६ वैशाख २०८१ बिहीबार
खेल

१९ औं आहा रारा गोल्डकपः आशिषको निर्णायक गोलमा एपीएफ अन्तिम चारमा

आशिष लामा गोल गरेपछि खुशीयाली मनाउँदै । तस्बिर : उमेश पुन/नागरिक

सशस्त्र प्रहरी बलले खेल सकिन तीन मिनेट मात्रै बाँकी रहेको अवस्थामा गोल निकाल्दै घरेलु मैदानमा आयोजक सहारा क्लबलाई स्तब्ध बनाउँदै सेमिफाईनल प्रवेश गरेको छ । दुई वर्षअघि पनि सहारालाई उदघाटन खेलमै पराजित गरेर अघि बढेको सशस्त्र प्रहरी बलले फेरी एकपटक सहारालाई अन्तिम समयमा आईपुग्दा निराश बनाउँदै १९ औं सस्करणको आहा रारा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्‍यो ।  

सहाराले घरेलु मैदानमा फेरि एक पटक निराश नतिजासँगै गोल्डकपको शुरुवात हुन पुग्यो । बागमती गोल्डकपको हारको पीडालाई पोखरा रंगशालामा शनिबार भुल्दै १९ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गर्ने पहिलो टोली बन्यो । पहिलो हाफ गोलरहित टुंगियो । ८७ औं मिनेटमा आशिष लामाको निर्णायक गोलमा एपीएफले सहारालाई १–०ले पराजित गर्दै जित आत्मसात गर्यो । प्रदीप लामाले डिबक्सभित्र मिलाईदिएको अवसरलाई आशिष लामाले हानेको लेफ्ट सट सिधै जाली चुमेपछि सहारा खेलमा फर्किने समय निकै कम समय रह्यो । यद्यपी सहाराले गोलको लागि राम्रो मुभ बनाउन नसक्दा हारको नजितालाई स्वीकार्दै घरेलु मैदानबाटै बिदाई लियो । सहाराले प्लेइङ स्क्वाडमा आफनै एकेडेमीको एक जना खेलाडीलाई मात्रै मैदानमा उतारेको थियो । मिडफिल्डमा अशिन पोमुलिम्बुलाई अवसर दिइएको थियो । अधिकांश खेलाडी हिमायन शेर्पा क्लबका थिए ।  

पहिलो हाफ सहाराले बल माथिको नियन्त्रण राख्न सफल भएपनि मुभ भने बनाउनै सकेन । एपीएफले केही अवसर भने सृजना गर्दै घरेलु मैदानमा घरेलु टोलीलाई व्यस्त बनाईराख्यो । ११ औं मिनेटमा सुदिप सिख्राकारको फ्रिकिक सहाराका डिफेन्सले क्लियर गरेका थिए । २९ औ मिनेटमा श्याम नेपालीको क्रस पासलाई ओभरल्यापमा गएका डिफेण्डर राजन गुरुङको हेडर फष्टबारमा लागेर रिवाउण्ड हुन पुगेको थियो । उदघाटन खेलमा एपीएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए । आईतबारको खेल मछिन्द्र क्लब र अफ्रिकन रुट एशोसियसन बीच हुने छ ।  

खेलाडी सम्मान  

सहारा क्लबले गोल्डकपको उदघाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ठ खेलाडीबाट सम्मानित गरिएको छ । रिजाललाई नगद ३५ हजारसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले उनलाई सम्मान गरेका हुन् । सम्मान एवं नगदको प्रायोजन भने सहारा क्लबका मनार्थ सदस्य र एवं कास्की जिल्ला फुटबल संघको पूर्व अध्यक्ष खेमबहादुर गुरुङले गरेका हुन् ।  

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालामा रात्रीकालिन फुटबल खेलाउन फ्लड लाईट जडान गरिने बताएका छन् । उनले पोखरामा अब क्लबस्तरीय मात्रै नभई अन्तराष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्दै राती खेल्न योग्य बनाउन फ्लड लाईट जडान गरिने स्पष्ट पारे । सहारा क्लबद्वारा आयोजित १९ औं आहा रारा गोल्डकपको शनिबार पोखरा रंगशालामा उदघाटन गर्दै सदस्य सचिव सिलवालले आगामी वर्ष २० हजार दर्शक क्षमतको प्यारापिट निर्माण गरिने बताए । ‘पोखरामा राती पनि खेल्न मिल्ने गरी फ्लड लाईड जडान गर्ने छौं’ उनले भने–‘अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता पोखरामै आयोजना गर्ने तयारी समेत गरिरहेका छौं ।’

प्रकाशित: २१ चैत्र २०७७ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App