१६ चैत्र २०८० शुक्रबार
खेल

नेपाल सुपर लिग: ललितपुर अझै जितबाट टाढा

ललितपुर सिटी एफसीको नेपाल सुपर लिग(एनएसएल) मा स्पष्ट तीन अंक जोड्ने योजनाले तेस्रो खेलको समाप्तिसम्म पनि पूर्णता पाउन सकेको छैन। एनएसएलको उद्घाटन खेलमा काठमाडाैं रेजर्ससँग १–० को नतिजा सुम्पिएको ललितपुर दोस्रो खेलमा चितवन एफसीविरुद्ध १–० को अग्रता जोगाउन नसक्दा १–१ को बराबरीमा रोकिएको थियो। 

बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको पहिलो खेलमा पनि ललितपुरको लिगमा स्पष्ट तीन अंक जोड्ने लक्ष्यले पूर्णता पाउन सकेन। ललितपुर धनगढी एफसीसँग १–१ को बराबरीमा रोकिन पुग्यो। यद्यपि, ललितपुरले पछि परेको स्थितिबाट पुनरागमन गरेको थियो।  

तीन खेलको समाप्तिमा एक हार र दुई बराबरीको नतिजापछि ललितपुर दुई अंकका साथ अंकतालिकाको पुछारमा छ। ‘टोलीको प्रदर्शनबारे भन्ने कुनै शब्द नै मसँग छैन,’ललितपुरका प्रशिक्षक प्रदीप हुमागाँइले भने, ‘तीन वटै खेलमा उत्कृष्ट खेलेका छौं। खेलाडीले टोलीको रणनीति अनुसारकै प्रदर्शन गरेका छन्। 

तर, फिनिसिङमा चुक्यौं। प्रशस्त गोलका अवसरका साथै पूर्ण रूपमा खेलमा हाबी भए पनि स्पष्ट तीन अंक जोड्ने लक्ष्यले पूर्णता पाउन सकेको छैन।’ तीन खेलको समाप्तिमा मात्र दुई अंक जोडे पनि बाँकी तीन खेलबाट ९ अंक जोड्दा टोलीको शीर्ष चारको बाटो भने बन्द नहुने हुमागाँइले बताए। ‘हामीले सुरुबाटै आक्रामक रणनीति लिएका थियौं र धनगढीलाई दबाबमा पनि राख्याैं। तर आशा गरिएका खेलाडीले नै पेनाल्टी गुमाउँदा त्यसको असर टोलीमा देखियो,’हुमागाईंले भने, ‘चितवनविरुद्ध पनि कप्तान अञ्जन विष्टले पेनाल्टीको अवसर सदुपयोग गर्न सकेका थिएनन्। जसको असर टोलीको नतिजामा देखिएको थियो। तर पनि हामी आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारको सम्भावना कायम राख्नेछौं।’

खेलको छैटौं मिनेटमा विमल रानाको प्रहार धनगढीका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले रोक्दा रिबाउन्डमा प्राप्त बललाई अञ्जनले जाली चुमाएका थिए। तर, अफसाइड भएको भन्दै सो गोलले मान्यता नपाउँदा टोली निराश बनेको थियो। ४२औं मिनेटमा ललितपुरका अञ्जनको प्रहार निशान खड्काले गोल लाइनबाट क्लियर गर्दै धनगढीको संकट टारेका थिए। ४४औं मिनेटमा ललितपुरले अग्रता लिने सुनौलो अवसर पाए पनि सदुपयोग गर्न सकेन। अञ्जनमाथि किरणले फाउल गर्दा प्राप्त पेनाल्टीमा नुर्लान जाहिद गोल गर्न चुके। नुर्लानको प्रहार किरणले विफल पारिदिए। ७२औं ओलाओले आफिजको गोलबाट धनगढीले अग्रता लियो।

तर, त्यसको सात मिनेटपछि नै स्ट्राइकर रञ्जन विष्टले गोल गर्दै ललितपुरलाई खेलमा फर्काए। पहिलो खेलमा विराटनगर सिटीलाई ३–० को नतिजा सुम्पिएको धनगढीले दोस्रो खेलमा काठमाडौ रेजर्समाथि ३–० को जित हात पारेको थियो। धनगढीको चार अंक छ। धनगढीका प्रशिक्षक युगलकिशोर राईले प्रतियोगिताको व्यस्त खेलतालिकाप्रति असन्तुष्टी जनाए।

‘खेलतालिका निकै व्यस्त छ। कुनै पनि टोलीले रिकभरीको समय पाएका छैनन,’राईले भने, ‘टोलीमा केही खेलाडी घाइते भएका छन्। एक खेलाडी रातो कार्डका कारण टोलीमा छैनन्। आज त्यसको असर टोलीको प्रदर्शनमा देखियो। ललितपुरले उत्कृष्ट प्रदर्शन गर्‍यो। हामीले कुनै पनि समय रणनीतिअनुसार प्रदर्शन गर्न सकेनौं र अग्रतासमेत जोगाउन असफल रह्यौं।’

प्रकाशित: १७ वैशाख २०७८ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App