२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इटालीबाट नयाँ खेलाडीलाई अवसर

युरो कप २०२०

युरो कप २०२० मा आइतबार समूह ‘ए’ का दुई खेल हुँदै छन्।  

इटालीविरुद्ध वेल्स  

सुरुआती दुई खेलमा जितयात्रालाई निरन्तरता दिएको इटाली यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। स्विट्जरल्यान्डविरुद्धको जित इटालीको लगतार दशाैं जित थियो। त्यसैले रोबेर्टो मान्चिनीको टोली शतप्रतिशत नतिजाका साथ समूह ‘ए’ को विजेता बन्ने लक्ष्यमा छ। ६ अंक जोडेको इटाली शीर्ष स्थानमा छ। ४ अंकका साथ वेल्स दोस्रो स्थानमा छ भने १ अंक जोडेको स्विट्जरल्यान्ड तेस्रो स्थानमा हुँदा टर्की अंकविहीन चौथो स्थानमा छ।  

इटालीले पहिलो खेलमा टर्कीलाई र दोस्रो खेलमा स्विट्जरल्यान्डलाई हराएको थियो। यता पहिलो खेलमा स्विट्रल्यान्डसँग बराबरी खेलेको वेल्सले टर्कीमाथिको जितपछि नकआउट चरण प्रवेशको सम्भावना बलियो पारेको थियो। यसअघि नै नकआउट चरण प्रवेश गरिसकेका कारण इटालीका प्रशिक्षक मान्चिनीले नयाँ खेलाडीलाई अवसर दिन सक्छन्।

‘हामीसँग अग्रपंक्तिमा धेरैभन्दा धेरै विकल्प छन्,’ इटालीका स्ट्राइकर डोमेनिको बेर्रार्डीले भने, ‘हाम्रो लक्ष्य तेस्रो खेलमा पनि शतप्रतिशत नतिजाको निरन्तरता हो। वेल्सविरुद्ध टोलीको वास्तविक परीक्षण हुनेछ। हामी प्रतियोगिता जित्न आएका हौं।’ टर्कीविरुद्धको जितले वेल्सको अन्तिम १६ प्रवेश सम्भावना बलियो पारेको थियो।  

यसअघि सन् २०१६ मा वेल्सले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। त्यसैले वेल्स बलियो टोली इटालीविरुद्ध ३ अंक लिँदै लगातर दोस्रो पटक युरो कपको नकआउट चरण प्रवेश गर्न चाहन्छ। ‘४ अंकले पनि हामी कम्तीमा तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा बस्दै अन्तिम १६ प्रवेशका लागि पर्याप्त बन्न सक्छ,’ वेल्सका प्रशिक्षक रोबर्ट पेजले भने, ‘तर हामी समूहचरण पार गर्न इटालीविरुद्धको खेलबाट ३ अंक जोड्न चाहन्छाैं।’

स्विट्जरल्यान्डविरुद्ध टर्की  

स्विट्रल्यान्ड र टर्की दुवै टोलीका लागि आइतबार समूह चरणको अन्तिम खेलमा आमनेसामने हुँदा जितको विकल्प छैन। हार वा बराबरीले यी दुवैको युरो कप यात्रा समूहचरणमा सीमित बन्न सक्छ।  

वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड इटालीसँग निराश भएको थियो। टर्कीलाई हराएमा स्विट्जरल्यान्ड वेल्सलाई पछि पारेर दोस्रो स्थानमा बस्दै नकआउट चरण प्रवेश गर्ने सम्भावना छ। तर त्यसका लागि स्विट्जरल्यान्डले इटालीले वेल्सलाई हराएको कामना गर्नुका साथै टर्कीविरुद्ध फराकिलो जित आवश्यक छ।

६ समूहका शीर्ष दुई टोली गरी १२ र तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ टोली अन्तिम १६ प्रवेश गर्नेछन्। त्यसैले कम्तीमा तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा अटाउँदै नकआउट चरण प्रवेशको सम्भावना कायम राख्न पनि स्विट्जरल्यान्डलाई जितको विकल्प छैन।

‘मैले मेरा खेलाडीलाई हामीसँग एक खेल बाँकी रहेको र त्यसमा तीन अंक जोड्न सके मात्र अघिल्लो चरण प्रवेश गर्नेबारे जानकारी गराइसकें,’ स्विट्जरल्यान्डका प्रशिक्षक भ्लाद्मिर पिट्कोभिचले भने, ‘इटालीविरुद्धको ३–० को हारपछि खेलाडी मात्र होइन, सारा राष्ट्र नै निराश छ। त्यसैले टर्कीविरुद्धको जितका साथ हामी लयमा फर्कन चाहन्छाैं।’

यता लगातार २ खेलमा निराश बनेको टर्की पनि स्विटजरल्यान्डविरुद्ध ३ अंक जोड्दै कम्तीमा तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा अटाउँदै नकआउट चरण प्रवेशको दाबेदारी कायम गर्न चाहन्छ। ‘यो युवा टोली हो। यसअघि प्रमुख प्रतियोगिता खेलेको अनुभव टोलीसँग थिएन,’ टर्कीका प्रशिक्षक सेनोल ग्युनेसले भने, ‘मलाई थाहा छ, हामीबाट धेरै अपेक्षा गरिएको थियो। नतिजा अर्को पक्षमा होला तर हामीले राम्रो प्रदर्शनबाट त्यो अपेक्षाको सम्मान गरेका छाैं।’

प्रकाशित: ६ असार २०७८ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App