७ वैशाख २०८१ शुक्रबार
खेल

खेल संघ विवाद मिलाउन समितिः पहिलो चरणमा १६ संघलाई पत्र

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खेल संघ विवाद, समस्या समाधान तथा सहजीकरण समितिले एकै प्रकृतिका नाम गरेका एउटै विधाका धेरै संघ विद्यमान रहेको र कर्मचारीहरू संघमा बस्न नपाउने नयाँ खेलकुद ऐनमा उल्लेख भएअनुसार कार्य नभएको भन्दै पहिलो चरणमा १६ वटा संघलाई पत्र काटेको छ।  

गत सोमबार खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट राखेपका उपाध्यक्ष शिव कोइरालाको संयोजनमा खेल संघ विवाद, समस्या समाधान तथा सहजीकरण समिति गठन गरेको थियो। सो समितिलाई नयाँ खेलकुद ऐन २०७७ अनुसार एक खेलका लागि एकभन्दा बढी खेल संघ वा महासंघ गठन गर्न नपाउने र त्यस्ता संघ विद्यमान भएको अवस्थामा खेल संघ र महासंघभित्रको विवाद ३५ दिनभित्र समाधान गरी संघ पदाधिकारीको नाम सिफारिस गर्न र संघहरू विधिसम्मत नदेखिए सो खेल संघलाई विधिसम्मत बनाउन सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।  

सो समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले एउटै प्रकृतिको नाम गरेका एउटै विधाका संघलाई एउटै बनाउन र कर्मचारीहरू संघमा बस्न नपाउने भनेर नयाँ खेलकुद ऐनमा उल्लेख भएअनुसारको कार्य कार्यान्वयन गर्न पहिलो चरणमा १६ वटा संघलाई पत्र काटेको हो। राखेपकै प्रशिक्षक र कर्मचारीहरू सम्मिलित संघहरूलाई पनि पत्र काटिएको छ। समितिले नेपाल खेलकुद तथा सांस्कृतिक संघ, नेपाल शारीरिक तथा फिटनेस संघ, नेपाल पारा ओलम्पिक कमिटी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, विश्वविद्यालय खेलकुद संघ नेपाल, नेपाल खेलाडी तथा प्रशिक्षक संघ, नेपाल मुवाथाई संघ, नेपाल डान्स स्पोर्ट्स संघ, नेपाल राष्ट्रिय मुवाथाई संघ, नेपाल थाई बक्सिङ संघ, नेपाल खुकुरी मार्सल आर्ट्स संघ, नेपाल स्वयम्सेवक प्रशिक्षक महासंघ, नेपलिज फेडरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेस संघ, नेपाल क्याम्पो खुकुरी मार्सल आर्ट संघ, राष्ट्रिय विश्वविद्यालय संघ नेपाल र नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स संघलाई पत्र काटेको हो।

‘हामी एकै प्रकृतिका विभिन्न संघ एकै ठाउँमा आउनेमा आशावादी छौं,’ कोइरालाले भने, ‘हामी सकारात्मक छौं। हामीले पहिलो चरणमा सामान्य र जटिल प्रकारका विवाद देखिएका संघहरूलाई एक साताभित्र विमति भएका विषय एकआपसमा छलफल गरेर पत्रसहित आउनू भनेका छौं।’ राखेपका उपाध्यक्ष कोइरालाले विगतमा विवाद समाधानको जिम्मेवारी पाएकाले नै आफ्नो व्यक्तिगत फाइदालाई बढी प्राथमिकता दिएको समेत आरोप लगाएका छन्।  

‘विवादमा रहेका संघहरू आफैं मिलेर आउँछन् भने बीचमा बसेर आफ्नो भाग र फाइदा किन खोज्नु ? यो समिति विगतको भन्दा फरक छ। हामीले संघहरूबाट आएको नामावली मन्त्रालयमा पेस गर्ने हो। तर उनीहरू नमिलेमा भने हामीले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नेछौं,’ कोइरालाले भने, ‘हामी दोस्रो चरणमा सबै पक्षलाई एकै स्थानमा राखेर छलफल गर्छौं। सो छलफलबाट पनि समाधान ननस्किएमा भने त्यस्ता संघको तदर्थ समिति गठन गर्छौं र मन्त्रालयमा सिफारिस गर्छौं।’ कोइरालाले आफू अध्यक्ष रहेको राष्ट्रिय तेक्वान्दो संघ नेपाललाई पनि पत्र काटिएको उल्लेख गर्दै विवाद समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।  

‘म अध्यक्ष रहेको राष्ट्रिय तेक्वान्दो संघ नेपाललाई पनि पत्र काटिएको छ,’ कोइरालाले भने, ‘यसलाई सबैले चासोका साथ हेरेका छन्। यस खेलमा रहेको विवाद पनि समाधान हुन्छ। यो पहिलो चरण हो, हामी आगामी दिनमा पनि विवादमा रहेका संघको विवाद समाधान गर्न लागि परेका छौं।’ यता नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेश कक्षपतिले राखेपले एकै प्रकृतिका एउटै नाम गरेका, एउटै खेल्ने तरिका भएका संघलाई एकै ठाउँमा राख्नु राम्रो भएको बताए। ‘हामी अब यसको अन्तर्राष्ट्रिय मान्यता के छ भनेर हेर्छौं। समग्र खेलकुद र मुवाथाईका लागि हुने राम्रो कदममा हाम्रो विमति हुँदैन,’ कक्षपतिले भने, ‘हामी व्यक्तिगत फाइदाभन्दा पनि खेलाडीको हकहितमा लागेका हौं। खेलकुद विकासका लागि हामी जे गर्न पनि तयार छौं।’

प्रकाशित: ३० मंसिर २०७७ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App