१६ चैत्र २०८० शुक्रबार
खेल

युरो कप २०२०ः नेदरल्यान्ड्सको सुखद सुरुआत

डिफेन्डर डेन्जेल डम्फ्रिजको निर्णायक गोल प्रेरणामा नेदरल्यान्ड्सले आइतबार राति युक्रेनमाथि ३–१ को रोमाञ्चक जित निकाल्दै युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।

दुई गोलले पछि परेको स्थितिबाट युक्रेनले खेललाई बराबरीमा ल्याए पनि डम्फ्रिजको निर्णायक गोलबाट डच टोलीले घरेलु भूमि आम्स्टर्डममा सुखद सुरुआत गरेको हो। समूह ‘सी’ को खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ५२औं मिनेटमा नेदरल्यान्ड्सका कप्तान जर्जिनिओ विज्नाल्डमले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए। डम्फ्रिजकै क्रसलाई युक्रेनका गोलकिपर हेओरी बुस्कानले बचाए पनि रिबाउन्डलाई विज्नाल्डमले गोलमा परिणत गराएका हुन्। त्यसको सात मिनेटपछि नै घरेलु टोलीले अग्रता दोब्बर बनायो।

पेनाल्टी क्षेत्रभित्र क्लिअर हुन नसकेको डच स्ट्राइकर वोट वेघहस्र्टले बललाई गोलमा परिणत गराएका थिए। तर, ७५औं मिनेटमा युक्रेनले गोल गर्दै खेलमा फर्कने संकेत दियो। रोमन यारेम्चुकको पासमा कप्तान एन्द्रिय एर्मोलेन्कोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काए। त्यसको ४ मिनेट नबित्दै यारेम्चुकले गोल गर्दै युक्रेनलाई २–२ को बराबरीमा ल्याए। रुस्लान मालिनोभ्स्कीको क्रसलाई उनले हेडरमार्फत गोलमा परिणत गरेका थिए।  

तर, खेल सकिन पाँच मिनेट बाँकी छँदा नेदरल्यान्ड्सले पुनः अग्रता लियो। डम्फ्रिजले हेडरमार्फत गोल गर्दै डच टोलीलाई स्पष्ट तीन अंक दिलाए। युक्रेनले युरो कपमा ६ खेलपछि गोल गरे पनि अंक जोड्न सकेन। जितसँगै नेदरल्यान्ड्सले समूह ‘सी’ मा तीन अंक जोडे पनि अंकतालिकामा अस्ट्रियाभन्दा पछि छ। अस्ट्रियाले पनि आइतबार पहिलो खेलमा नर्थ म्यासेडोनियामाथि ३–१ को जित निकालेको थियो।

प्रकाशित: १ असार २०७८ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App