१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

पल्सर स्पोर्टस अवार्डलाई केल्मीको साथ

काठमाडौं – असार तेस्रो साता आयोजना हुने पल्सर स्पोर्टस अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहीबार पोसाक कम्पनी केल्मीसँग प्रायोजन सम्झौता गरेको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आधिकारिक पोसाकको रूपमा कामारु ट्रेडिङ प्रालिको केल्मी नेपालसँग तीन वर्षको प्रायोजन सम्झौता गरेको हो।

मञ्चका अध्यक्ष सुवेदी र कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार केल्मी नेपालले आयोजक मञ्चलाई अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको पोलो टी–सर्ट र ट्य्राकसुट उपलब्ध गराउनेछ। सम्झौतापछि प्रबन्ध निर्देशक न्यौपानेले देशकै अग्रणी खेलसामग्री ब्रान्डको रूपमा केल्मी नेपाल अघि बढिरहेको बताए। राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी प्रायोजन गरेको केल्मी नेपालले घरेलु फुटबलकै लोकप्रिय क्लब मनाङ मस्र्याङ्दीलगायत विभिन्न खेलसँग सम्बद्व संस्थासँग जोडिँदै आइरहेको छ। मञ्चका अध्यक्ष सुवेदीले निजी क्षेत्रको सहकार्यले अवार्ड कार्यक्रमलाई नयाँ उचाइमा पु¥याउन सहयोग पुगेको बताए।

पल्सर स्पोर्ट्स अवार्डको १६आंै संस्करण यही असार १७ गते आयोजना हुँदै छ। आयोजक खेलकुद पत्रकार मञ्चले यसअघि नै अवार्डको मिति घोषणा गर्नुका साथै पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ। वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चका महासचिव प्रज्वल ओलीले बताए। लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको दिन नै घोषणा गरिनेछ। यस पटक एक अन्तर्राष्ट्रिय खेलपत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।

उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल र अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग यसअघि नै प्रायोजन सम्झौता नवीकरण भइसकेको छ। कार्यक्रमको टेलिभिजन पार्टनर एभिन्युजले अवार्ड कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछ। मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र एभिन्युज टेलिभिजनकी प्रमुख कार्यकारी अधिकृत समृद्धि राजकर्णिकारले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रमका अन्य पार्टनरमा सूर्य नेपाल प्रालि, रोयल सिंगी होटल, सगरमाथा सिमेन्ट, गोल्ड स्टार, रुस्लान फुटबल, टाइमेक्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी रहेका छन्।

 

प्रकाशित: २४ जेष्ठ २०७६ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App