नेपाल नम्बर एक खेलाडी रसिला महर्जन र प्रफुल महर्जनले जारी ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकालेका छन्।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका रसिला र प्रफुल दुवैले सिंगल्स र मिक्स डबल्समा समान दुई जित आत्मसात् गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा महिला सिंगल्समा रसिलाले कर्णाली प्रदेशकी निशा सिंहलाई सहजै हराउँदै पहिलो सफलता निकालिन् । रसिलाले निशालाई २१–३ र २१–८ ले हराइन् । उनले प्रफुलसँग मिलेर मिक्स डबल्समा पनि जित आत्मसात् गरिन् । प्रफुल र रसिलाले एपिएफका क्षितिज खनाल र स्वर्लिन श्रेष्ठलाई २१–१९ र २१–१५ ले हराए।
प्रफुलले पुरुष सिंगल्समा कर्णाली प्रदेशका हिमाल लामालाई सहजै हराउँदै दुई जित रचेका हुन् । नेपाल नम्बर तीन खेलाडी प्रफुलले हिमालमाथि २१–२ र २१–४ को सहज जित दर्ता गरे । महिला सिंगल्समा आर्मीकी समृद्धि महर्जन, नेपाल पुलिस क्लबकी सीता राई, कोसी प्रदेशकी रोजी राई र बागमती प्रदेशी अजरेन्का शेरचनले पनि सफलता पाए । समृद्धिले कर्णाली प्रदेशकी निर्भिता शाहीलाई २१–१० को समान स्कोरमा पराजित गरिन् । सीताले भने लुम्बिनी प्रदेशकी पल्पसा पुनलाई २१–१४ र २१–८ तथा रोजीले बागमतीकी सुष्मा भुजेललाई २१–१५ र २१–१७ ले हराए । बागमतीकी अजरेन्काले मधेश प्रदेशकी सोहानी सिंहमाथि २१–२ को समान अन्तरमा सहज जित दर्ता गरिन्।
यसै विधामा बागमतीका टिसारानी शाक्य, आयुष्मा नेपाल र कोसीका निशाम सुब्बाले पनि सुखद नतिजा पाए । टिसाले गण्डकी प्रदेशकी शेरिन प्रधानाङ्गलाई २१–११, २१–१९, आयुष्माले मधेशकी नेहा पबिनलाई २१–६, २१–६ र निशामले लुम्बिनी प्रदेशकी प्रया गौदलाई २१–८,२१–१० ले हराए । महिला सिंगल्समै आर्मीकी अमिता गिरि, पुलिसका श्रेया बज्राचार्य र अस्मिता खत्री विजयी भएका छन् । अमिताले मधेसकी श्रुति शाहलाई २१–२ र २१–८, पुलिसकी अस्मिताले मधेसकी आँचल भण्डारीलाई २१–१ र २१–९ ले हराउँदा श्रेयाले आर्मीकी स्नेहा सिर्पालीबाट वाकओभर पाइन् । नेपाल नम्बर एक प्रिन्स दाहालले पनि लगातार दोस्रो जित आत्मसात् गरे।
एपिएफ क्लबका प्रिन्सले कोसी प्रदेशका विशाल तामाङलाई २१–१० र २१–१७ ले हराएका हुन् । यसै विधामा पुलिसका कविर केसीले एपिएफका निश्चल खत्रीलाई २१–७ र २१–९ तथा पुलिसका सुनिल जोशीले बागमती प्रदेशका दिवस शंकरलाई २१–११ र २१–७ ले हराए । मिक्स डबल्समा पुलिसका सुनील जोशी र सीता राई तथा लुम्बिनी प्रदेशका टोपलाल कुमाल र आकृति थापामगरको जोडीले सफलता पाए । आकृतिको जोडीले कर्णालीका विपिन केसी र नोमिसा तामाङको जोडीबाट वाकओभर पायो । सुनिल र सीताको जोडीले बागमतीका अखिल श्रेष्ठ र इकु आले थापाको जोडीलाई १६–२१, २१–५ र २१–१५ ले हरायो । प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ।
संघले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत राष्ट्रिय खेलकुदको स्तर उकास्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली त्रिभवुन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट छनोट भएका करिब एक सय २० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स्ड डबल्स गरी पाँच विधामा सञ्चालन हुँदै छ । प्रत्येक प्रदेश तथा विभागीय टोलीका लागि सात पुरुष र पाँच महिला गरी १२ खेलाडीको कोटा निर्धारण गरिएको छ । प्रत्येक टोलीमा एक प्रशिक्षक र एक व्यवस्थापक अनिवार्य रहने व्यवस्था गरिएको छ।
प्रकाशित: १ जेष्ठ २०८३ ०७:३१ शुक्रबार





