१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

सन्तोषको सय गोल

नेपाल पुलिस क्लबविरूद्ध ‘ए’डिभिजन लिगमा आफ्नो सयौ गोल पूरा गरेपछि च्यासलका सन्तोष साहुखल ।

काठमाडौ - च्यासल युथ क्लबका कप्तान तथा स्ट्राइकर सन्तोष साहुखलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सयाै गोलको कोसेढुङगा पूरा गरेका छन्।

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबार  नेपाल पुलिसविरुद्ध खेल  खेल १८औं मिनेटमा चलिरहेको थियो। च्यासल युथ क्लब नेपाल पुलिसविरुद्ध १–० ले पछि थियो। मिडफिल्डर हेमन्त थापाले प्रहार गरेको फ्रि किक पुलिसका गोल किपर शत्रुघ्नकुमार चौधरीले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा प्राप्त बललाई सन्तोषले जाली चुमाएका थिए।

सन्तोषकै दुई गोलमा उनको टोलीले पुलिसविरुद्ध २ पटक पछि परेको स्थितिमा पुलिससँग अंक लिन सफल भयो। खेलपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबीच खेलको म्यान अफ दी म्याच रहेका सन्तोषलाई लिगमा  १ सयांै गोल पूरा गरेको भन्दै मायाको चिनो प्रदान ग-यो। जहाँ उनले १ सय गोल अंकित टिसर्ट लगाएका थिए। उनकै टोलीले पनि सन्तोषसँगै मैदानमा सामूहिक तस्बिर लियो। हेर्दा लाग्थ्यो लिगको १ सयांै गोल सन्तोषका लागि विशेष बन्यो। तर सन्तोषले भने लिगमा १ सय गोल पूरा गरे पनि त्यो आफ्नो प्राथमिकता  नभएको प्रतिक्रिया दिए।

‘मलाई लिगमा १ सय गोलको कुनै भावना छैन,’ सन्तोषले भने, ‘म टोलीलाई कसरी सुखदभन्दा सुखद नतिजा ल्याउँदै टोली अंकतालिकाको राम्रो स्थानमा ल्याउने भन्नेमा केन्द्रित छु। १ सयाैँ गोल मेरो व्यक्तिगत उपलब्धि होला, तर त्योभन्दा महत्वपूर्ण मेरो टोलीले ल्याउने नतिजा हुन्छ।’ ‘मलाई १ सयाैँ गोलको कुनै दबाब थिएन,’ठट्यौली शैलीमा सन्तोषले भने, ‘म सामाजिक सञ्जाल र समाचार त्यति फलो गर्दिनँ। त्यसैले ममा कुनै दबाब थिएन।’

सन्तोषको जारी लिगमा भने यो पाँचौं गोल हो। सन्तोषले जारी लिगमा मच्छिन्द्रविरुद्ध गरेको गोल आफूले ‘ए’ डिभिजन लिगमा गरेको १ सयौ गोलमध्येकै स्मरणीय गोल भएको बताए। दाजु बालगोपाल साहुखलको प्रेरणाबाट फुटबलमा प्रवेश गरेका सन्तोष आबद्ध ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबबाट खेलेको यो लगातार दोस्रो सिजन हो। १२ वर्षअघि राष्ट्रिय टोलीबाट भारतविरुद्ध विश्वकप २०१० को छनोट खेल्दा सन्तोष राष्ट्रिय टोलीमा थिए।

त्यसपछि टोलीमा देखिएको उतारचढावपछि उनी राष्ट्रिय टोलीमा अटाएका छैनन्। यद्यपि सन्तोषको फुटबलको भोक लिगमा देखिएको लयले प्रस्ट पारेको छ। उनी अझै फर्ममा छन्। ‘म लिगमा सधैं उत्कृष्ट खेल्थें तर पनि राष्ट्रिय टोलीमा परेर पनि पहिलो रोजाइमा अवसर पाउँदैनथें। त्यसमा भने मलाई दुख लाग्थ्यो,’ सन्तोषले भने, ‘राष्ट्रिय टोलीले मेरो आवश्यकता सम्झेर टोलीमा बोलायो भने म अवश्य फर्कनेछु।’ २०७२ को भूकम्मपपछि थलिएको रंगशालामा लिग नहुँदा उनीलगायत धेरै खेलाडी विदेश पलायन भए।

