८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

भिएआरमा सिटी निराश

टोटेनह्यामविरूद्ध गाेल गरेपछि म्यानचेस्टर सिटीका ग्याब्रियल जिसस (बीच) सहकर्मीसंग। तस्बिरः एपी

लन्डन, (एएफपी) – भिडियो सहायक रेफ्री (भिएआर) ले अन्तिम मिनेटमा ग्याब्रियल जिससले गरेको गोललाई मान्यता नदिएसँगै इङ्लिस प्रिमियर लिगमा शनिबार टोटेनह्यामसँग २–२ को बराबरीमा रोकिएपछि म्यानचेस्टर सिटीका प्रशिक्षकले यसमा अझै कमजोरी रहेकाले सच्याउन आग्रह गरेका छन्।

साबिक विजेता सिटी गत सिजनदेखि प्रिमियर लिगका १६ खेलमा पहिलो पटक जितविहीन बनेको हो।

खेलको अन्तिम मिनेटमा जिससको गोलमा सिटीले माउरिसियो पोचेटिनोको टोलीविरुद्ध स्पष्ट तीन अंक खोस्ने संघारमा पुगेको थियो। तर भिएआरमा एमरिक लापोर्टेको ह्यान्ड बल भएको भन्दै गोल अमान्य भएको थियो। पछिल्लो ४ महिनामा सिटी टोटेनह्यामविरुद्ध भिएआरमा निराश भएको यो दोस्रो पटक हो। यसअघि गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनल दोस्रो लेगमा रहिम स्टर्लिङले अन्तिम मिनेटमा गरेको गोल भिएआरले अफसाइड देखाइदिएको थियो। सो खेलमा टोटेनह्यामका फर्नान्डो लोेरेन्टोले गरेको सम्भावित ह्यान्ड बल गोललाई भने भिएआरले मान्यता दिएका थियो।

‘हामीले च्याम्पियन्स लिग क्वार्टरफाइन दोस्रो लेगमा टोटेनह्यामलाई नतिजा सुम्पिँदा भिएआरमा देखिएको समस्या अझै समाधान भएको रहेनछ,’ ग्वार्डिओलाले भने, ‘अवस्था उस्तै छ। रेफ्री र भिएआरले हाम्रो गोललाई मान्यता दिएनन्। यो दोस्रो पटक भएको हो। भिएआर कठिन छ, तर त्यसमा सुधार अवश्य गर्न सकिन्छ। गत साता उल्भरह्याम्पटन र लेस्टर सिटी तथा बुधबार युइएफए सुपर कपमा चेल्सी र लिभरपुलविरुद्धको खेलमा पनि भिएआरमा समस्या देखिएको थियो।’

२०औं मिनेटमा स्टर्लिङले गरेको गोलमा सिटी खेलमा अघि बढेको थियो। तर सिटीले आफ्नो अग्रता लामो समय भने टिकाउन सकेन। त्यसको ३ मिनेटपछि नै इरिक लामेलाले टोटेनह्यामलाई खेलमा फर्काएका थिए। ३५औं मिनेटमा सर्जियो अग्विरोले बललाई जाली चुमाउँदै सिटीलाई पुनः खेलमा अघि बढाएका थिए। ५६औं मिनेटमा लुकास मौराले पुनः टोटेनह्यामलाई खेलमा फर्काएका थिए।

यता टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने प्रविधिसँग अभ्यस्त हुनुपर्ने भन्दै भिएआरलाई दोष दिन नहुने बताएका छन्।

‘भिएआरको निर्णय कहिले तपाईंको पक्षमा आउँछ त कहिले विपक्षमा। हामी आज र च्याम्यियन्स लिगमा गरी दुई पटक भाग्यमानी भयाैं,’ पोचेटिनोले भने, ‘योभन्दा अघि रेफ्रीको निर्णय अन्तिम हुन्थ्यो तर अहिले रेफ्रीको गल्ती भिएआरले सुधारिदिन्छ।’

यसअघि शनिबारै भएको खेलमा लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा भिएआर साउथह्याम्पटनलाई २–२ ले हराएको छ।

पहिलो हाफको अन्तिम मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा अघि बढाएका थिए। ७१औं मिनेटमा रोबर्टो फिर्मिन्होले बललाई जाली चुमाउँदै लिरभपुलको अग्रता दोब्बर पारेका थिए। खेल सकिन ७ मिनेट बाँकी हुँदा साउथह्याम्पटनका ड्यानी इङ्सले टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

प्रिमियर लिगअन्तर्गत शनिबारै भएको खेलमा नवप्रवेशी नर्विचले  सिजनको पहिलो जित हात पार्ने क्रममा न्युक्यासल युनाइटेडलाई ३–१ ले निराश बनायो भने एभर्टनले वाट्फोर्डलाई १–० ले हरायो। त्यस्तै बर्नमाउथले एस्टन भिल्लालाई २–१ ले हराउँदा वेस्ट ह्याम र ब्राइटनले १–१ को बराबरी खेले।

प्रकाशित: २ भाद्र २०७६ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App