८ वैशाख २०८१ शनिबार
खेल

इन्जिनियरिङ्ग छोडेर राष्ट्रिय क्रिकेट प्रशिक्षक बनेका नवीन सिंह

करिब डेढ दशक अघिसम्म फुटबल, क्रिकेट, तेक्वान्दो, कराँते लगायतका खेलमा जनकपुरका खेलाडी मुलुकमै अब्बल मानिन्थ्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कुनै पनि खेलमा जनकपुरको खेलाडी नहुनु बिरलै हुन्थे, र तीनै चर्चित खेलाडीमध्ये एक नाम थियो नवीनकुमार सिंह । 

महोत्तरी जिल्लाको एकडारा गाउँपालिकास्थित कोल्हुवा बगेयाका सिंह पढ्नमा अब्बल थिए नै तर बाल्यकालदेखि नै खेलकुदमा औधी रुचि राख्थे । अन्डर-१९ एसिया कप विजेता राष्ट्रिय महिला क्रिकेट टिमका प्रशिक्षक रहिसकेका उनी अवकाश पाएका छन् । तर जनकपुरमा क्रिकेटको इतिहास सम्झिदा उनको समेत नाम लिइन्छ ।  

क्रिकेट खेलकुद तथा प्रशिक्षणमै जिवन समर्पित गरेका जनकपुरका सिंहकै प्रशिक्षणमा २०१२ सालमा कमजोर टिम हुँदाहुदै कुवेतमा भएको महिला अन्डर-१९ एसियाकपमा नेपालले उपाधि हासिल गरेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरमा समेत ख्याती कमाइसकेका उनी सफलता र अनुभवबाट सिकेका कुरा भावी खेलाडीलाई सिकाउने चाहना रहेको बताउँछन् ।  

उनले खेल सुरु गर्दा नेपालमा क्रिकेट क्षेत्रमा सम्भावना र अवसर समेत खासै थिएन् । तर २०५२ सालमा नेपाल एसियन क्रिकेट काउन्सिल (एसिसी) को सदस्य भएपछि खेलाडीले लक्ष्य पाएको सुनाउँछन् । तर अवसर र सम्भावना एकदमै कम भएका बेला समेत उनले यो मुकाम सहजै हाँसिल गरेका होइनन् ।  

६ कक्षामै पढ्दा दाइ तथा छिमेकीहरुलाई देखेर क्रिकेटप्रति आकर्षित भएका उनी काठकै ब्याट, कर्केट बल्ब र स्टम्प लिएर खेल सुरु गरेका थिए । २०३३ सलामा ९ कक्षामा पढ्दा औपचारिक रुपमा खेल सुरु गरेका उनी रंगभूमी मैदानमा उनीसँगै चर्चित क्रिकेटर दिपक गुप्ता, उत्तम कर्मचार्य, सन्दिप कोइरालले समेत खेलेका थिए ।  

जनकपुरमा उतिखेर जनकपुर क्रिकेट क्लब र जानकी क्रिकेट टिम सबैभन्दा प्रतिस्पर्धी टिमा मानिन्थ्यो । जनकपुर क्रिकेट क्लबबाट बलर रुपमा उनी खेल्थे । सिंह आइएससी पढिरहेकाबेला नेपालमा २०३७ सालमा राष्ट्रिय क्रिकेट सुरु भयो । राष्ट्रिय स्तरमा क्रिकेट सुरुभएपछि उनी मात्र होइन देशभरका क्रिकेट खेलाडी उत्साहित भए । अवसर र सम्भावना बढेपछि उनमा समेत क्रिकेटप्रति आकर्षण बढ्दै गयो ।  

तर शिक्षित परिवारमा हुर्केका छोरालाई पढेर सरकारी जागिर गरुन भन्ने आमाबुवाको इच्छा थियो । उनका बुवा मिथिला सदन सिंह जिल्ला शिक्षा अधिकारी र आमा आशा रानी सिंह शिक्षक थिए । आमाबुवाको आग्रहपछि उनी पुलचोक  ईन्जिनियरिङ्ग कलेजमा इलेक्ट्रिकल ईन्जिनियरिङ्ग अध्ययनका लागि पुगे । त्यहाँ समेत उनले टिम गठन गरी क्रिकेट खेल्न सुरु गरे ।  

