१६ चैत्र २०८० शुक्रबार
खेल

अन्नपूर्ण म्याराथन जेठ तेस्रो साता

अन्नपूर्ण आधारशिविरबाट सुरु हुने अन्नपूर्ण म्याराथनबारे जानकारी दिन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन। तस्बिरः उमेश पुन/नागरिक

पोखरा - पर्यटकीय क्षेत्र अन्नपूर्णमा दोस्रो संस्करणको म्याराथन प्रतियोगिता हुने भएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा जेठ तेस्रो साता प्रतियोगिता हुन थालेको हो। जेठ १७ देखि २० गतेसम्म आयोजित पर्यटन मेलाको अवसर पारेर म्याराथन प्रतियोगिता गर्न थालिएको हो।

अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा हुन लागेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७६ को अवसर पारेर अन्नपूर्ण आधार शिविर (४१३० मिटर) क्षेत्रबाट सुरु हुने गरी म्याराथन प्रतियोगिता गर्न थालिएको सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो। महोत्सव संयोजक ललित गुरुङका अनुसार अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास गरी यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवसहित म्याराथन प्रतियोगिता गर्न थालिएको हो।

अघिल्लो वर्षदेखि यो प्रतियोगिता आयोजना गर्न थालिएको हो। महोत्सवको पहिलो संंस्करण तीन चरणमा आयोजना गरिएको थियो। महोत्सवको पहिलो संस्करणमा पनि आधार शिविर क्षेत्रबाट सुरु हुने गरी म्याराथन प्रतियोगिता गरिएको थियो। आधार शिविरमा हुन थालेको यो प्रतियोगिताले साहसिक पर्यटक प्रवद्र्धनमा सघाउने आयोजकको भनाइ छ। यो पटक भने एकै संस्करणमा महोत्सव हुने संयोजक गुरुङले जानकारी दिए।

दोस्रो संस्करणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथन हुने उनले बताए। खेल पर्यटनको विकास र विस्तारमा थप टेवा पुगोस् भन्ने हेतुले गत वर्षदेखि आरम्भ गरिएको म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिन थालेको उनले बताए। यस वर्षदेखि दोस्रो अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रूपमा लैजाने प्रयास गरेको उनले बताए। त्यसका लागि नेपाल एथेलेक्टिस संघसँग समन्वय गरी अन्तर्राष्ट्रिय धावकहरू सहभागी गराउन पहल गरिएको गुरुङले जानकारी दिए। पहिलो संस्करणको म्याराथनमा नेपाली धावक मात्र सहभागी थिए।

अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुक पुगेर समापन हुने गरी म्याराथन रुट कायम गरिएको गुरुङले जानकारी दिए। सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्वकीर्तिमान राखेको सन्दर्भमा उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने गरिन्छ। त्यही दिनको सम्झनामा जुन ३ मा म्याराथन हुने उनले बताए।

‘विदेशी र साहसिक धावकलाई अन्नपूर्ण क्षेत्रमा भित्र्याउने योजनामा हामी छौं,’ उनले भने, ‘यसले अहिलेको लागि मात्र नभई भविष्यमा पनि साहसिक धावक भित्र्याउन सघाउने अपेक्षा छ।’ सगरमाथा आधार शिविर क्षेत्र र अन्नपूर्ण आधार शिविर क्षेत्रमा हुने म्याराथनले साहसिक खेलका खेलाडी भिœयाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए। ‘जोकोही धावक त्यहाँ पुगेर दौडन सक्दैनन्,’ उनले भने, ‘यो निकै नै चुनौतीपूर्ण म्याराथन छ।’

भीषण हिमआँधीका कारण यो पटक अन्नपूर्ण आधार शिविरमा ठूलो क्षति भएकाले लामो समयसम्म पूर्वाधार बनाउन नसके पनि म्याराथनमा सहभागी धावकलाई सहज व्यवस्थापन गर्ने उनले बताए। नजिकैको माछापुच्छे आधार शिविरका होटलमा बसोबासको व्यवस्थापन मिलाएर प्रतियोगिता गर्ने तयारी भएको उनले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। दोस्रोेले ७५ र तेस्रोले ५५ हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए। विदेशी धावकले ३५० अमेरिकी डलर र स्वदेशीले १ हजार रुपैयाँ तिरेपछि म्याराथनमा सहभागी गराउन सकिने उनले बताए। म्याराथनमा सहभागी धावकको आवश्यक सुरक्षा, उद्धार, बिमासमेत गरिने गुरुङले जानकारी दिए।

म्याराथनबाहेक महोत्सवको अवसर पारेर पुरुष र महिला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने उनले बताए। पुरुष प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः १ लाख र ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै महिलातर्फको प्रथम र द्वितीयले क्रमशः ६० र ४० हजार रुपैयाँ पाउनेछन्। क्लबस्तरीय पुरुष बास्केटबल, भेट्रान पुरुष भलिबल, रस्साकस्सी, ठेलो, माविस्तरीय निबन्ध लेखन प्रतियोगिता पनि हुने उनले बताए।

विश्वकै आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ मा आरोहण गरिएको जेठो हिमाल अन्नपूर्ण प्रथम हिमालको फेदीबाट आरम्भ हुने दोस्रो अन्नपूर्ण म्याराथनले नेपालको साहसिक पर्यटकीय गन्तव्यमा सघाउने स्थानीय व्यवसायीले बताएका छन्।

खेलका गतिविधिबाहेक अन्नपूर्ण प्रथम हिमालका आरोही मौरिस हर्जोगको अर्धकदको शालिक अनावरण पनि गरिने प्रचार संयोजक टंक अधिकारीले बताए। त्यस्तै हर्स राइडिङ गरी घान्द्रुक गाउँ घुम्न सकिने र गाउँबाट मनोरम दृश्यावलोकन गर्न सकिने गरी व्यवस्था मिलाएको पनि अधिकारीले बताए। म्याराथनमा सहभागी धावकको आवश्यक सुरक्षा, उद्धार, बिमासमेतको व्यवस्था गरिएको महोत्सव संयोजक ललित गुरुङले जानकारी दिए।                   

प्रकाशित: ३१ वैशाख २०७६ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App