८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

संरक्षणको पर्खाइमा बिच भलिबल कोर्ट

एकातिर पूर्वाधार निर्माणमा सरकारी लगानी भइरहेको छ भने अर्कातिर भएका पूर्वाधार संरक्षण हुन सकेका छैनन् । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएको बिच भलिबल कोर्ट अहिले संरक्षणविहीन छ ।

१३औं दक्षिण एसियाली खेलकुदका लागि युवा तथा खेलकुद मन्त्रालयले पोखरामा ८ खेल खेलाउने निर्णयसँगै फेवाताल किनारमा बिच भलिबल कोर्ट निर्माण गरेको थियो । गत मंसिरमा नेपाल ट्रस्टको स्वामित्वमा रहेको फेवाताल किनार (बाराही घाट) मा सो कोर्ट निर्माण भएको हो । तीन कोर्ट बनाउन ६० लाख रुपैयाँ खर्च गरिएको थियो । फेवाताल किनारमा बनाइएको बिच भलिबल कोर्ट विश्वकै उत्कृष्ट छ । बिच भलिबल समुद्री किनारमा खेलिन्छ । तर नेपालमा समुद्री किनार छैन । ताल किनारमा बनाइएको यो नै उत्कृष्ट बिच भलिबल कोर्ट हो ।

‘कोर्टमा भलिबल खेल्दा ताल र हिमाल  एकैसाथ देखिन्छ । दक्षिण एसियाली खेलकुद सञ्चालन गर्न आइपुगेका विदेशी प्राविधिकले समेत उत्कृष्ट भएको ठहर गरेका थिए ।’

‘बिच भलिबल कोर्ट संरक्षण गर्नुपर्ने खाँचो छ । त्यसका लागि स्थानीय सरोकारवालासँग छलफल भइरहेको छ,’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भने, ‘कोर्टबाट पानी जम्ने परिस्थितिको अन्त्य गरिएको छ । ह्युप पाइप राखेर पानीको निकास गरिएको छ ।’ ट्रस्टको जग्गा भएकाले नेपाली सेनाको मातहतमा छ । कोर्ट बनाउन फेवातालको माटो हालेर पुरिएको थियो । त्यसमाथि पानीले छानिएको बालुवा राखेर दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

ट्रस्टभित्र भएकाले संरक्षणमा सरोेकारवालाको ध्यानाकर्षण भए पनि ठोस निर्णय भने भइसकेको छैन । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा कास्की जिल्ला भलिबल संघले संरक्षणको पहल गरिरहेका छन् । त्यसलाई पूर्ण रूपमा उपयोग गर्नेतर्फ समेत भलिबल संघले चासो दिँदै आएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पनि संरक्षणको लागि ट्रस्टसँग छलफल गरेको जनाएको छ । 

‘कोर्टमा भलिबल खेल्दा ताल र हिमाल  एकैसाथ देखिन्छ’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका उपाध्यक्ष राजन पौडेलले भने,‘दक्षिण एसियाली खेलकुद सञ्चालन गर्न आइपुगेका विदेशी प्राविधिकले समेत उत्कृष्ट भएको ठहर गरेका थिए ।’ कोर्टलाई संरक्षण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिच भलिबलको गन्तव्यस्थल बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘ट्रस्टको जग्गामा बनाइएको छ । ट्रस्टलाई नै संरक्षणको दायित्व दिनुपर्ने मत पनि छ । यद्यपि कोर्ट खेलकुदको मातहतमा राखेर संरक्षण गर्नेतर्फ पहलकदमीसमेत गरिएको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने, ‘अर्को बिच भलिबल बनाउन कठिन छ । भइरहेको कोर्टलाई संरक्षण गर्दै निरन्तर उपयोग गर्नुपर्छ ।’

प्रकाशित: २९ जेष्ठ २०७७ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App