काठमाडौं – हिमालयन स्पोर्ट्स क्लबले हेलम्बु ट्रेल म्याराथनको तेस्रो संस्करण कात्तिक ६ गते गर्ने भएको छ ।बुधबार क्लबले पत्रकार सम्मेलन गरी म्याराथनबारे जानकारी दिएको हो।
समुद्री सतहबाट २७ सय ८५ मिटरको उचाइमा रहेको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा हुने प्रतियोगितामा फुल म्याराथन, ५ किलोमिटरको खुला दौड, ५ किलोमिटरकै वाकाथन गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष छिरिङ लामाले बताए।
‘२०२० मा हुन लागेको पर्यटन वर्षमा सिन्धुपालचोकको हेलम्बुलाई पर्यटकको नयाँ गन्तव्य बनाउने उद्देश्यले आयोजन गर्न लागेका हौं,’ म्याराथन प्रतियोगिताका संयोजकले छिरिङले भने । म्याराथनमा झन्डै पाँच सय धावकले प्रतिस्पर्धा गर्ने आयोजकले दाबी गरेको छ । जसमा ४ सय ७० नेपाली तथा ३० विदेशी धावकले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो।
सिन्धुपाल्चोकको कुटुमसाङबाट सुरु हुने म्याराथन थारेपाटी, मेलम्ची घ्याङ, शेर्माथाङ हुँदै स्नोफल माउन्टेन रिसोर्टमा आएर समाप्त हुनेछ । फुल म्याराथनको विजेताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने दोस्रोले १५ हजार तथा तेस्रोले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
प्रकाशित: १८ आश्विन २०७५ ०४:३३ बिहीबार