१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रदेशको खेलकुद पूर्वाधारको बजेट खर्च भएन

नीति तथा कार्यक्रम मार्फत लगानीमा निरन्तरता

तीन वर्षदेखि बजेट अभावमा अलपत्र परेको लेखनाथ भण्डारढीकस्थित बहुउद्देश्यीय कभर्ड हल । तस्बिर: नागरिक

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले खेलकुदको पूर्वाधारमा बजेट छुट्टायो । खर्च गरेन । बजेट निकासा नहुदाँ पूर्वाधारको काम भएन । प्रदेश सरकारले गएको यसैसाता आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा खेलकुदको पूर्वाधार निर्माणलाई निरन्तरता दिईने उल्लेख छ । 

काम नै सुरु नगरेको पूर्वाधारलाई फेरी बजेट छुट्टाउने योजनासहित नीति तथा कार्यक्रम सभामा पेश गरियो । पहिलो वर्ष खेलकुद पूर्वाधार अध्ययन गर्न विज्ञ टोली गठन गरेर अध्ययन गरिएको थियो । दोस्रो वर्ष बजेट विनियोजन गरियो । बजेट खर्च हुन सकेन । तेस्रो वर्षको नीति तथा कार्यक्रममा फेरी समावेश गरिएको छ ।  

प्रदेश प्रमुख अमिक शेरचनले पोखरा सभागृह हलमा नीति तथा कार्यक्रम सार्वजनिक गरे । नेपाल सरकारको सहकार्यमा अन्तराष्ट्रियस्तरको बहुउद्देश्यीय रंगशाला निर्माण गर्न लक्ष्य राखिएको बताए । उच्च उचाई खेलकुद तालिम केन्द्र र क्रिकेट रंगशाला लगायतका पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिईने उल्लेख गरिएको छ ।  

प्रदेश सरकारले क्रिकेट रंगशालाको लागि एक करोड रुपैयाँ छुट्टाएको थियो । पोखरा–३३ भरतपोखरीस्थित पशुपतिघाटको झण्डै ४ सय रोपनी क्षेत्रफललाई क्रिकेट रंगशाला बनाउने योजना थियो । तत्कालिन जमिन सम्याएर क्रिकेट पीच बनाई खेल्ने योग्य बनाउन कास्की जिल्ला क्रिकेट संघले आग्रह गर्दै आएको थियो । ’कामको प्रगति शून्यमै रह्यो । ‘बजेट नै नदिएपछि क्रिकेट रंगशालाको काम अगाडि बढ्न सकेन्’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘नीति तथा कार्यक्रममा फेरी समावेश भएको छ । आगामी वर्ष बजेट निकासा भए काम हुने अपेक्षा छ ।’  

पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको लागि दुईवटा मैदान आवश्यक पर्छ । ‘जग्गा प्राप्ती गर्‍यौं । बजेट पंिन छुट्टाइएको छ । यद्यपी विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन ढिलाई हुन पुग्यो’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले भने–‘अर्को वर्ष डिपिआर बनाएर काम अघि बढाउने छौं ।’ पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति गर्न राष्ट्रिय खेलकुद परिषदले ३ करोड रुपैयाँको ठेक्का टेण्डर गरिसकिसकेको छ । तर प्रदेश सरकारले भने विस्तृत परियोजना प्रतिवेदन समेत बनाउन नसक्दा काम हुन नसकेको हो ।  

तीन वर्षदेखि अलपत्र परेको भण्डारढीकस्थित बहुउद्देश्यीय कभर्ड हललाई समेत २५ लाख रुपैयाँ दिने प्रदेश सरकारले घोषणा गरेको थियो । त्यो बजेट समेत निकासा हुन सकेन् । ‘प्रदेश सरकारले दिने भनेको २५ लाख रुपैयाँ समेत नदिदाँ काम अगाडि बढ्नै सकेको छैन’ स्थानीय आदर्श क्लबका अध्यक्ष लक्षु भण्डारीले भने–‘महानगरपालिकाले छुट्टाएको एक करोड रुपैयाँ पनि दिएको छैन् । निकासाको लागि ताकेता गर्दा आनकानी गरेर टार्ने गरेका छन् ।’ महानगरपालिकाले पनि एक निर्वाचन क्षेत्र एक खेल मैदानको नीति अनुसार बजेट छुट्टाएपनि निकासा नगरिदिदाँ हलले मूर्त रुप लिन सकेको छैन् ।  

तीन वर्ष अघि परिषदले ५० लाख रुपैयाँ उपलब्ध गराउँदै काम सुरु गरिएको थियो । फाउण्डेशनसँगै पिलर ठडिने बाहेक केही छैन । ‘आर्थिक अभावले अलपत्र परेको कभर्ड हल पुरा गर्न जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति मार्फत परिषदसँग आग्रह गर्‍यौं’ भण्डारढीकस्थित आदर्श क्लबका अध्यक्ष भण्डारीले भने–‘तर बजेट पर्न सकेको छैन । त्यसैले काम पनि रोकिनुको विकल्प रहेन ।’  

आगामी फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । पोखरामा भने फुटबल बाहेक क्रिकेट, भलिबल, बास्केटल, हक्की , सेपाक ताक्रो, मार्शल आर्ट लगायतका खेलको लागि आवश्यक पूर्वाधार एवं कभर्ड हल निर्माणमा खासै चासो कम छ । ‘पदक जित्ने खेल भन्दा पनि पपुलर खेललाई परिषद र मन्त्रालयले बढी ध्यान दिएका छन् ।’ कास्की जिल्ला तेक्वान्दो संघका निर्वतमान सचिव राजन पौडेलले भने–‘मार्शल आर्टका खेलहरु इण्डोर हलमा खेलाउनुपर्छ । तर हल पर्याप्त छैन । सरकारले लगानी गर्न तर्फ ध्यान दिदैंन् ।’ उनका अनुसार संघले आफनै लगानीमा हल निर्माण गर्छु भन्दा समेत गम्भीर बन्न नसकेको छैन् ।  ‘परिषद र मन्त्रालयले बहुतले कभर्ड हलको अवधारणा अघि सारेका छन् । यद्यपी ठोस निर्णय नगर्दा संघले लगानी गर्न सकेका छैनन् ।’ उनको भनाई थियो ।  

संघीय सरकारले मात्रै नभई प्रदेश सरकार र स्थानीय तहले समते खेलकुदमा लगानी गर्नुपर्ने औंल्याइएको छ । ‘संघीय सरकारको मात्रै भर गरेर हुदैन । प्रदेश र स्थानीय तह(पोखरा महानगरपालिका÷गाँउपालिका)ले समेत लगानी गर्न जरुरी छ ’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘जहाँ जे सम्भव हुन्छ त्यही खेलको आवश्यकता अनुसार पूर्वाधार बनाउनुपर्छ ।’ पोखरा रंगशालामा भित्र फुटबल मैदान, क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्डहल, व्याडमिन्टन, र्आचरी तथा लन टेनिसको पूर्वाधार बनेको भन्दै देशकै ठूलो र नमूना रंगशााल भएको दावी गरे ।  

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App