२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

२०औं एसियाली खेलकुद: नेपालको सहभागिताप्रति सरकारवालाको चिन्ता

सन् २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपालको सहभागिताप्रति सरकारवालाले चिन्ता व्यक्त गरेका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपी) ले शुक्रबार विज्ञप्ति जारी गर्दै अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता हुनेमा आशंका बढ्न थालेको भन्दै ध्यानाकर्षण गराएको हो।

नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच सुरु भएको विवादले गर्दा आगामी एसियन गेम्समा खेलाडीको सहभागिता नै अन्योलमा परेको खेलाडी संघले जनाएको छ। ‘नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढ्न थालेको छ,’ एनएनआइपिए अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता विवादका घटनाक्रमले मिसन–२०२६ को विशेष प्रशिक्षण तथा अन्य नियमित प्रशिक्षणमा रहेका खेलाडी अन्योलमा परेका छन्। यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं।’

विवादमा को सही कुन पक्ष गलतभन्दा पनि एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता निश्चित गराउन सबै पक्षको पहलका लागि खेलाडी संघले आग्रह गरेको छ। हाल युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबीचको विवादले २०२६ सेप्टेम्बरमा आइची नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालको सहभागिता हुनेमा अन्योल छ।

२०औं एसियन गेम्सका लागि खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबाट फरकफरक सूची आयोजकलाई पठाइएको थियो। मन्त्रालयले पठाएको ३१ खेलको सूची भने दर्ता हुन सकेन। ओलम्पिक कमिटीले पठाएको ३० खेलको सूची दर्ता भइसकेको छ। तर, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीको नयाँ तदर्थ समिति गठन गर्ने बताएका छन्। यसै तदर्थ कमिटीमार्फत एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता गराउन पहल गर्ने मन्त्री चौधरीले दाबी गर्दै आएका छन्।

आगामी एसियन गेम्सको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले मिसन–२०२६ अन्तर्गत नेपाली खेलाडीलाई विशेष प्रशिक्षण गराइरहेको छ। तर, खेलकुदमा विवादले गर्दा खेलाडीको सहभागिता भने अन्योलमा देखिएको छ। नेपाल ओलम्पिक कमिटीले अदालतको आदेश अवज्ञा गर्दै निर्वाचन गरेको थियो। त्यससँगै मन्त्रालय र ओलम्पिक कमिटीबीच दूरी बढ्दै आएको छ।

प्रकाशित: २४ श्रावण २०८२ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App