१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मेयर कप क्रिकेट: सन्दीपको अलराउन्ड प्रदर्शन

कप्तान सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनप्रेरित काठमाडौं मेयर ११ ले काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको छ। आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडाैं मेयर ११ ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशमाथि ९४ रनको जित हात पारेको हो।

काठमाडौं मेयर ११ ले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य पछ्याएको बाग्मतीले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्र बनाउन सक्यो। बाग्मती प्रदेशको जारी प्रतियोगितामा यो लगातार दोस्रो हार हो। यसअघि शनिबार पहिलो खेलमा बाग्मती प्रदेश नेपाल पुलिस क्लबसँग २ रनले स्तब्ध भएको थियो। पुलिस क्लबविरुद्ध ब्याटिङमा निरीह देखिएको बाग्मतीले आइतबार मेयर ११ विरुद्ध पनि सम्झनलायक ब्याटिङ प्रदर्शन गर्न सकेन।

ओपनर आदिल खान र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ३६ रनको साझेदारीका साथ बाग्मतीलाई सुखद सुरुआतको संकेत दिलाएका थिए। छैटौं ओभरको पाँचाैं बलमा ज्ञानेन्द्र विपिन खत्रीको बलमा एलबिडब्लुको सिकार हुंदै पवेलियन फर्किएका थिए। थप ११ रन जोड्ने क्रममा बाग्मतीले आदिललाई समेत गुमाएको थियो। आदिललाई कृष्ण कार्कीले विवेक यादवबाट क्याच गराएका थिए। ५१ रन जोड्दा बाग्मतीले पारस खड्कालाई समेत सस्तोमै गुमायो। 

पारसले मात्र १० रन जोडेका थिए। चौथो विकेटका लागि ईशान पाण्डे र पृथु बास्कोटाले ४८ रनको साझेदारी गर्दै टोलीको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। तर २४औं ओभरमा सन्दीपले लगातार दुई विकेट लिएपछि बाग्मती संकटमा परेको थियो। २४आंै ओभरको चौथो बलमा ईशानलाई बोल्ड गरेका सन्दीपले सोही ओभरको पाँचाैं बलमा आकाश थापालाई एलबिडब्लुको सिकार बनाएका थिए। पृथु बास्कोटाले ७९ बलमा ८ चौका प्रहार गर्दै सर्वाधिक ६० रन जोडे।

मेयर ११ का सन्दीपले ९ ओभरमा ४० रन खर्चंदै ३ विकेट लिँदा अनिल खरेल र विपिन खत्रीले समान २ विकेट लिए। कृष्ण कार्की र सिद्धान्त लोहनीले समान १ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४४ रनको योगफल खडा गरेको थियो।

शीर्ष क्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न नसक्दा ४३–५ को स्थितिमा रहेको मेयर ११ को इनिङ सिद्धान्त र सन्दीप रजाइलीले छैटौं विकेटका लागि ७१ रनको साझेदारीका साथ उकासेका थिए। सिद्धान्तले ६७ बलमा ३ चौका मद्दतमा ३४ रन जोडे। सन्दीप रजाइलीले ५८ बलमा ४ चौकाको मद्दतमा ३३ रन जोडे। सौरभ खनाल र सन्दीप लामिछानेले आठौं विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए।

आक्रामक ब्याटिङ गरेका सन्दीपले २० बलमा ६ छक्काका साथ ४२ रनको योगदान गरे। त्यस्तै सौरभले नवाैं विकेटका लागि विपिन खत्रीसँग ६० रनको साझेदारी साथ मेयर ११ लाई सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए। सौरभले ५८ बलमा ६ चौका र १ छक्काको मद्दतमा अविजित ४९ रनको योगदान गरेका थिए। त्यस्तै विपिनले ३० बलमा १ चौका र २ छक्काका साथ ३२ रन बनाए।

बाग्मतीका नन्दन यादवले ४ तथा रामनरेश गिरी र आरियो पौडेलले समान २ विकेट लिएका थिए। प्रतियोगिताअन्तर्गत आइतबार नै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।  

प्रतियोगितामा एपिएफको यो लगातार दोस्रो जित हो। यसअघि एपिएफले शनिबार त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो। पुलिसले प्रस्तुत गरेको २ सय ५९ रनको लक्ष्य एपिएफले १ बलअगावै ९ विकेटको क्षतिमा पूरा गरेको थियो। एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ६१ र आसिफ शेखले ४२ रनको योगादन गरे।  

एपिएफलाई जितका लागि अन्तिम २ बलमा २ रन आवश्यक थियो। ४९औं ओभरको पाँचौं बलमा रासिद खानलाई छक्का प्रहार गर्दै शरद् भेषावकरले एपिएफको नाटकीय जित पक्का गरेका थिए। शरद्ले अविजित २० र सुमित महर्जनले अविजित ३३ रन जोडेका थिए। पुलिसका पवन सर्राफले ५ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।  

यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले कप्तान दीपेन्द्रसिंह ऐरीको शतकमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रनको योगफल खडा गरेको थियो। दीपेन्द्रले १ सय ३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै पवनले ३५,ओपनर सुनील धमलाले ३३ र अनिल शाहले १८ रन जोडेका थिए। एपिएफका शरद् भेषावकरले ३ विकेट लिँदा अविनाश बोहोराले १ विकेट लिएका थिए।

प्रकाशित: २४ फाल्गुन २०७७ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App