२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइपिएलको मुख्य प्रायोजन संकटमा

भारतमा चिनियाँ सामान बहिष्कार अभियान

भारत–चीन सीमा विवादपछि भारतमा शुक्रबार चाइनिज कम्पनीका उत्पादन बहिष्कार गर्ने चर्चा चुलिएसँगै इन्डियन प्रिमियर लिग(आइपिएल) मा चिनियाँ कम्पनीको मुख्य प्रायोजन संकटमा परेको छ ।  

आइपिएलले पनि प्रायोजकसँग आगामी साता छलफल गर्ने बताइसकेको छ । चिनियाँ मोबाइल कम्पनी भिभोले आइपिएललाई सन् २०१८ देखि २०२२ सम्म ३ सय ३० मिलियन डलर प्रायोजन सम्झौता गरेको छ । गत सोमबार लद्दाखमा भारत–चीन सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि केही सैनिक मारिएको बताइएको छ । त्यसयता भारतमा चिनियाँ कम्पनीका उत्पादन बन्द गरिनुपर्ने आवाज उठेको छ ।  

‘भारत–चीन सिमामा भएको झडपमा हाम्रा केही बहादुर सैनिक सहिद भए । आइपिएलको कार्यकारी समितिले चिनियाँ पक्षसँग सम्झौताका विषयमा अब कसरी अघि बढ्ने भनेर वार्ता गर्ने निर्णय गरेको छ,’ आइपिएफले ट्विटरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

यस सिजन कोरोना भाइरसका कारण प्रतियोगिता पटकपटक स्थगन हुँदै आएको छ । तर पनि आइपिएल यस वर्षको अन्त्यसम्म पनि प्रतियोगिता आयोजना गर्ने आशामा छ । ‘सबै चाइनिज सामान प्रयोग बन्द गरौं,’ भारतका स्पिनर हरभजन सिंहले ट्विट गरेका छन् ।  

भारतीय ओलम्पिक कमिटी (आइओए) ले पनि चिनियाँ किट उत्पादक कम्पनी ली निङसँग प्रायोजक रद्द गर्ने विषयमा छलफल जारी रहेको बताएको छ । ‘ली निङसँग हाम्रो सम्झौता टोकियो ओलम्पिकसम्मका लागि हो । लकडाउनपछि बस्ने कार्यकारी समिति बैठकपछि मात्र आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नेछौ, आइओएलका महासचिव राजीव मेहेताले भनेका छन् हामी राष्ट्रको साथमा छौ। हामी हाम्रा बहादुर सहिदको गरिमामा आँच आउने कुनै कार्य गर्दैनौ।

प्रकाशित: ७ असार २०७७ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App