८ वैशाख २०८१ शनिबार
खेल

पदकमा सरकारको कन्जुस्याइँ

खेलकुद क्षेत्र

२० वर्षपछि नेपाली भूमिमा सञ्चालनमा भएको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा नेपालले ऐतिहासिक सफलता दिलाएको थियो।  गत सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २ सय ७ पदक जित्दा सहभागी सात राष्ट्रमा घरेलु राष्ट्र नेपाल दोस्रो भएको थियो। यो सफलता नेपाली खेलकुद इतिहासमा पहिलो पटक प्राप्त भएको हो। 

लगानीमा पनि अनुत्पादक क्षेत्रको रूपमा खेलक्षेत्रलाई बेवास्ता गर्ने सरकारले राज्यबाट दिने ठूला सम्मान र प्रोत्साहनमा पनि नेपाली खेलाडीलाई उत्प्रेरणा दिन सकेन। शनिबार संविधान दिवसका दिन राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको थियो।  

सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४ सय ५३ जनालाई मानपदवी १ सय १४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्ने निर्णय गरे। तर, त्यो सूचीमा नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नै सिफारिस गरेका एक जना पनि खेलाडी परेनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नै १३औं सागको उद्घाटन गरेकी थिइन्। तथापि, सोही आयोजनाबाट प्राप्त भएको सर्वाधिक ठूला सफलता सरकारको आँखा परेन। घरेलु मैदानमा सम्पन्न सो सागमा नेपाली खेलाडीले पनि यादगार सफलता दिलाएका थिए।  

राखेपले १३औं सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो। तर, एक जना पनि उक्त पदकका लागि राज्यले योग्य ठानेन। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले नेपाली खेलकुदकै कार्यकारी निकाय राखेपले नै गरेको सिफारिस नपर्ने तर विभागबाट भएको सिफारिसचाहिँ पर्नुले खेलाडीहरू नै अचम्मित भएको बताए। सागमा पौडीकी गौरिका सिंहले चार स्वर्ण जित्दा तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान दुई वटा स्वर्ण नेपाललाई दिलाएका थिए।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमान राख्न विभिन्न क्षेत्रबाट महŒवपूर्ण योगदान पु¥याउनेलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। त्यसमा खेलकुद क्षेत्र पनि समावेश हुनुपर्नेमा दुई मत नै छैन। यद्यपि, देशकै लागि खेलक्षेत्रबाट योगदान पु-याउने खेलाडीको भने कदर हुन सकेन। यसले समग्र नेपाली खेलाडीको नै अपमान गरेको खेलाडी संघका अध्यक्ष श्रेष्ठले बताउँछन्। खेलाडी संघका अध्यक्ष श्रेष्ठले पहिलेको व्यवस्थामा कहिले पनि खेलाडीले असमान व्यवहार भोग्नु नपरेको स्मरण गर्दै गणतन्त्र आएपछि नेपाली खेलकुदलाई बेवास्ता गरेको दुखेसो पोखे।

‘शाही शासन खेलाडीलाई बोलाएर राजाले सम्मान गर्ने परम्परा थियो। त्यसमा कुनै किसिमका असमान व्यवहार हुँदैनथ्यो। खेलकुदलाई उँचो स्थानमा राखेर व्यवहार गरिन्थ्यो,’ खेलाडी संघका अध्यक्ष श्रेष्ठले भने, ‘तर नयाँ व्यवस्था आएपछि नेपाली खेलकुद र खेलाडीलाई हेर्ने नजरमा फरक भएको छ। खेलकुद राज्यको सम्मानित नजरको रूपमा पर्न सकेको छैन।’ यद्यपि, नेपाली खेलकुदका पदाधिकारी भने पदकका लागि सिफारिस भएका छन्। खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य भएका छन्।  

राखेपकै प्रशासन विभाग प्रमुख कुलबहादुर थापा प्रबल जनसेवाश्री चतुर्थ पदक प्राप्त गर्ने भएका छन्। तर, ५१ जना स्वर्ण विजेता एवम् खेल नायकले भने कुनै पदक पाउने छैनन्। यद्यपि, छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई खेलाडीमध्ये एक संगीना वैद्य र १३औं सागमा स्वर्ण विजेता बक्सरद्वय मिनु गुरुङ र भूपेन श्रेष्ठ पदकका लागि सिफारिस भएका छन्। मिनु सुकीर्ति पदक र भूपेन नेपाल प्रताभ भूषण पदकका लागि सिफारिस भएका हुन्। मिनु नेपाली आर्मी र भुपेन नेपाल प्रहरीका भएकाले उनीहरूलाई विभागले सिफारिस गरेको हो।

निकै कमजोर खेलकुद संरचना र न्यून लगानीबाट नेपाली खेलाडी जुन सफलता प्राप्त गरेका थिए, त्यो निकै सराहनीय छ। उनीहरूले लामो समयदेखि गरेको कडा परिश्रम, त्याग तपस्या र मिहिनेतका साथै प्रशिक्षकको मार्गदर्शन नै नेपाली खेलाडीले पाएको सफलताका मुख्य आधार हो भन्दा पनि फरक पर्दैन। निकै राम्रो रोजगार, आर्थिक सहायता र बलियो खेल संरचनाबाट हुर्केका भारतीय खेलाडीलाई जब नेपाली खेलाडीले मैदानमा पछि पार्दा निकै गर्विलो महसुस हुन्थ्यो। त्यो सफलता सरकारले पनि अपनत्व गरेको थियो, तर सम्मान र प्रोत्साहनमा भने गर्न सकेन।

गत वर्ष उनीहरूको सफलताबाट खेलप्रेमी मात्र होइन राजनीति दलका नेतालाई आकर्षण गरेको थियो। मंसिरमा भव्य समारोहका बीच साग उद्घाटन हुँदा सरकारका उच्च पदस्थ पदाधिकारी, जनप्रतिनिधि र विभिन्न दलका नेता गर्विलो मुद्रामा त्यहाँ उपस्थित भएका थिए। त्यसमा पनि १० दिने महोत्सवका दौरान नेपाली खेलाडीले लगातार सफलता दिलाउँदा देश नै खेलकुदमय बनेको थियो। धेरै राजनीतिकर्मीले पनि सामाजिक सञ्जालमा खेलाडीले दिलाएको सफलतामा खुसीयाली प्रकट गरेका थिए। तर, नेपाली खेलकुद र खेलाडीमाथि गरिने व्यवहार पनि राम्रो हुन सकेन।  

खेलाडी संघका अध्यक्ष श्रेष्ठले पछिल्लो समय राज्यबाट भएका व्यवहारले खेलकुदलाई कुन दर्जामा राखेको छ भन्ने स्पष्ट हुने बताए। ‘सानासाना उत्प्रेरणाले नै समग्र विकासमा मद्दत पुग्छ। तर पछिल्लो व्यवहारबाट युवा पिँढीलाई प्रोत्साहन गर्ने काम हुन सकेको छैनन्,’ श्रेष्ठले भने, ‘यसले पनि राज्यले नेपाली खेलकुदलाई कुन दर्जामा राखेको छ भन्ने स्पष्ट हुन्छ।’  

राखेपले १३औं सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो। तर, एक जना पनि उक्त पदकका लागि राज्यले योग्य ठानेन। खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य भएका छन्।

प्रकाशित: ४ आश्विन २०७७ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App