१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सिजन रद्द गर्ने निर्णयमा पुनर्विचारको आग्रह

फ्रान्सका प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई लियोन अध्यक्षको पत्र

जिन मिसेल औलस ।

फ्रेन्च लिग वान क्लब लियोनका अध्यक्ष जिन मिसेल औलसले सरकारी निकायसँग कोरोनाका कारण सिजन रद्द गर्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका छन् ।

लियोनका अध्यक्ष जिनले कोरोना महामारी कारण चार हप्ताअगाडि नै रद्द गरिएको यस सिजन फर्काउने अवस्था सिर्जना गर्न फ्रान्सेली अधिकारीहरूलाई आग्रह गरेका हुन् । १० चरणका खेल बाँकी छँदा फ्रेन्च फुटबल फेडेरेसनले सिजन रद्द गर्ने निर्णय गरेको हो । फेडेरेसनले अंकतालिकाको शीर्षमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई च्याम्पियन घोषणा गर्दा सातौं स्थानमा अवस्थित लियोनले आगामी सिजनको च्याम्पियन्स लिगको यात्रासमेत गुमाएको थियो । त्यससँगै लियोनले फेडेरसनको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै आएको छ ।

लियोन अध्यक्ष जिनले सिजन सुचारु गराउन सोमबार फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिप र खेलकुदमन्त्री रोक्सना मारासिनियुलाई पत्र लेखेका छन् । सिजन रद्द हुँदा क्लबले ९ सय मिलियन युरोसम्म क्षति बेहोर्नुपर्ने जिनले पत्रमा उल्लेख गरेका छन् ।

१० चरणका खेलअगावै सिजन रद्द हुँदा दुई क्लब अमियन्स र टुलुज दोस्रो डिभिजनमा रेलिगेसन परेका छन् । लियोनले लिगको निर्णयविरुद्ध मुद्दा दिए पनि गत हप्ता पेरिसको प्रशासनिक अदालतले खारेज गरेको थियो । अब लियोनले यस विषयलाई लिएर राज्यको उच्च अदालतमा जाने तयारी गरिरहेको छ ।

जिनले फ्रेन्च लिग कुनै पनि उपाय प्रयोग नगरीकन हतारमा सिजन रद्द गर्ने युरोपको पहिलो ठूलो लिग भएको उल्लेख गरेका छन् । कुनै पनि उपाय अवलम्बन नगरी सिजन रद्द गरिएकाले उनले राज्यका निकायलाई खेल रोक्ने निर्णयविरुद्ध पुनर्विचार गर्न आग्रह गरेका छन् । फ्रान्सपश्चात् युरोपका डच र बेल्जियमका लिगले पनि सिजन रद्द गर्ने निर्णय गरेका थिए । लियोनका अध्यक्ष जिनले फ्रेन्च लिगले पनि अगस्ट अन्तसम्म सिजन बचाउन पर्खनुपर्ने या प्लेअफ सिस्टम अपनाइनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘बुन्डेसलिगाले गत मे १६ देखि सिजन सुरु गरिसकेको छ । स्पेनले पनि खेल जुन ८ पश्चात् सञ्चालन गर्दै छ भने इटाली, रसिया र पोर्चुगलले समेत खेलाडीको प्रशिक्षण अगाडि बढाएका छन् । इङ्ल्यान्डमा पनि खेल फर्काउने प्रयास भइरहेका छन्,’ लियोनका अध्यक्ष जिनले भने, ‘तर फ्रान्समा मात्र किन कुनै पनि उपाय प्रयोग गरिएन र के यस्तो निर्णयले व्यावसायिक फुटबललाई अवमूल्यन गराएन ?’ फ्रान्सको सरकारले लकडाउनको नयाँ रणनीतिबारे आगामी जुन २ मा निर्णय लिने सम्भावना छ ।

‘धेरै पक्ष विकास भएका छन् र हामीले सो मितिमा सरकारले सकारात्मक निर्णय लिने आशा राखेका छौं,’ जिनले भने, ‘जुन २ मा फ्रेन्च फुटबलमा भएको ठूलो गल्ती सुधार हुने आशा राखेका छौं । जुनमै खेल सुचारु हुनेछ भन्ने विश्वास छ, साथै जुलाई र अगस्टमा पनि सम्भावना बाँकी नै छ ।’ लियोनले यस सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्मको यात्रा तय गरिसकेको छ । क्वार्टरफाइनलको पहिलो लेगमा लियोनले इटालियन च्याम्पियन युभेन्ट्सविरुद्ध १–० ले जित निकालेकाले आगामी यात्रा राम्रो हुने सम्भावना छ  ।

प्रकाशित: १४ जेष्ठ २०७७ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App