कोसी प्रदेशका दिवस शंकर र गण्डकी प्रदेशका सुजन थापाले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सतर्फ दोहोरो जित निकालेका छन्।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा कोसीका दिवस र गण्डकीका सुजनले पुरुष सिंगल्सतर्फ समान दुई जित आत्मसात् गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुजनले सुदूरपश्चिम प्रदेश र दिवसले लुम्बिनी प्रदेशका प्रतिद्वन्द्वीलाई नै हराउँदै दुई जित दर्ता गरे । सुजनले पहिलो खेलमा सुदूरपश्चिमका रियान्स चौधरीलाई २१–१२ र २१–१७ तथा दोस्रो खेलमा प्रदीप सोतीलाई २१–१६ र २१–१२ ले हराए । पराजित दुवै सुदूरपश्चिम प्रदेशका हुन् । दिवसले पनि लुम्बिनीका खेलाडीद्वय अनिश थापामगरलाई २१–७ र २१–९ तथा हिमान्स कुँवर मगरलाई २१–८ र २१–१३ को अन्तरले हराउँदै दोहोरो जित आत्मसात् गरे।
यसै विधामा सुदूरपश्चिम प्रदेशका उदय चन्दले पनि पुरुष सिंगल्सतर्फ विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा उदयले बागमतीका विवेक जोशीलाई २५–१८, १६–२१ र २१–१७ ले हराए । पुरुष सिंगल्सतर्फ नै एपिएफका प्रिन्स दाहाल, त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन, कोसी प्रदेशका मिलिन गुरुङ, नेपाल पुलिस क्लबका कबिर केसी र सुनील जोशीले पहिलो चरणमा पनि सफलता पाएका छन्। प्रिन्सले मधेशका पवन यादवलाई २१–९, २१–१० को सहज सेटमा पराजित गरे । मिलिनले गण्डकी प्रदेशका सक्षम गुरुङलाई २१–१९ र २१–१८ र ले हराउँदा प्रफुलले बागमतीका विपिन केसीमाथि २१–५, २१–५ को फराकिलो अन्तरले जित रचे।
पुलिसका कबिरले कर्णाली प्रदेशका पूर्णसिंह ठकुरीलाई २१–१० र २१–८ ले पराजित गर्दै पहिलो चरण पार गरेका छन् । पुलिसकै सुनीलले भने बागमती प्रदेशका सुमन शाक्यमाथि २१–९ र २१–१० को जित रचे । महिला सिंगल्समा कोसी प्रदेशका रोजी राई र निसाम सुब्बाले पनि सफलता पाए । रोजीले बागमती प्रदेशकी सृष्टि श्रेष्ठलाई २१–१४ र २१–१२ ले पराजित गरिन् । निसामले लुम्बिनीकी लीला थापामगरलाई २१–१७, २१–१२ ले पाखा लगाइन् । बागमती प्रदेशकी अजरिन्का शेरचनले प्रतियोगिताकै सबैभन्दा एकतर्फी खेल प्रदर्शन गरिन् । उनले लुम्बिनीकी भिमिसा बुढाथोकीलाई २१–२ र २१–६ को विशाल अन्तरले पराजित गरिन्।
एपिएफकी अस्मिता खत्री र पुलिसकी श्रेया वज्राचार्यले पनि आआफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । अस्मिताले गण्डकीकी आकृति थापामगरलाई २१–८ र २१–१२ ले हराउँदा श्रेयाले कोसीकी अन्जिला राईलाई २१–१० र २१–१७ को अन्तरले हराइन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव राजीव श्रेष्ठ र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले उद्घाटन गरेका हुन् । सोही अवसरमा टिम च्याम्पियनलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ।
नेपाल ब्याडमिन्टन संघले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत राष्ट्रिय खेलकुदको स्तर उकास्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली त्रिभवुन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट छनोट भएका करिब एक सय २० खेलाडीको सहभागिता रहनेछ।
प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स्ड डबल्स गरी पाँच विधामा सञ्चालन हुँदैछ । प्रत्येक प्रदेश तथा विभागीय टोलीका लागि सात पुरुष र पाँच महिला गरी १२ खेलाडीको कोटा निर्धारण गरिएको छ । प्रत्येक टोलीमा एक प्रशिक्षक र एक व्यवस्थापक अनिवार्य रहने व्यवस्था गरिएको छ।
प्रकाशित: ३१ वैशाख २०८३ ०७:५४ बिहीबार





