगरले हालै एक सूचना जारी गर्दै बिना अनुमति पहुँचका आधारमा कब्जा गरिएका जग्गा र त्यहाँ बनेका भौतिक संरचना खाली गर्न भनेको हो। ती जग्गामा संरचना निर्माण गरेर कार्यालय संचालन गर्ने, भाडामा लगाउने, पर्खाल लगाएर जग्गा भित्र्याउने जस्ता काम गरेको पनि महानगरले बताएको छ।
नगर कार्यपालिकाको वैशाख ३ गतेको निर्णयअनुसार ३५ दिनभित्र संरचना हटाउन सूचना जारी गरिएको महानगरले जनाएको छ।
सार्वजनिक जग्गामा लामो समयदेखि विभिन्न व्यक्ति तथा संस्थाहरूले संरचना निर्माण गरी कार्यालय संचालन गर्ने, भाडामा लगाउने र पर्खाल लगाएर जग्गा आफ्नो बनाउने जस्ता कार्य गरेको जनगुनासो महानगरमा आएको पनि महानगरले सूचनामार्फत जानकारी गराएको छ।
महानगरले हालै जारी गरेको सूचनामा भनेको छ, ‘सार्वजनिक जग्गा संरक्षणमा ऐक्यबद्धता जनाई हालसम्म निर्माण भएका संरचना सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफैं खाली गर्न वा हटाउन यो सूचना जारी गरिएको छ।’
सार्वजनिक जग्गामा भएका अतिक्रमण र अनधिकृत प्रयोगलाई रोक्न कडा नीति लिएको महानगरको भनाई छ। विभिन्न स्थानमा सार्वजनिक जग्गा मिचेर व्यापारिक र संस्थागत संरचना बनाइएको तथ्य फेला परेपछि महानगरले ती सबैलाई हटाउन समयसीमा तोकेको महानगरका पदाधिकारीको भनाई छ।
पहुँचका भरमा सार्वजनिक सम्पत्ति दोहन गर्ने, ती सम्पत्तिमा संरचना निर्माण गर्ने, कार्यालय निर्माण गर्ने, भवन बनाएर व्यापारिक प्रयोजनमा लगाउने लगायतका प्रवृत्तिको अन्त्य गर्न र सार्वजनिक जग्गालाई संरक्षण गर्न यो कदम चालेको महानगरले जनाएको छ।
तोकिएको अवधिभित्र सम्बन्धित पक्षले आफैं संरचना नहटाएमा महानगरले कानुनी प्रक्रिया बमोजिम अघि बढ्ने पनि महानगरले बताएको छ। यसअघि पनि पोखरामा सार्वजनिक जग्गा र खोला किनारका मिचिएका क्षेत्र खाली गराउने अभियान चल्दै आएको थियो।
सबैभन्दा बढी गुनासो पोखराको बीच बजार भएर बगेको फिर्के खोला अतिक्रमणको रहेको छ। महानगरले बारम्बार फिर्केखोला अतिक्रमण गरि बनाएका संरचना हटाउने भन्दै आएपनि अहिलेसम्म हटेका छैनन।
पोखरा महानगर–१८, अँधेरी कुनादेखि सुरु भएर पर्स्याङ, मालेपटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्केखोलाको लामो समयदेखि मापदण्ड १० मिटर कायम छ।
तर, उक्त मापदण्ड लागू गर्न नसक्दा फिर्केखोला मिचिनेमात्रै होइन, बीचबीचमा गायबसमेत भएको छ। २०८० मा पनि महानगरले फिर्के खोला मिचेर बनाइएका संरचना हटाउन यस्तै ३५ दिने सूचना जारी गरेको थियो। तर, ती संरचना हटेका छैनन्।
पोखरा बजार भएर बगिरहेको यो खोलामाथि नै घरटहरा बनाइएको। पोखराको फिर्केखोला नापजाँच गर्दा खोलामाथि नै घरटहरा निर्माण भएको भन्दै यसअघि नै अध्ययन टिमले प्रतिवेदन पनि दिएको छ।
पोखरा महानगरपालिकाले बनाएको सो समितिले ३२ दिन लगाएर खोलाको नापजाँचपछि बनाएको प्रतिवेदनमा खोलाको मापदण्ड मिचेर १६० वटा संरचना बनाएको उल्लेख छ।
जहाँ ३५ वटा स्थायी र ९७ वटा अस्थायी प्रकृतिका संरचना बनाएको जनाइएको छ। अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको कुल लम्बाइ करिब ८ किलोमिटर रहेको छ।
प्रकाशित: १२ वैशाख २०८३ १५:५५ शनिबार




-600x400.jpg)