७ वैशाख २०८१ शुक्रबार
खेल

लालीगुराँस मैदानले फेरिएको सपना

दाउराको ब्याट र मोजाको बलले क्रिकेट सिक्नेहरूको राष्ट्रिय खेलाडी बन्ने चाहना

प्युठान - सम्म पारिएको मैदान, वरिपरि डाँडा र पहाड, पृष्ठभूमिमा देखिने धौलागिरि हिमालको मनोरम दृश्य, गर्मीयाममा पनि चिसो मौसम, मैदानमा केही बालक तथा किशोर क्रिकेट खेलिरहेछन्। यो दृश्य हो लालीगुराँस रंगशालाको। भौगोलिक रूपमा विकट तथा क्रिकेटमा बामे सर्दै गरेको प्युठानमा जिल्लाकै पहिलो रंगशाला हो, निर्मार्णाधीन लालीगुराँस मैदान।

दाउराको ब्याट र मोजाको बलले क्रिकेट सिक्नेहरूको राष्ट्रिय खेलाडी बन्ने चाहना

अचेल देश तथा विदेशमा क्रिकेटको माहोल छ। एकदिवसीय विश्वकप क्रिकेट चलिरहेको छ। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने विश्वकै ठूलो फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर फर्किएका छन्। क्यारेबियन लिगमा पनि छनोट भइसकेका छन्। नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाइसकेको छ। देशभित्र प्रतियोगिताहरू, फ्रेन्चाइज लिगहरू बढेका छन्। तर, प्युठानका क्रिकेटप्रेमी युवा जिल्लामा यो खेललाई स्थापित गराउन लागिपरेका छन्। भिरालो चौरलाई सम्म पारेर मैदान बनाएपछि युवाहरूमा क्रिकेटप्रतिको भोक जागेको छ। समय मिल्नेबित्तिकै ब्याट र बल बोकेर खेलमैदान पुग्छन्। यो मैदानलाई राष्ट्रिय रंगशाला बनाउने योजना छ झिमरुक गाउँपालिकाको। गाउँपालिका– ८ दिहालनाचौरमा निर्माणाधीन रंगशालासँग धेरै युवाको सपना पनि जोडिएको छ। कोहीको जिल्लास्तरीय खेलाडी बन्ने त कसैको अन्डर १५ र १९ सम्म पुग्ने। आर्थिक अभाव र पारिवारिक बाधा छिचोल्दै युवाहरू सपनाको गन्तव्यमा पुग्न संघर्षरत छन्।

भिरालो चौरलाई सम्म पारेर मैदान बनाएपछि युवाहरूमा क्रिकेटप्रतिको भोक जागेको छ। समय मिल्नेबित्तिकै ब्याट र बल बोकेर खेलमैदान पुग्छन्। यो मैदानलाई राष्ट्रिय रंगशाला बनाउने योजना छ झिमरुक गाउँपालिकाको।

नौबेहिनी गाउँपालिका– ४ का मदनकुमार पुनमगर विगत १० वर्षदेखि क्रिकेट खेल्दै छन्। पहिला काठको दाउराको ब्याट, मोजाको बलले खेल्ने मदनले भने, ‘पहिला स्कुलतिर खेल्थ्यौं। यहाँ (लालीगुराँस मैदान) भिरालो चौर थियो, पोखरी थियो। अहिले फिल्ड ठूलो र फराकिलो भएको छ। खेल्न सजिलो छ। हामीले ब्याट, बल कस्तो हुन्छ भन्ने धेरै पछि थाहा पायौं।’ यो मैदानमा अहिले क्लब र गाउँपालिकास्तरीय खेल हुन्छन्। मदनका अनुसार यहाँ खेल्न दाङ, प्युठानबाट खेलाडी आउँछन्। क्षेत्रीय खेल खेलाउन सकिन्छ।

क्रिकेटको विकासप्रति पनि रुचि भएका मदनका अनुसार जिल्लामा क्यान पनि छैन। खेलकुद विकास समितिले पनि चासो दिएको छैन। प्रदेशस्तरीय खेलमा जिल्लाको प्रतिनिधित्व छैन। ‘यो रंगशाला राष्ट्रिय लेभलको भयो भने धौलागिरि हिमालको काखमा रमणीय वातावरणमा खेल्न पाइनेछ। भारतको धर्मशाला ग्राउन्डजस्तै हुनेछ’, उनी भन्छन्, ‘यहाँ राष्ट्रिय खेलाडी खेल्दा सिक्ने मौका पाउँछौं। अहिले त प्रशिक्षण पनि केही छैन।’ प्युठानमा क्रिकेटका प्रतिभा लुकेर बसेको भए पनि आर्थिक अभावले अगाडि जान नसकेको उनको भनाइ छ। ‘यहाँ रंगशाला निर्माण हुँदै गर्दा क्रिकेटप्रति क्रेज बढेको छ’, उनले भने।

रंगशाला निर्माणको काम सुस्त भएको मदनको गुनासो छ। ‘तत्काल तारबार गरेर गाईबस्तु छिर्न नदिने बनाइदिनुप¥यो। गाईबस्तु, गाडी, मोटरसाइकल गुडिरहँदा मैदान खस्किएको छ। स्तरोन्नति गरिदिए खेल्न सजिलो हुन्थ्यो’, उनले भने, ‘ग्राउन्डमा घाँस छैन। डाइभ हान्दा चोटपटकको खतरा छ। खानेपानीको समस्या छ।’
मैदान बनेपछि पछिल्लो पुस्ताको क्रिकेटतिर आकर्षण बढेको उनको बुझाइ छ। ‘भाइबहिनी हौसिएर खेल्न आइरहेका छन्। प्रगति गर्छन् भनेर लागिरहेका छौं’, उनले सुनाए।

