१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ब्याडमिन्टनमा कोरियाली प्रशिक्षकको ऊर्जा

दशरथ रंगशालास्थित कभर्ड हलमा खेलाडीलाई टेसक्नक सिकाउँदै कोरियाली प्रशिक्षक चोई सिउन कुक। तस्बिर: अनील/नागरिक

कोरोनाका भाइरसका कारण गत मार्चदेखि विश्वका अधिकांश खेलकुद ठप्प हुँदा नेपालले पनि सोही किसिमका अवस्थामा सामना गर्नुप-यो। विश्वभर कोरोनाको महामारी तीव्र पैmलिरहेको अवस्थामा नेपालमा त्यसको असर नदेखिँदासम्म खेलसँगै अन्य गतिविधि पनि सहज रूपमा सञ्चालन भए।  

तर गत वर्षको मंसिरमा घरेलु मैदानमा दक्षिण एसियाली राष्ट्रकै खेल महोत्सव सागको १३औं संस्करण सम्पन्न भएपछि नेपाली खेलाडीहरूको प्रशिक्षण, प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय सहभागितामा कमी देखिएको थियो। फागुनको आरम्भसँगै ओलम्पिक छनोट चरणको प्रतिस्पर्धा, अफिसियल च्याम्पियनसिप र नवौं राष्ट्रिय खेलकुदका लागि नेपाली खेलाडी अभ्यासका लागि पुनः मैदानमा ओर्लिएका थिए। तथापि अन्य देशसँगै नेपालमा पनि कोरोनाको प्रभाव देखिएसँगै गत चैत ११ देखि लकडाउन सुरु भयो। अन्य क्षेत्रसँगै नेपाली खेलाडीको प्रशिक्षण पनि प्रभावित हुन पुग्यो।

विश्वभर नै कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि विश्व खेलकुदकै सबैभन्दा ठूलो प्रतिस्पर्धा ओलम्पिक पनि प्रभावित हुन पुग्यो। जापानमा यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्मका लागि तय भएको ओलम्पिक एक वर्षपछि धकेलियो र जुन आगामी वर्षको जुलाई २३ देखि ८ अगस्टसम्मका लागि नयाँ मिति तय भइसकेको छ। यसबीच युरो कप, ग्रान्ड स्लाम, विभिन्न अफिसियल विश्व च्याम्पियनसिपका साथै ठूला व्यावसायिक खेल प्रतिस्पर्धा पनि महामारीसँगै लकडाउनका सिकार भए।

नेपालले पनि गत चैतको दोस्रो सातादेखि लकडाउन सामना गर्दा केही राष्ट्रिय प्रतियोगिताहरू प्रभावित भएका छन् भने खेलाडीको दैनिक प्रशिक्षण पनि रोकिन पुग्यो। रंगशाला, कभर्डल, डोजाङ, डोजो र विभिन्न प्रशिक्षण केन्द्रमा दैनिक पसिना बगाउने खेलाडीहरू घरको चार दिवारमै खुम्चिन बाध्य भए। पछिल्ला समय युरोपबाट व्यावसायिक फुटबल र रग्बीका प्रतिस्पर्धा नै सुरु हुँदा क्रिकेटका अन्तर्राष्ट्रिय शृंखला नै तय भइसकेका छन्। जुन देशले खेलकुद फर्काउने प्रयास ग-यो, उनीहरूले स्वास्थ्य विधि अपनाएर आफ्ना खेलाडीलाई व्यक्तिगत प्रशिक्षण हुँदै सामूहिक प्रशिक्षणमार्पmत खेल प्रतिस्पर्धा नै फर्काउन सफल भए।

नेपाल ब्याडमिन्टन संघले राखेपको स्वीकृति लिई स्वास्थ्य प्रोटोकल अपनाउँदै सामाजिक दूरी कायम गरेर आइतबारदेखि खेलाडीको प्रशिक्षण सुरु गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्वास्थ्य प्रोटोकल अपनाएर बन्द रंगशालाका बीच खेल प्रतिस्पर्धा सुरु भएका छन्। नेपाली खेलकुद निकायले खेल फर्काउन कुनै पनि प्रयास नगरे पनि सम्बन्धित खेल संघले भने प्रशिक्षण सुरु गराएका छन्। पछिल्ला समय नेपाली राष्ट्रिय ब्याडमिन्टन टोलीका बिहानी सत्र त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा रहेको कभर्डहलमा बित्ने गरेको छ। नेपाल ब्याडमिन्टन संघले राखेपको स्वीकृति लिई स्वास्थ्य प्रोटोकल अपनाउँदै सामाजिक दूरी कायम गरेर आइतबारदेखि खेलाडीको प्रशिक्षण सुरु गरेको छ।  

राष्ट्रिय टोलीकी सदस्य शोभा गौचन, प्रिन्स दाहाल, रसिला महर्जन, विजित थापामगर र पविन लिङथेप लम्बुको दैनिकीको सुरुआत बुधबार पनि कभर्डलबाट भयो । पहिलो दिन दशरथ रंगशालाको ट्य्राकमै शारीरिक अभ्यास गरेर फर्किएका उनीहरूको दोस्रो दिन भने झरीको कारण प्रभावित हुन पुग्यो। कोरियाली प्रशिक्षक चोई सिउन कुकबाट मंगलबार (तेस्रो दिन) देखि भने नेपाली खेलाडीको प्रशिक्षण सहज रूपमा अगाडि बढेको छ। बिहान आठ बजेदेखि करिब ११ बजेसम्म खेलाडीहरूले असिनपसिन हुँदै प्रशिक्षण सुरु गरे।  

