११ श्रावण २०८३ सोमबार
image/svg+xml
विचार

सम्मान र उत्थानको प्रतीक्षामा कृषि

असार सकियो तर असारे कर्म सकिएको छैन। खेतका गराहरूमा रोपाइँको चटारो चलिरहेकै छ। मिहिनेती, जाँगरिला र उत्पादनशील किसानहरू मानो रोपेर मुरी उब्जाउने कर्ममा खुसी, उत्साह र उमङ्गका साथ जुटेकै छन् अनि खेतका गरागराबाट असारे भाका पनि गुन्जिएकै छन्। आफू खाने र अरूलाई खुवाउने अनि आफू बाँच्ने र अरूलाई बचाउने किसान महान् छन्, सम्मानका हकदार छन्।

कृषि र किसान: सभ्यताको आधार

कृषि मानव सभ्यताको आधारशिला हो। कृषिले मान्छेलाई बाँच्नका लागि नभई नहुने खाद्यान्न उत्पादन गर्छ। कृषिलाई चलायमान बनाउने र कृषिलाई जीवन्त राख्ने काम किसानले गर्छन्। त्यसैले कृषि र किसानको अन्योन्याश्रित सम्बन्ध छ। कृषिबाटै किसानको जीवन चलेको छ। किसानद्वारा कृषिको परम्परा चलेको छ।

कृषि किसानको जीवनशैली हो। यही जीवनशैलीभित्र किसानको आफ्नै संस्कृति र कृषिसंस्कृति पनि छ। त्यही संस्कृति किसानको पहिचान बनेको छ। किसानको जीवनशैली, संस्कृति र पहिचान बोकेको कृषिको आर्थिक महत्त्व पनि अत्यन्तै धेरै छ। मुलुकको अर्थतन्त्रमा कृषिको योगदान सर्वाधिक छ। आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २४.५ प्रतिशत रहेको तथ्याङ्क छ।

सङ्कुचित सोच र कृषिको अवमूल्यन

कृषि र किसानप्रतिको सोचाइ र बुझाइ सङ्कुचित छ। कृषिलाई निम्न स्तरको पेसाका रूपमा हेरिन्छ। कृषिलाई प्रत्यक्ष आर्थिक लाभ नहुने पेसाका रूपमा व्याख्या गर्ने गरिन्छ। कृषिबाट आर्थिक उन्नति हुन सक्दैन भन्ने नकारात्मक धारणा छ र नकारात्मक भाष्यले कृषिको बहुआयामिक महŒव ओझेलमा परेको छ। राष्ट्रिय अर्थतन्त्रमा कृषिले पुर्‍याउँदै आएको योगदानको पनि कम मूल्याङ्कन भइरहेको छ।

किसानलाई गरिब, अशिक्षित र अदक्ष जनशक्तिका रूपमा व्याख्या गर्ने प्रवृत्तिले किसानको अवमूल्यन भइरहेको छ। अन्नदाताका रूपमा परिचित किसानले अथक परिश्रम गरेर अन्न उत्पादन गर्छन्। घाम, पानी, गर्मी, जाडो र मौसमी प्रतिकूलताको पनि परवाह नगरी श्रम गर्नेर खाद्यान्न उत्पादन गर्ने किसान सबैका लागि हितकारी छन्। यस्ता किसानलाई पेसाकै आधारमा उपेक्षा गर्ने र अवमूल्यन गर्ने प्रवृत्तिले किसान प्रोत्साहित हुन सकेका छैनन् र कृषिले पनि प्रोत्साहन पाउन सकेको छैन।

राज्यको उपेक्षा र कृषिको सङ्कट

पछिल्लो समय कृषि र किसानको अवस्था दयनीय बन्दै जानु र कृषिप्रति युवा पुस्ताको आकर्षण र अपनत्व घट्दै जानु, खेतीयोग्य जमिन बाँझो पर्दै जानु, उत्पादन घट्दै जानु र आन्तरिक मागलाई सम्बोधन गर्नका लागि कृषिवस्तु आयातमा वृद्धि हुनुको मुख्य कारण कृषि र किसानप्रतिको सङ्कुचित मानसिकता र राज्यको पनि कृषिप्रतिको उपेक्षा नै हो।

