१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको सम्भावना कमजोर

काठमाडौं – नेपालमा जारी एसिया कप ह्विल चियर ट्वान्टी–२० क्रिकेटमा आयोजकले लगातार दोस्रो पराजय भोगको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको दिनको पहिलो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भई दिनको दोस्रो खेलमा भारतले लगातार दोस्रो जित निकाल्दा नेपालको फाइनल पुग्ने सम्भावना कमजोर भएको छ।  

दिनको पहिलो खेलमा नेपालले दिएको १ सय ४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा ग-यो। यसअघि बुधबार भएको पहिलो खेलमा पनि नेपाल भारतसँग पराजित भएको थियो। घरेलु टोली नेपालविरुद्ध जित निकाल्न बंगलादेशका मोहमद रिपोन उडिनले नटआउट अर्धशतक बनाए। ३५ बलको सामना गरेका मोहमदले १० चौका प्रहार गरेका थिए। यस्तै, ३० बल खेल्दै ६ चौका प्रहार गरेका जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहम्मद आसिप हुसेनले नटआउट १३ रन बनाए। बलिङतर्फ नेपालका कप्तान दिगमसिंह चेम्जोङ र सुपर राईले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४८ रन बटुल्न सफल भएको थियो। खेलमा नेपालका लागि ओपनरद्वय होमनाथ राईले ३६ तथा कप्तान दिग्म चेम्जोङले ३५ रनको पारी खेले। यस्तै, डम्बर मगरले १९ र विष्णुपुकार श्रेष्ठले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्। बलिङतर्फ बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए।

पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ। उता नेपालमाथि ८ विकेटको जित निकालेको बंगलादेशको प्रतियोगितामा पहिलो जित हो। प्रतियोगिताअन्तर्गत बिहीबारै सम्पन्न दिनको दोस्रो खेलमा भारतले पाकिस्तानमाथि १७ रनको जित निकाल्दै जारी प्रतियोगितामा लगातार दोस्रो सफलता हात पा-यो।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा भारतले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय ७६ बटुल्न सफल भयो।

पाकिस्तानका लागि सजिद अलि अब्बासी एक्लैले नटआउट ८८ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। यस्तै महमद फियाजले ४७ तथा महमद लतिफले १३ रन बनाए। कसिलो बलिङ गरेको भारतका लागि सौरभ मलिकले २ तथा परशुराम डिसेल र विश्वनाथ गौरभले समान १÷१ विकेट हात पारे। यसअघि ब्याटिङ गरेको भारतले निर्धातिर २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बटुल्न सफल भएको थियो। भारतका लागि परशुराम डिसेलले ९१ बलको सामना गर्दै २१ चौकाको मद्दतमा १ सय ९ रन बनाएका थिए। यस्तै अर्का ओपनर सौरभ मलिकले १० चौका र १ छक्काको मद्दतमा ६१ रन बनाए।

लगातार दोस्रो जित निकालेको भारतको फाइनल पुग्ने सम्भावना बलियो भएको छ। लिग चारणको अन्तिम दिन शुक्रबार नेपाल र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ। अब पाकिस्तान र बंगलादेशबीचको विजेताले फाइनलमा स्थान बनाउनेछ।

प्रकाशित: ३ जेष्ठ २०७६ ००:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App