लामो समयपश्चात् कोटमा फर्किएका युवा स्टार प्रिन्स दाहाल निकै हर्षित देखिन्थे, जुन सहकर्मीसँगको अभ्यासमा स्पष्ट झल्कन्थ्यो। ‘तीन महिनासम्म कोर्टबाट बाहिर रहनु निकै गाह्रो स्थिति थियो। जब हामी प्रशिक्षण गर्न आइपुग्यौं, कोर्ट छिर्दादेखि नै खेल्न जोस आयो। हलमा आएर प्रशिक्षण गर्न पाउँदा निकै उत्साहित छु, त्यसमा पनि विदेशी प्रशिक्षकको जोसले हामीमा थप ऊर्जा दिएको छ,’ प्रिन्सले भने। कोरियाली प्रशिक्षक चोई त्यहाँको राष्ट्रिय टोलीका प्रशिक्षकका समेत गुरु हुन्। कोरियामा उत्कृष्ट प्रशिक्षकका रूपमा चिनिने चोईले थोरै समयमा नै नेपाली खेलाडीबीच पनि राम्रो प्रभाव छोडिसकेका छन्।  

लामो समयसम्म घरमा खुम्चिँदा खेलाडीको प्रदर्शन र स्टामिना पनि ह्रास आउनेमा  खेलविज्ञले चिन्ता व्यक्त गरेका छन्। प्रिन्सले पनि आफूहरूलाई कम ब्याक गर्न केही समय लाग्ने बताए। ‘घरमा हुँदा पनि सामान्य शारीरिक अभ्यास त गरेका थियौं, त्यसैले रिकर्भर हुन मद्दत पुगेको छ। विदेशी प्रशिक्षकबाट नयाँ टेक्निक पनि सिक्न पाइरहेको छौं र यसले थप उत्साहित बनाएको छ,’ प्रिन्सले थपे।’ ब्याडमिन्टन संघले कोरिया ब्याटमिन्टन संघ र त्यहाँको ओलम्पिक कमिटीको सहयोगमा प्रशिक्षक चोईलाई पाएको थियो।  

‘दुई वर्षअगाडि नै एसिया ब्याडमिन्टनका उपाध्यक्ष किम जोङ सुसँग राम्रो प्रशिक्षक   पठाइदिन आग्रह गरेको थिएँ, उहाँ पनि कोरियाकै हुनुहुन्छ। हाम्रो खेलस्तरमै सुधार गर्न सक्ने प्रशिक्षक पठाउन उहाँलाई आग्रह गरेका थियौं, सोहीअनुरूपका प्रशिक्षक  पायौं,’ एसिया ब्याडमिन्टनका बोर्ड सदस्यसमेत रहेका नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले भने, ‘उहाँको पारिश्रमिक पनि त्यहाँको संघले व्यवस्था गरिदिएको हो। उहाँ एक वर्षका लागि आउनुभएको हो। लकडाउन हुनुभन्दा एक हप्ताअगाडि प्रशिक्षक चोई नेपाल आइपुग्नुभयो र एक हप्ता जति प्रशिक्षणपश्चात् बन्द गर्न बाध्य भयौं।’  

तर राखेपको स्वीकृतिमा सबै स्वास्थ्य प्रोटोकल अपनाएर पुनः प्रशिक्षण सुरु गरिएको श्रेष्ठले बताए। ‘उहाँलाई नक्सालको एक होटलमा राखेका छौं। जोरबिजोरले गर्दा ल्याउन लान समस्या हुन्छ भनेर आफैं हिडेर चोई रंगशालासम्म आइपुग्नुहुन्छ। नेपालप्रति उहाँको धेरै लगाब रहेको थाहा पायौं र उहाँको प्रशिक्षणमा खेलाडीको स्तर वृद्धि हुने विश्वास छ। साधनको समस्या भएर केही खेलाडीलाई आउन समस्या छ, तर पनि केही दिनपछि खेलाडी थपिन्छन्,’ श्रेष्ठले भने।  

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टिम स्पर्धामा कांस्य पदक विजेता शोभाले दैनिक प्रशिक्षण रोकिएपछि केही समस्या आए पनि अहिले सुधार हुँदै आएको बताइन्। ‘फिटनेसको लागि घरमा हल्का शारीरिक व्यायाम गरें । त्यति बेला मात्र पर्याप्त थिएन। तर अहिले कोर्टमा प्रशिक्षकबाट अभ्यास गर्न थालेपछि छिट्टै लयमा फर्कन्छौं। उहाँले सानो गल्ती औंल्याउँदै प्रशिक्षण गराउनुभएको छ र त्यसैले उहाँबाट धेरै प्राप्त गर्न सक्छौं भन्ने विश्वास छ,’ शोभाले भनिन्। 

प्रकाशित: ११ असार २०७७ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App