८ वैशाख २०८१ शनिबार
खेल

‘बी’ डिभिजिन लिग: सातदोबाटोको अपराजित यात्रा कायमै

श्री भगवती क्लबमाथि १–० को साँघुरो जित निकाल्दै सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिँदा रानीपोखरी कर्नर टिम (आरसिटी) ले टुसाल युथ क्लबलाई १–० ले नै स्तब्ध बनाएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोको अपराजित यात्रालाई निरन्तरता दिन दोर्जे तामाङले निर्णायक गोल गर्दा आरसिटीको जितमा अजित गुरुङले गरेको गोल नै पर्याप्त बनेको थियो। सातदोबाटोलाई जित दिलाउन पेनाल्टीबाट खेलको २५औं मिनेटमा गोल भएको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भगवतीका खेलाडीले विपक्षीको बल रोक्ने क्रममा पेनाल्टी क्षेत्रमा ह्यान्ड भएपछि सातदोबाटोलाई अवसर मिलेको थियो। दोर्जेले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीको अपराजित यात्रालाई निरन्तरता दिएका हुन्। जितपछि सातदोबाटोले ८ खेलबाट २२ अंक जोडेको छ। पराजित भगवतीको समान ८ खेलबाट ६ अंक भएको छ।  

‘बी’ डिभिजिन लिगअन्तर्गत सोमबारकै अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले पनि टुसाल युथ क्लबमाथि १–० को साँघुरो जित निकालेको छ। एन्फा कम्प्लेक्समै सम्पन्न दिनको पहिलो खेलमा आरसिटीका अजित गुरुङले ७३औं मिनेटमा गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्।  

रोमाञ्चक जित निकालेको आरसिटी लिग तालिकाको पाँचाैं स्थानमा उक्लिएको छ। आरसिटीको ८ खेलबाट १२ अंक भएको छ। उता पराजित टुसालको समान ८ खेलबाट ८ अंक नै छ। टुसाल सातौं स्थानमा छ। लिगमा मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनले श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेल पुलचोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबबीच हुनेछ। दुवै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन्।

प्रकाशित: १८ फाल्गुन २०७७ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App