सदरमुकाम गाईघाटमा आयोजित ‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’मा फुटबलतर्फको उपाधि त्रियुगा नगरपालिका १० नं. वडा बोक्सेले चुमेको छ । सोमबार भएको फाईनलमा प्रतिद्वन्द्वी त्रियुगा ८ लाई शून्यका विरुद्ध १ गोल गर्दै बोक्सेले उपाधि चुम्न सफल भएको हो ।
त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित थरुहट–उदयपुर रंगशालामा आयोजित खेल सकिन ५ मिनट मात्र बाँकी छँदा समिराज राउतको प्रहारले गोल चुम्दै १० नं. लाई उपाधिको हकदार बनाएको हो । मध्यान्तरअघिसम्म दुवै पक्षबाट भएको पटकपटकको प्रयासलाई रक्षकहरुले गोल हुन नदिए पनि उत्तराद्र्धमा राउत गोल गर्न सफल भएका हुन् ।
महोत्सव समापनमा विजेता समूहलाई त्रियुगा नगरप्रमुख बलदेव चौधरीले ५० हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरे । त्यस्तै जिल्ला समन्वय समिति उपप्रमुख गंगा राईले उपविजेता ८ नं. लाई ३० हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिन् । फुटबलमा सर्वाधिक गोलकर्ताको उपाधि पनि समिराज राउत नै घोषित भए । उनलाई नगद, ट्रफि र प्रमाणपत्रले सम्मान गरियो ।
महोत्सवमा भलिबलतर्फ महिला पुरुष दुवैतर्फ विजेता र उपविजेतालाई पनि सोमबारै पुरस्कृत गरियो । दुवैतर्फ त्रियुगा नगरपालिका १५ नं. खाँबुले उपाधि जितेको छ । १५ ले महिलातर्फ ११ लाई र पुरुषतर्फ १० लाई हराउँदै उपाधि कब्जा गरेको हो । भलिबलको फाईनल स्पर्धा त्रियुगा नगरपालिका १० बोक्सेस्थित नायाँबस्ती खेलमैदानमा आईतबारै सकिएको थियो ।
भलिबलतर्फ विजेतालाई पुरुषतर्फ २५ हजार तथा महिलातर्फ २० हजार नगद, ट्रफि र प्रमाणपत्र मेयर चौधरीले प्रदान गरे । त्यस्तै उपविजेतालाई पुरुषतर्फ १५ हजार र महिलातर्फ १२ हजार नगदसहित प्रमाणपत्र वितरण गरियो । समापन समारोहमा भलिबलतर्फ उत्कृष्ट लिफ्टर, सेटर, सर्भर र स्टाईकरलाई १३ नं. वडाध्यक्ष पशुपति चौधरीले नगद तथा प्रमाणपत्र प्रदान गरिन् ।
समापनमा आयोजकको तर्फबाट पत्रकार, सहयोगी संघसंस्था तथा महोत्सवका बिभिन्न उपसमिति संयोजकहरुलाई आयोजक नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए । त्रियुगा नगरपालिकाको प्रायोजन तथा खेलकुद विकास समितिको आयोजनामा फागुन २३ गते उद्घाटन भएको महोत्सवमा साईक्लिङ, व्याडमिन्टन, कराते, तेक्वान्दो, बक्सिङ र क्रिकेट, भलिबल र फुटबल आयोजना गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख चौधरीले युवा पींढिलाई अनुशासित, स्वस्थ्य र गतिसिल बनाउँदै देश विकास र समृद्धिमा लगाउन खेलकुद अपरिहार्य भएको हुनाले त्रियुगा नगरपालिकाले खेलकुद महोत्सव आयोजना गरेको बताए । पछिल्लो समय गाईघाट ‘लागुऔषधको हब’ बन्दै गएको भन्दै मेयर चौधरीले युवाहरुलाई दुर्व्यसनबाट मुक्त राख्न खेलकुद कार्यक्रम नियमित र अपरिहार्य ठानेर बिभिन्न गतिबिधि गर्ने गरेको मेयर चौधरीले बताए । देशको भविष्यका कर्णधार मानिने युवा शक्तिलाई लागुऔषध दुर्व्यसनबाट बँचाउन खेलकुदसँगै अन्य सचेतना कार्यक्रमका गतिबिधि गर्न आवश्यक भएको भन्दै त्यसका लागि प्रहरी प्रशासनले सहयोग गर्न आग्रह गरे ।
जिल्ला समन्वय उपप्रमुख गंगा राईले सबैखालका खेलकुदलाई समेटेर उदयपुरमा आयोजित महोत्सव जिल्लामा पहिलो र उदाहरणीय भएको भन्दै प्रशंसा गरिन् । खेलकुदको माध्यामबाट युवालाई स्वस्थ्य, अनुशासित र उर्जासिल बनाउन सकिने हुनाले नगरपालिकाले गरेको यस्तो महोत्सव आगामी दिनमा पनि निरन्तर गर्दै लान उपप्रमुख राईको सुझाव थियो । महोत्सवले उदयपुरबाट जिल्ला, प्रदेश, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिस्तरका खेलाडी जन्माउन भूमिका खेल्ने अपेक्षा उपप्रमुख राईको थियो ।
प्रकाशित: ३ चैत्र २०७७ ०६:५६ मंगलबार