तर २०३६ सालको आन्दोलनले पढाइ नराम्ररी प्रभावित भएपछि उनी जनकपुर आइपुगे र आइएसी अध्ययन सुरु गरे । राम्ररी पढाउने आमाबुवाको इच्छा भएकाले २०३७ सालमा राष्ट्रिय क्रिकेट टिममा छनौट भएपनि उनलाई खेलकालागि घरबाट अनुमति भेटेन् । तर क्रिकेटलाई नै जिवन ठानिसकेका उनी आफ्नो क्षमता लुकाएर राख्न सकेनन् ।  

राष्ट्रिय टिममा छनौट भइ २०४० सालबाट फेरी सिंहले क्रिकेट खेल्न सुरु गरे । पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा जनकपुर अंचल टिमबाट खेल्न पुगे । तर ब्याटिङ कमजोर भएका कारण पराजित भएको उनी बताउँछन् । त्यसपछि विराटनगरमा आयोजित राष्ट्रिय जय ट्रफि क्रिकेट प्रतियोगीतामा समेत उनी सहभागी टिम जनकपुर तेस्रोमै सिमित भए ।  

तर लामो मिहिनेतपछि २०४५ सालमा जनकपुरमा आयोजित राष्ट्रिय जय ट्रफि क्रिकेट प्रतियोगीतामा बागमती अंचल टिमलाई हराउँदै उपाधिमाथि कब्जा गरे । २०४० सालमा जनकपुर चुरोट कारखानाले आफ्नै टिम बनाए । २०४५ सालमा कारखानामै काम गर्न पुगेका उनी कामपछिका समय खेलकुदमै बिताउन थाले । उमेर र अनुभवलाई सदुपयोग गर्न भन्दै उनी २०५२ सालमा प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषदमा आबद्ध भएका उनी २०६१ सालमा स्थायी प्रशिक्षकमा नियुक्त भए ।  

सही उमेर र शैक्षिक अभ्यास सहित क्रिकेट सुरु गरे क्रिकेटमा ठूलो सम्भावना रहेको बताउने उनी शैक्षिक अध्ययनसँगै प्रशिक्षणलाई निरन्तरता दिए । ‘क्रिकेट सुरु गर्ने ८ वर्ष एकदमै उपयुक्त समय हो । राम्रो प्रशिक्षण पाए र प्रतिभा देखाउन सके ती खेलाडी अन्तर्राष्ट्रिय लेभेलमा पुग्ने सम्भावना एकदमै धेरै हुन्छ,’ प्रशिक्षक सिंहले भने, ‘तर यहाँ उमेर बढेर पनि आफ्नो ठाउँ नछोड्ने प्रवृति देखिन्छ । यदि शैक्षिक अभ्याससहित खेलेमा प्रशिक्षणतीर समेत जाने बाटो खुला हुन्छ ।’

प्रशिक्षणको क्रममा मलेसियामा भएको सिनियर नेपाल टिममा डिभिजन-५ मा सहायक प्रशिक्षक थिए । २०१२ मा कुवेतमा भएको महिला अन्डर-१९ एसियाकपमा उनकै प्रशिक्षित नेपाली टिमले उपाधि हात पारेका थिए । यस्तै एसिया कप अन्डर-१९ पुरुष टिमको समेत सिंह प्रशिक्षक थिए ।

अवकाशपछि सम्मान

पदबाट अवकाश पाएपछि राष्ट्रिय क्रिकेट प्रशिक्षक सिंहलाई सम्मान गरिएको छ । जिल्ला क्रिकेट संघ धनुषाले शनिबार जनकपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले अवकास प्राप्त प्रशिक्षक सिंहलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।  

सम्मान कार्यक्रममा मन्त्री यादवले समय अनुकुल खेलकुदको व्यवस्थापन नहुदा राष्ट्रिय खेलकुदमा जनकपुरको प्रभाव घटेको बताए । मुलुकमा भ्रष्टाचार घटनउन पनि खेलकुदको विकास आवश्यक रहेको मन्त्री यादवले बताए । क्रिकेट संघले आयोजना गरेको सम्मान कार्यक्रममा जनकपुरको दर्जन भन्दा बढी संघ संस्थाले प्रशिक्षकको कार्यको प्रशंसा गर्दै सम्मान गरेका थिए ।

प्रकाशित: २७ असार २०७७ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App