coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओपनरले जिताए नेपाललाई

मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेपछि आपनर ब्याट्सम्यान कुशल भुर्तेल। तस्बिर सौजन्य: क्यान

कुशल भुर्तेल र आसिफ शेखले लगातार दोस्रो खेलमा पनि शतकीय साझेदारी गरेपछि नेपालले जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सोमबार मलेसियालाई ९ विकेटले हराउँदै गत वर्ष बेहोरेको हारको बदला लिएको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले शतकीय ओपनिङ साझेदारी प्रेरणाबाट ४७ बलअगावै जित आत्मसात् गर्दै मलेसियासँग गत वर्ष एसिसी ट्वान्टी–२० इस्टर्न रिजनमा बेहोरेको हारको बदलासमेत लियो। मलेसियाले ट्वान्टी–२० क्रिकेटमा नेपालमाथि पहिलो सफलता निकाल्दा गत वर्ष फेब्रुअरीमा थाइल्यान्डमा सम्पन्न एसिसी इस्टर्न रिजन एसिया कपमा २२ रनले हराएको थियो। यद्यपि, घरेलु भूमिमा नेपालले बदला लिँदै मलेसियासँग ट्वान्टी–२० अन्तर्राष्ट्रियको नतिजामा ४–१ ले अग्रता लिएको छ।

यसै शृंखलाबाट डेब्यु गरेका कुशल र आसिफले मलेसियासँग पनि १ सय २ रनको शतकीय साझेदारी गरे। यसअघि नेदरल्यान्डसँग पनि यो जोडीले १ सय १६ रनको साझेदारी गर्दै नेपाली टोलीका प्रशिक्षक डेभ ह्वाटमोरको नयाँ प्रयोगलाई सही सिद्ध साबित गरेका थिए। कुशलले अविजित ६१ रनको इनिङ खेल्दै लगातार दोस्रो खेलमा अर्धशतक बनाए। अर्का ओपनर आसिफ ४२ रनमा आउट हुँदै लगातार दोस्रो अर्धशतक बनाउनबाट चुके। ४१ बल खेलेका कुशलको इनिङमा पाँच छक्का र तीन चौका थियो। आसिफ ११.२ ओभरमा वीरनदीप सिंहको बलमा ठूलो सट खेल्ने चक्करमा क्याच भए।  

नेपाललाई जितका लागि ८ रन आवश्यक हुँदा आसिफ आउट भए। त्यसअघि उनले २९ बलमा चार चौका र एक छक्का हिर्काए। त्यसपछि ब्याटिङ गर्न आएका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ६ रनको योगदान दिए। अनवर रहमानको बलिङमा चौका प्रहार गर्दै दीपेन्द्रले लक्ष्य पूरा गरेका थिए। पहिलो ओभरदेखि नै बाउन्ड्री प्रहार गरेका कुशलले छैटौं ओभरको पहिलो तीन बलमा लगातार दुई छक्का र एक चौका प्रहार गर्दै मलेसियन बलरमाथि दबाब सिर्जना गरे। जसको मद्दतबाट नेपाल पावरप्लेमा ७० रन बटुल्दै सहज जितनजिक पुगेको थियो।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६.५ ओभरमा १ सय ९ रनको सामान्य योगफलमै समेटियो। तीव्र गतिका बलर करण केसीले मलेसियाका ओपनर अनवर अरूद्दिनदलाई ८ रनमै पवेलियन फर्काउँदै १.४ ओभरमा नेपाललाई बे्रक थु्रु दिलाएका थिए। तर, आक्रामक ब्याटिङ गरेको मलेसियाले पावरप्लेमा दुई विकेट गुमाए पनि ४४ रन बटुल्यो। यद्यपि, नेपाली बलरले धैर्यता नगुमाउँदा मलेसियन ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। ओपनर सइद अजिजको २७ रन नै मलेसियाका लागि सर्वाधिक व्यक्तिगत स्कोर रहँदा सार्बियन मुनियन्डीले २० रन र साफिक सरिफले १५ रन जोडे।

दीपेन्द्रसिंहले ७.५ ओभरमा अजिजलाई पवेलियनको बाटो देखाउँदै नेपाललाई चौथो सफलता दिलाउँदा मलेसिया दबाबमा परेको थियो। घरेलु बलरको धारिलो बलिङसामु मलेसियाले लगातार विकेट गुमाउँदा आठ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्नै सकेनन्। तीन ओभर बलिङ गरेका करणले तीन विकेट लिँदै १७ रन मात्र खर्चिए। उनी म्यान अफ दी म्याचसमेत घोषित भए। त्यस्तै सन्दीप लामिछानेले ३.५ ओभरमा २ विकेट लिँदा २५ रन खर्चिए। दीपेन्द्रसिंह, सोमपाल कामी, साहब आलम र कुशल मल्लको नाममा १/१ विकेट रह्यो। सोमपालले नेदरल्यान्डविरुद्ध आक्रामक ब्याटिङ गरेका वीरनदीप सिंहलाई पवेलियन फर्काएका थिए। यो जितसँगै नेपाल चार अंकका साथ शीर्ष स्थानमा रहँदा नेदरल्यान्ड समान दुई खेलबाट दुई अंकका साथ दोस्रोमा छ। मलेसिया भने अझै जितको खोजीमा छ। नेपालले आफ्नो तेस्रो खेल मंगलबार नेदरल्यान्डसँग खेल्नेछ।

प्रकाशित: ७ वैशाख २०७८ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App