२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

विश्वकपका नाममा सट्टेबाजी गर्ने ३४६ जना पक्राउ

विश्वकप फुटबल प्रतियोगिताका क्रममा भइरहेको अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत भियतनाम प्रहरीले करोडौं डलर बराबरको कारोबार सञ्चालन गर्ने सञ्जालहरूमाथि व्यापक कारबाही गरेको छ। 

प्रहरीका अनुसार विश्वकप सुरु भएको पहिलो २० दिनभित्र अवैध जुवा तथा फुटबल सट्टेबाजीमा संलग्न ३४६ जनालाई पक्राउ गरिएको छ। मंगलबार सार्वजनिक गरिएको प्रहरी विज्ञप्तिअनुसार सोही क्रममा सञ्चालित एक विशेष कारबाहीमा उच्च तहको संगठित संरचनामा चलेका दुई ठूला सट्टेबाजी गिरोहको पर्दाफास गर्दै ८५ जनालाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानबाट ती गिरोहले गत अक्टोबरदेखि अनलाइनमार्फत करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध कारोबार गरेको खुलेको छ।

प्रहरीका अनुसार गिरोहका मुख्य सञ्चालकहरूले कम्बोडियाबाट ‘मास्टर’ स्तरका खाताहरू प्राप्त गरी तिनलाई विभिन्न एजेन्ट र सदस्यमार्फत बाँडेर जुवाडेहरूलाई अनलाइन पहुँच दिने गर्थे। भियतनाममा अनलाइन जुवा कानुनी रूपमा प्रतिबन्धित छ, तर विश्वकपजस्ता ठूला खेलकुद प्रतियोगिताका बेला यस्तो अवैध गतिविधि अत्यधिक बढ्ने गर्छ। त्यसैले सरकारले प्रतियोगिता अवधिभर देशभर कडा निगरानी र कारबाही तीव्र पारेको छ।

सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार पछिल्लो एक सातामा मात्र देशभर ७३ वटा अवैध जुवा सञ्जाल ध्वस्त पारिएका छन्। मन्त्रालयका कर्नेल बुई तुआन आनले ती घटनामा हजारौँ अर्ब भियतनामी डोङ अर्थात् सयौँ करोड अमेरिकी डलर बराबरको अवैध कारोबार भएको अनुमान गरिएको बताएका छन्।

दक्षिण-पूर्वी एसियामा अनलाइन जुवा संगठित अपराधको सबैभन्दा ठूलो स्रोत बनेको छ। यसले मनी लान्ड्रिङ, साइबर ठगी र मानव बेचबिखनजस्ता अपराधलाई पनि बढावा दिइरहेको संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालयको प्रतिवेदनले जनाएको छ। विशेषगरी कम्बोडिया र फिलिपिन्सबाट सञ्चालित यस्ता डिजिटल प्लेटफर्महरू भियतनामी अधिकारीहरूका लागि चुनौती बनेका छन्।

भियतनामले नागरिकहरूलाई जुवामा भाग लिन प्रतिबन्ध लगाए पनि केही निश्चित क्यासिनोमा मात्र सीमित पहुँच दिएको छ। यस वर्षको विश्वकप क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरिरहेका छन् भने यसको फाइनल खेल आगामी जुलाई १९ मा हुने तालिका छ। एजेन्सी 

प्रकाशित: २३ असार २०८३ २१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App