केही मोफसलका गोल्ड कप खेल्दै खेलको प्यास मेटाइरहे। भूकम्पपछि करिब ५ वर्षको अवधिमा लिग शून्य रह्यो। फुटबलको निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सञ्चालन गर्न सकेन्। एन्फामा नेतृत्वदेखि खेलाडीबीचमा निकै ठूलो उतारचढाव आयो। तत्कालीन कप्तान सागर थापासहित चार खेलाडी म्याच फिक्सिङको विवादमा मुछिए। एन्फाले तत्कालीन उपाध्यक्ष रहेका कर्माछिरिङबाट नयाँ नेतृत्व पायो। राष्ट्रिय टोलीमा नयाँ खेलाडीको आगमनसँगै एकाएक हराएका सन्तोष २०७५ को रेलिगेसनबिनाको लिगमा फर्किएका थिए। त्यो सिजन पनि उनले आकर्षक खेल पस्कँदै उत्तिकै फर्ममा रहेको प्रस्ट्याएका थिए।

८ कक्षा पढ्दै गर्दा थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिगमा देखा परेका सन्तोष स्कुल पोसाकमा नै रंगशाला प्रवेश गर्थे। थ्री स्टारको जर्सी फेरेर मैदान छिर्थे। उनको त्यो लगाब र थ्री स्टारप्रतिको मायाले थ्री स्टार तीन पटक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको थियो। केही वर्ष हराएका सन्तोषमा जापानको सिकाइले परिपक्वता देखिएको अवश्य हो।  विश्वकप छनोटअन्तर्गत ओमानविरुद्धको खेलबाट राष्ट्रिय जर्सी पहिरिएका सन्तोष स्कुलस्तरीय प्रतियोगिता हुँदै भक्तपुरको क्लब मध्यपुर युथ क्लबबाट आफ्नो व्यावसायिक खेल थालेका थिए। थ्री स्टार, एपिएफ, मनाङ र च्यासलबाट खेलेका सन्तोषले बंगलादेशको क्लब अभानी चितागोंगमा तीन सिजन बिताएका थिए।

‘सन्तोष(भाइ)ले हात पारेको हरेक सफलतामा मलाई गर्व लाग्छ,’ प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘उसले थ्री स्टारबाट लिगमा डेब्यु गोल गर्दा म बेन्चमा थिएँ। त्यस क्षण पनि म खुसी थिएँ। र आज पनि म उनले पूरा गरेको १ सयांै गोलको कोसेढुङगाबाट पनि हर्षित छु।’ बालगोपालले सन्तोषले ‘ए’ डिभिजन लिगमा हात पारेको यो कीर्तिमान लामो समयसम्म कायम रहने बताए। यता नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले सन्तोषले १ सयाैँ गोलका लागि आफूहरुविरुद्धकै खेल कुरेको हुनुपर्ने बताए।

‘पछिल्लो दुई खेलमा सन्तोष चलेको थिएन। आज चल्यो,जसले गर्दा हाम्रो तीन अंक बटुल्ने रणनीति सफल भएन जस्तो लाग्छ ,’ अनन्तले भने, ‘हेमन्तले प्रहार गरेको फ्रिकिक हाम्रा गोलकिपरले राम्रोसँग कलेक्ट गर्न नसक्नु र रिबाउन्डमा प्राप्त गरेको बल सन्तोषकै खुट्टामा पर्नु र उनले गोल गर्नु। दोस्रो पटक पनि हेमन्तले दिएको पास पुनः सन्तोषकै खुट्टामा पर्नु। यो सबै सन्तोषले हामीविरुद्ध १ सयौ गोलको कीर्तिमान रच्न लेखिएको जस्तो लाग्छ।’ ‘सन्तोषलाई धेरै बधाई छ,’ अनन्तले भने, ‘यो युवा खेलाडीहरूका लागि प्रेरणा बन्न सक्छ।

सहिद स्मारक ए डिभजन लिगमा सन्तोषले गरेको गोलहरु
साल    क्लब    गोल
२०६०    थ्री स्टार क्लब    ६
२०६१    एपिएफ क्लब    ६
२०६२    थ्री स्टार क्लब    ९
२०६३    थ्री स्टार क्लब    ११
२०६६–२०६७    थ्री स्टार    क्लब १९
२०६८    मनाङ मस्र्याङदी क्लब    १६
२०६९    थ्री स्टार क्लब    १७    
२०७०    थ्री स्टार क्लब    ९
२०७५    च्यासल युथ क्लब    ३
२०७६    च्यासल युथ क्लब    ५ (पाँचौ चरणसम्म, लिग जारी)

 

प्रकाशित: २४ पुस २०७६ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App