१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ओलम्पिक भिलेजमा सञ्चारमाध्यमलाई प्रवेश

टोकियो ओलम्पिक २०२० नजिकिएसँगै आयोजकले आफ्नो तयारीमा तीव्रता दिँदै ओलम्पिक भिलेजमा आइतबार सञ्चारमाध्यमलाई प्रवेश दिएको छ।

विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिक सुरु हुनुभन्दा एक महिनाअगाडि मात्र आयोजकले स्वास्थ्य क्लिनिकसहितको ओलम्पिक भिलेज सार्वजनिक गरेको हो। आगामी जुलाई २३ देखि टोकियोमा सुरु हुने उद्घाटन समारोहका लागि आयोजकले तयारी सुरु गरेको छ र यो ठूला आयोजना पूर्ण रूपमा खेलाडी र जापानिज जनताका लागि सुरक्षित रहेको सन्देश दिन चाहन्छ। उनीहरूले भाइरसको क्लिनिक उद्घाटन गर्दै पाहुनाका लागि सीमित क्षेत्रमा मात्रै बस्ने निर्धारण गरिएको छ। भिलेजमा मिनी सिटीका एन्टी भाइरस मापदण्डसहितको भेन्टिलेसन सुविधा पनि राखिएको छ। उक्त भिलेजमा १८ हजार खेलाडी र टिम सदस्यका साथै पारालम्पिकमा ८ हजार मानिस रहन सक्नेछन्।  

ज्वरो आउँदा भाइरसको क्लिनिक मुख्य मेडिकल सुविधाभन्दा अलग्गै रहने छ। भाइरस क्लिनिकले परीक्षण, आइसोलेट गर्ने र कन्ट्याक्ट ट्रेसिङ गर्नेछ। ‘यदि कुनै संकास्पद व्यक्तिमा भाइरस संक्रमण देखिएमा उनीहरूलाई आइसोलेसनमा राखिनेछ,’ भिलेजका जनरल म्यानेजर टाकासी किताजिमाले भने, ‘कोभिड–१९ को संक्रमणविरुद्ध कडाइका साथ कसरी सावधानी अपनाउन सकिन्छ भन्ने यो उदाहरण मात्र हो।’ डिनर रुममा कम समय बिताउने, जिमका सामग्रीबाट भाइरस सर्न नदिने सावधानी अपनाइने र खेलाडीलाई ह्यान्ड स्यानिटाइजर र साबुनलगायत किट प्रदान गरिनेछ। यसअघि ओलम्पिक सरेपछि भिलेजमा कमदारबाहेक कोही नहुँदा सुनसान थियो।  

तर, पछिल्ला तयारीले तीव्रता पाउँदा भिलेजले ओलम्पिकको रौनक प्रदान गरेको छ। खेलाडीहरूलाई आवश्यक समयमा प्रतिस्पर्धा स्थल र प्रशिक्षण गर्ने मैदानभन्दा बाहिर जान पूर्ण रोक लगाइएको छ। दैनिक रूपमा खेलाडीको भाइरस परीक्षण गरिनेछ। प्रतिस्पर्धाका समयबाहेक मास्क लगाउन अनिवार्य गरिएको छ। प्रतिस्पर्धा स्थलमा खान र आराम गर्न पाइने छैन। आफ्नो प्रतिस्पर्धाको केही समयअगाडि मात्र भिलेजमा प्रवेश दिइने भएको छ। प्रतियोगिताबाट बाहिरिएको या खेल समाप्त भएको ४८ घन्टाभित्र खेलाडीले भिलेज छाड्नुपर्ने प्रावधान रहेको आयोजकले उल्लेख गरेको छ।  

खेलाडीका लागि बस्ने स्थान धेरै बिलासी खालको नहुने पनि आयोजकले स्पष्ट पारेको छ। सिंगल्स रुम ९ स्क्वायर मिटर र डबल १२ स्क्वायर मिटरको रहनेछ। बेडहरू पनि डिस इनफेक्सन गरी रिसाइकल पद्धतिमा रहनेछ। आयोजकले धेरै खेलाडी भ्याक्सिन प्रयोग गरेर आउने अनुमान पनि गरिरहेको छ। स्वास्थ्य प्रोटोकल पालना नगरिएमा खेलाडी ओलम्पिकबाट बाहिर पठाउन सकिने प्रावधानबारे पनि योजना बनिरहेको छ। ओलम्पिकको प्रतिस्पर्धाका लागि शनिबार टोकियो आएका युगान्डा ओलम्पिकका डेलिगेसनमध्ये एक जनामा कोरोना पोजिटिभ देखिएपछि आयोजकमाथि चिन्ता बढेको छ।

प्रकाशित: ७ असार २०७८ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App