१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बार्सिलोनालाई कोपा डेल रे उपाधि

एट्लेटिक विल्बाओलाई ४–० ले पराजित गर्दै बार्सिलोनाले ३१औं पटका कोपा डेल रेको उपाधि उचालेको छ।एट्लेटिको मैदानमा भएको फाइनल खेलमा बार्सिलोनालाई उपाधि दिलाउनका लागि लियोनल मेसीले दुई गोल गर्दा एन्टोनी ग्रिजम्यान र फ्रेन्की डी जोङले एक/एक गोल गरे।

सर्वाधिक ३१ पटक उपाधि उचाल्नका लागि बार्सिलोनाले १२ मिनेटको अन्तरमा ४ गोल गरी उपाधि उचाल्न सफल भएको हो। यसअघि नै सर्वाधिक उपाधि जित्ने कीर्तिमान बनाइसकेको बार्सिलोनाले कीर्तिमानलाई अझै फराकिलो बनाएको छ।  

पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा आक्रामक खेल्दै घरेलु टोलीलाई स्तब्ध बनाएको हो। दोस्रो हाफमा एकतर्फी जस्तो देखिएको खेलमा एन्टोनी ग्रिजम्यानले ६०औं मिनेटमा फ्रेन्की डी जोङको पासमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसको तीन मिनेटपछि डी जोङले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्‍याए। ६८औं र ७२औं मिनेटमा लियोनल मेसीले गोल थप्दै टोलीको अन्तर बढाए। त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र बार्सिलोना सर्वाधिक पटक उपाधि उचाल्न सफल भयो। उपाधि उचालेको बार्सिलोनाका लागि यससँगै मेसीले सातौं कोपा डेल रे उपाधि उचालेका छन्। तर बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानका लागि पहिलो हो। यसअघिको सिजनमा बार्सिलोना उपाधिविहीन थियो।  

‘डेल रेको उपाधि मेरा लागि महत्वपूर्ण र अर्थपूण थियो,’ बार्सिलोनाका प्रशिक्षक कोम्यानले भने, ‘क्लबमा आएको उतारचढावले टोलीमा केही परिवर्तन भएको छ। टिममा युवा खेलाडीको आगमनका बावजुद बार्सिलोनाले जहिले पनि उपाधिका लागि भिडन्त गर्छ। मेरो लागि यो पहिलो उपाधि हो।’ पराजित एथ्लेटिको विल्बाओले १५ दिनको अन्तरमा दुई कोपा डेल रे फाइनल गुमाएको छ। यही अप्रिल ३ मा भएको अघिल्लो सिजनको फाइनलमा रियल सोसिडाडले विल्बाओलाई हराएको थियो।

प्रकाशित: ६ वैशाख २०७८ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App