२० वैशाख २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तु अझै औलोको उच्च जोखिम

सरकारले सन् २०३० सम्म मलेरिया (औलो) रोगलाई शून्यमा झार्ने लक्ष्य अघि सारे पनि कपिलवस्तु जिल्ला अझै उच्च जोखिममा रहेको देखिएको छ। अति जोखिमयुक्त सूचीमा रहेको जिल्लामा आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म ४४ जना औलोका बिरामी फेला परेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने ५२ जना संक्रमित भेटिएका थिए।

विश्व औलो दिवसका अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्। उनका अनुसार नेपालभर हाल १,१६४ जना औलोका बिरामी छन्।

जिल्लामा वर्षौंदेखि औलो नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आए पनि अपेक्षित रूपमा बिरामी संख्या घट्न सकेको छैन। सरकारले सन् २०१४ देखि नै नियन्त्रण अभियान थालेको थियो भने सन् २०२५ सम्म रोग उन्मूलन गर्ने लक्ष्य लिएको थियो। तर लक्ष्य पूरा हुन नसकेपछि अब सन् २०३० सम्मका लागि नयाँ कार्ययोजना अघि सारिएको छ।

तथ्यांकअनुसार २०७६/०७७ मा २२ जना बिरामी फेला परेका थिए भने पछिल्ला वर्षहरूमा संख्या उतारचढावमै देखिएको छ। फेला परेका अधिकांश संक्रमित भारत तथा अन्य देशबाट फर्किएका “आयातित केस” रहेको शाहले जानकारी दिए। खुला सीमा र वैदेशिक आवागमनका कारण रोग नियन्त्रणमा चुनौती थपिएको उनको भनाइ छ।

विशेषगरी सीमावर्ती क्षेत्रका वडाहरूमा औलोको जोखिम बढी देखिएको छ। देशभरका १५ वटा स्थानीय तह उच्च जोखिममा सूचीकृत छन्। यसलाई नियन्त्रण गर्न खोजपडताल, परीक्षण, उपचारमा पहुँच विस्तार र सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ।

औलो एनोफिलिज नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसको मुख्य लक्षण ज्वरो हो। “सबै ज्वरो औलो हुँदैन, तर ज्वरो बिना औलो हुँदैन,” शाहले बताए। टाउको दुख्ने, ज्वरो आउने, फियो सुन्निने लगायत लक्षण देखिन सक्छन्, र समयमै उपचार नगरे ज्यानै जान सक्ने खतरा हुन्छ।

स्वास्थ्यकर्मीका अनुसार औलोको परीक्षण र उपचार निःशुल्क उपलब्ध छ। विशेषगरी गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिका उच्च जोखिममा रहने भएकाले उनीहरूमा बढी सावधानी आवश्यक छ।

रोगबाट बच्न झुल प्रयोग गरेर सुत्ने, झ्यालढोकामा जाली लगाउने, घर–आँगन सफा राख्ने जस्ता उपाय अपनाउन सुझाव दिइएको छ। साथै विद्यालय र स्वास्थ्य संस्थामार्फत जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन्।

कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले औलो नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार सुरुवाती अवस्थामा नै स्वास्थ्य संस्थामा पुगे उपचारबाट सहजै निको पार्न सकिन्छ।

सरकारको लक्ष्य महत्वाकांक्षी भए पनि कपिलवस्तुको अवस्थाले देखाउँछ । औलो नियन्त्रण अझै चुनौतीपूर्ण छ, र प्रभावकारी कार्यान्वयन तथा जनसहभागिता बिना लक्ष्य हासिल गर्न कठिन देखिन्छ।

प्रकाशित: १२ वैशाख २०८३ १८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App