क्रिकेट खेल्न परिवारबाट पनि साथसहयोेग नपाइएको बताउँछन् मदन। ‘हामीलाई परिवारबाट सहयोग छैन। आफंैले व्यवस्थापन गर्नुपर्छ। खेल्न जाँदा गाली खानुपर्छ। अहिले क्रिकेटमा भविष्य छ भनेर परिवारलाई बुझाउँछ खोज्छौं। तर मान्नुहुन्न’, उनले गुनासो पोखे। जिल्लामा अहिलेसम्म ठूलो धनराशिको प्रतियोगिता भएको उनले सुनेका छैनन्। ‘वडा नम्बर ८ मा ७५ हजार पुरस्कार राशिको गाउँपालिकास्तरीय क्रिकेट टुर्नामेन्ट भएको थियो’, उनले भने, ‘त्यसबाहेक ठूला प्रतियोगिता यहाँ भएका छैनन्।’

क्रिकेट मैदान बनेपछि यहाँका खेलाडीले तालिम र आवश्यक सामग्रीको आवश्यकता औंल्याएका छन्। ‘आफ्नै खर्चमा जर्सी, ब्याट बल जुटाएर खेलिरहेका छौं। मासिक रूपमा एउटा टुर्नामेन्ट गरे खेलाडीको वृत्तिविकास हुने थियो’, मदनले भने। नेपालको फ्रेन्चाइज खेल्ने लक्ष्य राखेका मदनको त्यसका अतिरिक्त अन्डर १५ तथा १९ मा पुग्ने सपना छ।

लालीगुराँस मैदानमै खेलिरहेका झिमरुक गाउँपालिकाका अर्का खेलाडी आनन्द भट्टराईले क्रिकेट खेल्न थालेको ९ वर्ष भयो। ‘मोजाको बल, काठको ब्याट बनाएर खेल्थ्यौं। चौर सानो थियो। दुःख गरेर खेल्यौं। क्रिकेटमा केही गरौं, क्रिकेटमा जिल्लालाई अगाडि बढाउन लागेको हुँ’, उनले भने। २ वर्षअगाडिसम्म काठको, ढुंगाको स्टम्प बनाएर खेल्ने आनन्दले भने, ‘खेल्न खेल्यांै तर प्रोफेसनल हुन सकेनौं। घरपरिवारको गाली खाएर पनि खेल्छौं। जिल्लासम्म पुगे भने भाग्यमानी ठान्थ्यौं।’ तालिम केन्द्र र प्रशिक्षकको व्यवस्था हुनुपर्ने उनको माग छ। पारिवारिक दबाबका बावजुद उनी शुक्रबार र शनिबार समय निकालेर खेल्न मैदान पुग्छन्। ‘अन्य दिन स्कुल जानुपर्छ। स्कुल टाढा छ, यहाँ आएर खेल्न भ्याइँदैन’, उनले बाध्यता सुनाए।

झिमरुककै अर्जुन महतरा पनि जिल्लालाई क्रिकेटमा स्थापित गराउन लागिपरेका खेलाडी हुन्। लालीगुराँस मैदान नबन्दै सानैदेखि क्रिकेट खेल्दै आएका अर्जुनले रंगशाला १÷२ वर्षभित्र निर्माण हुने विश्वास राखेका छन्। रंगशाला बने क्रिकेटको सहज वातावरण बन्ने र नयाँ पुस्ता बलियो भएर आउने उनको भनाइ छ। त्यसका लागि तालिम केन्द्र र प्रशिक्षकको खाँचो आंैल्याए।

रंगशाला निर्माण र खेलको विकासमा सक्रिय खेलाडीहरू लालीगुराँस रंगशालाका लागि छुट्याइएको ३६ लाख बजेट अन्तै सारिएकोमा आक्रोशित रहेछन्। यहाँको बजेट गाउँपालिका अध्यक्षले ओखरबोटमा लगेर नयाँ मैदान बनाउन र भीरलाई सम्म बनाउने कार्यमा लगाएका छन्। एउटा मैदान पूरा नहुँदै अर्काे ठाउँमा सुरु गरेकोमा खेलाडीको आक्रोश रहेछ। बजेट नसारेको भए लालीगुराँस निर्माण भइसक्थ्यो।

झिमरुक गाउँपालिका– ८ का अध्यक्ष तुलसी बस्नेतले झन्डै २ सय रोपनी जग्गा भएको दियाल्नाको डाँडोमा लालीगुराँस रंगशाला निर्माणको काम भइरहेको र आफूहरू राष्ट्रिय खेलाडीको पर्खाइमा रहेको बताए। उनका अनुसार रंगशाला निर्माणका लागि हालसम्म २१ लाख रुपैयाँ खर्च भइसकेको छ। सुरुमा यहाँ विमानस्थल बनाउने आवाज उठेको थियो। तर, पछि क्रिकेट मैदानको अवधारणा अगाडि सारेर राष्ट्रिय रंगशाला निर्माण कार्य सुरु भएको वडाध्यक्ष बस्नेतले सुनाए।  
लालीगुराँस रंगशालाका लागि तत्कालीन जिल्ला विकास समितिले १० लाख र  झिमरुक गाउँपालिकाले ११ लाख रुपैयाँ खर्च गरेका छन्। २१ लाखमा चौरबाट मैदान बन्दा वडा कार्यालयले थप सुविधासहित रंगशाला बनाउन प्रदेश सरकारसँग ५० लाख बजेट माग गरेको वडाध्यक्ष बस्नेतले जानकारी दिए। ‘बजेट आएपछि मैदान द्रुत गतिमा रंगशालामा परिणत हुन्छ’, बस्नेतले भने।

प्रकाशित: २६ जेष्ठ २०७६ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App