१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मिलानको युरोपा लिग खेल्ने सम्भावना कायम

महामारीपछि सुचारु भएको सिरी ‘ए’ लिगमा एसी मिलानले शनिबार बोलोग्नामाथि ५–१ को फराकिलो जित निकाल्दा युरोपा लिग खेल्ने सम्भावनालाई कायमै राखेको छ।  

सुचारु भएपछि सम्पन्न ८ खेलबाट एसी मिलानले ६ खेलमा जित निकाल्दा दुई खेल बराबरी खेल्दै अंक बाँडेको छ। शनिबार एसी मिलानले बोलोग्नालाई फराकिलो अन्तरले पराजित गर्दा एलेक्सिस सिलेमेइकरले टोलीका लागि पहिलो गोल गरे। उनको गोलबाट १०औं मिनेटमा लिएको अग्रतापछि हाकान कलहानोग्लुले टोलीका लागि गोल गर्दै अग्रता दोब्बर पारे। भ्रमणकारी टोलीमाथि हाबी भएको मिलानविरुद्ध पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा जापानका रक्षक टेकाहिरो टोमियासुको गोलबाट बोलोग्नाले अग्रता छोट्यायो। ४९औं मिनेटमा इसमइल बेनाकेरले मिलानका लागि तेस्रो गोल थपे। ५१औं मिनेटमा एन्टे रेविचले मिलानका लागि चौथो गोल थपे। इन्जुरी समयमा डेविडे कालाबेरियाले पाँचौं गोल गर्दा टोलीले फराकिलो जित दर्ता गर्न सफल भयो।  

फराकिलो जित निकालेको एसी मिलानले ३४ खेलबाट ५६ अंक जोड्दै तालिकामा छैटौं स्थान बनाउँदा पराजित बोलोग्ना समान खेलबाट ४३ अंकका साथ १०औं स्थानमा छ। एक खेल कम खेलेको रोमा ५७ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहँदा लाजियो ३३ खेलबाट ६९ अंकका साथ चौथो स्थानमा छ।  

सिरी ‘ए’ लिग अन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा तेस्रो स्थानको एट्लान्टाले भेरोनासँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो। भेरोनाको घरेलु मैदानमा लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा एट्लान्टाले अंक बाँडेको हो। पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा मात्र गोल निस्किएका थिए। ५०औं मिनेटमा जुआन जापाटाले गोल गरेर एट्लान्टालाई अग्रता दिलाएका थिए। नौ मिनेट नबित्दै भेरोनाका माटियो पेसिनाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि बाँकी समयमा दुबै टोलीले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन। शनिबारको खेलपछि तेस्रो स्थानको एट्लान्टाको दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबर भएको छ। एक खेल बढी खेलेको एट्लान्टाको ३४ खेलबाट ७१ अंक छ भने शीर्ष स्थानको युभेन्ट्स ६ अंकले अगाडि छ।  

लिगमा शनिबारकै अर्को खेलमा काग्लियारी र सासौलोले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। काग्लियारी तालिकाको ११औं स्थानमा छ भने सासौलो तालिकाको आठौं स्थानमा छ।  

प्रकाशित: ५ श्रावण २०७७ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App