कृषि र किसानका समस्या नबुझ्ने, किसानका कुरा नसुन्ने र किसानका दुःख नबुझ्ने राज्यमा कृषि र किसानको हित र उत्थानका लागि नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने इच्छाशक्तिको पनि कमी छ। कृषिलाई उपेक्षा गरेर वैदेशिक रोजगारीलाई प्रवर्धन गर्ने र रेमिट्यान्सलाई मुख्य आर्थिक स्रोत बनाउने राज्यको नीति घातक र प्रत्युत्पादक छ। वस्तु निर्यातभन्दा श्रम निर्यातलाई प्राथमिकता दिने र सोहीअनुरूपको नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने राज्यको नीतिले कृषि र किसानको मुद्दा सधैं ओझेलमा परेको छ र कृषि र किसान सधैं उपेक्षित हुन पुगेका छन्।

सम्मानको अभाव र त्यसको प्रभाव

अन्य पेसाकर्मीहरूले समयक्रममा समाज र राज्यबाट पनि सम्मानित हुने अवसर पाउँदै आएका छन्। आर्थिक र सामाजिक दृष्टिकोणले पनि तिनले लाभान्वित हुने अवसर पाएका छन्। सम्मानित र मर्यादित जीवन जिउने अवसर पनि पाएका छन्। तिनले सामाजिक हैसियत पनि कायम गर्ने अवसर पाएका छन्।

यी सबै अवसरहरूबाट वञ्चित किसानले श्रमको सम्मान मात्रै खोज्दापनिपाउन सकेका छैनन्।त्यही सम्मानको अभावले किसान निराश छन्। त्यो निराशाले किसानहरूको ऊर्जा र उत्पादकत्वमा असर गरेको छ अनि त्यसको असर कृषिको राष्ट्रिय उत्पादनमा परेको छ। कृषिको उत्पादकत्व र उत्पादन वृद्धिमा मन्दगति कायम रहनुको मुख्य कारण पनि कृषि र किसानको सम्मान नहुनु नै हो।

कृषि र किसानको सम्मानको वास्तविक अर्थ

कृषि र किसानको सम्मानको अर्थ प्रशंसा मात्रै होइन। किसानले आफ्नो श्रमको सम्मान खोज्नुको अर्थ प्रशंसा वा ताली मात्रै होइन। बरु उनीहरूले दुःखले गरेको उत्पादनको उचितमूल्यको सुनिश्चितता पनि हो। उत्पादनको उचित बजारीकरणको व्यवस्था पनि हो।

यसैगरी उत्पादित वस्तुको भण्डारणको उचित व्यवस्था, खेतीका लागि आवश्यक मल, बिउ, सिँचाइ आदिको सरल र सुलभ व्यवस्था, कृषिमा आधुनिक प्रविधिको विकास र प्रयोग, कृषिमा सहुलियत ब्याजदरमा सरल कर्जाको व्यवस्था, कृषिबिमाको व्यवस्था, कृषिअनुदानको व्यवस्था र कृषिशिक्षाको विकास र विस्तार गर्नु पनि कृषि र किसानको सम्मान गर्नु नै हो। नेपालका सम्पूर्ण किसानहरूको इच्छा र चाहना पनि यही नै हो।

उपर्युक्त व्यवस्थाले किसानहरूमा आफ्नो पेसाप्रति आत्मसम्मानको अनुभूति बढ्छ, उत्साह र आत्मविश्वास बढ्छ। यो आत्मसम्मानको अनुभूति, उत्साह र आत्मविश्वासले गुणस्तरीय कृषिउत्पादन वृद्धि र कृषिको व्यावसायीकरणमा टेवा पुग्छ। अन्ततोगत्वा यसले कृषिमा रोजगारी अभिवृद्धि र समग्र कृषिउत्पादनमा वृद्धिभई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुग्छ। राष्ट्रिय अर्थतन्त्रमा सर्वाधिक योगदान रहँदै आएको कृषिक्षेत्रको उत्पादन वृद्धिले राष्ट्रिय अर्थतन्त्रको सुदृढतामा पनि टेवा पुग्छ।

