coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली राष्ट्रिय क्रिकेट टोली: ह्वाटमोरले थाले प्रशिक्षण

प्रारम्भिक चरणमा युवा समावेश

कोरोना महामारीको चपेटमा परेको नेपाली क्रिकेट एक साताअघि सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट फर्कन थालेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी मार्चमा ओमानमा हुने अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृंखलालाई लक्ष्य राखेर अभ्यास थालेको छ।  

खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनी गरेका छन्। क्यानले घोषणा गरेका ३२ खेलाडीमध्येका २१ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएर अभ्यास सुचारु गरिएको हो। उमेश पटवालको बहिर्गमनपछि नियुक्त भएका ह्वाटमोरले नेपाली टोलीलाई सम्हाल्न थालेका हुन्। यसअघि उनी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता चलिरहँदा नेपाल आएका थिए।  

एक साताअघि मात्र सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले ३२ खेलाडीको नाम सार्वजनिक गरे पनि सुरुआती चरणमा २१ खेलाडीलाई बोलाएर अभ्यास थालेको हो। ती खेलाडीलाई नवनियुक्त प्रशिक्षक ह्वाटमोरले अभ्यासका टिप्स दिइरहेका छन्। ओमानमा हुने शृंखलालाई लक्षित गरेर प्रारम्भिक टोलीको अभ्यास थालेको प्रशिक्षक ह्वाटमोरले बताए।

‘अहिले सुरुआती चरणमा युवा खेलाडीलाई अभ्यासमा बोलाएर एक्सपोजर दिने प्रयास गरेका छौं,’ प्रशिक्षक ह्वाटमोरले भने, ‘युवा खेलाडी भएकाले उनीहरूमा जोसजाँगर छ। यी खेलाडीलाई प्रशिक्षण दिन पाउँदा निकै खुसी लागेको छ। नेपाली टोलीमा धेरै सम्भावना छ। राम्रो नतिजा निकाल्ने लक्ष्य लिएको छु।’

यस्तै उमेरसमूहमा उत्कृष्ट प्रदर्शन गर्दै नाम कमाएका पृथु बास्कोटा क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा समावेश छन्। एक साताअघि सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा उनी प्रारम्भिक टोलीमा समावेश भएका हुन्। करिब चार वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा स्थान बनाएका पृथुले राम्रो खेलेर टोलीमा अटाउने प्रयास गर्ने बताए।

‘क्रिकेटमा फर्किनका लागि हरतरिकाले यससँग जोडिएको थिएँ। चोटले मलाई खेलमा फर्किन त्यति सहज भएन,’ प्रारम्भिक टोलीमा अटाएका पृथुले भने, ‘पहिलो रोजाइको सेटमा पर्छु–पर्दिनँ थाहा छैन। धेरै नयाँ र प्रतिभावान् खेलाडी छन्। टोलीमा अटाउन मेरो स्थानबाट मिहिनेत गर्नेछु।’

यस्तै राष्ट्रिय टोलीका लागि पहिलो पटक क्याम्पमा परेका विवेक यादव र अर्जुन कुमालले पनि राम्रो प्रदर्शन गरेर टोलीमा अटाउन प्रयास गर्ने बताए। ‘प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा छनोटमा पर्नु मेरा लागि मौका हो,’ विवेकले भने, ‘सिकाइ मेरो पहिलोे प्राथमिकता हो। राम्रो गर्ने प्रयास गर्नेछु।’  

गण्डकी प्रदेशबाट प्रधानमन्त्री कप खेलेका अर्जुन कुमालले पनि पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा समावेश हुँदा खुसी लागेको बताए।  ‘टोलीमा समावेश भएको खबर सुन्दा म निकै खुसी भएँ,’ भारतको एकेडेमीबाट क्रिकेट सिकेका कलिला अर्जुनले भने, ‘राम्रो खेल्नु मेरो लक्ष्य हो।’ घोषणा भएका ३२ खेलाडीमध्ये शरद भेषावकार, अविनाश बोहोरा, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल केही दिनपछि जोडिनेछन्।

प्रकाशित: २६ माघ २०७७ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App