आधुनिक र व्यावसायिक कृषिको आवश्यकता

कृषि गरिब र अशिक्षितहरूको मात्रै पेसा होइन र पेवा होइन। यो धनी र शिक्षितहरूको पनि पेसा अथवा व्यवसाय बन्न सक्छ। संसारमा कृषिउत्पादनमा ठुल्ठुला लगानीकर्ता तथा व्यवसायीहरू संलग्न छन्। तिनले कृषिमा व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरण गरेर ठुलो परिमाणमा उत्पादन गरेर संसारभर निर्यात समेत गरिरहेका छन्।

कृषिमा गरिएको व्यावसायीकरणले बृहत् रोजगारीको समेत सिर्जना भएको छ। त्यसैले नेपालमा पनि कृषिलाई परम्परागत पेसा र निर्वाहमुखी खेतीमा मात्रै सीमित नराखी आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरण गरी कृषिलाई रूपान्तरण गर्नु आवश्यक भइसकेको छ। शिक्षित र दक्ष जनशक्तिलाई समेत कृषिमा आकर्षित गरी व्यावसायिक कृषिको विकासका लागि राज्यस्तरमै नीतिनिर्माण र योजना तथा कार्यक्रम तर्जुमा गर्नु पनि आवश्यक भइसकेको छ।

कृषिको व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण, वैज्ञानिक खेती र जैविक उत्पादन, आधुनिक भण्डारण प्रणाली, प्रशोधन केन्द्र र कृषिउत्पादनको डिजिटल बजारीकरणले कृषिलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ। साथै यसले कृषिलाई निर्वाहमुखीबाट आधुनिक र व्यावसायिक बनाउन तथा किसानलाई पनि सम्मानित र मर्यादित जीवनयापन गर्न सक्षम बनाउने अपेक्षा गर्न सकिन्छ। यसले कृषि र किसानको उत्थानको सङ्केत गर्छ। यसका लागि राज्यले कृषि र किसानलाई केन्द्रविन्दुमा राखेर नीतिनिर्माण तथा त्यसको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी देखिन्छ।

किसानको सामाजिक प्रतिष्ठा र शिक्षा

नेपाली समाजमा अन्य पेसाकर्मी अथवा व्यवसायीको भन्दा किसानको सामाजिक प्रतिष्ठा अत्यन्तै दयनीय छ। सामाजिक प्रतिष्ठाको दृष्टिकोणले किसान उपेक्षित छन्। किसान पनि समाजका मिहिनेती, स्वावलम्बी, स्वाभिमानी र प्रतिष्ठित वर्ग हुन् भन्ने सोच र मानसिकताको अभाव अझै पनि छ। अरू पेसाकर्मी अथवा व्यवसायीलाई जुन रूपमा सम्मान र आदर गरिन्छ, सोहीअनुरूप किसानलाई पनि सम्मान र आदर गर्ने प्रवृत्तिको विकास अझै भइसकेको छैन। किसानलाई दोस्रो दर्जाको नागरिकझैं व्यवहार गर्ने प्रवृत्तिले किसानले आफ्नो आत्मसम्मानमा आँच पुगेको अनुभूति गर्नुपर्ने अवस्थाको अन्त्य अझै भइसकेको छैन।

कृषिलाई सम्मानित पेसाको रूपमा विकास गर्दै किसानलाई पनि सामाजिक प्रतिष्ठा दिलाउनका लागि कृषि र किसानको महत्त्व झल्काउने पाठ्क्रमको विकास गरी विभिन्न शैक्षिक कार्यक्रममा लागु गर्नु वान्छनीयहुनेछ। व्यवहारिक कृषिशिक्षार समाजका मिहिनेती र सफल किसानलाई आदर्श व्यक्तिका रूपमा अनुसरण गर्ने, स्थानीय तहदेखि नै कृषिउद्यमशीलतालाई प्रोत्साहित गर्ने नीति र युवापुस्तालाई कृषिमा आकर्षित हुने वातावरण निर्माण हुन सक्यो भने कृषि र किसानको सम्मानसँगसँँगै उत्पादन र रोजगारी अभिवृद्धि हुनेछ। कृषिमा पनि भविष्य सुनिश्चित छ भन्ने सन्देश प्रवाह हुनेछ र अर्थतन्त्रको सुदृढीकरणमा टेवा पुग्नेछ।

प्रकाशित: ११ श्रावण २०८३ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %