४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पाकिस्तानको खेलतालिका

कराची – आउँदो तीन महिनाका लागि पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) ले अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध हुने शृंखलाको तालिका सार्वजनिक गरेको छ।

सेम्टेम्बर १५ देखि युनाइटेड अरब इमिरेट्स (युएइ) मा हुने एसिया कप खेल्नका लागि तयारीस्वरूप पाकिस्तानले अर्को महिनाका लागि तालिका सार्वजनिक गरेको हो।  

पाकिस्तानले अस्ट्रेलियाविरुद्ध दुई टेस्ट खेल्नेछ भने तीन ट्वान्टी–२० खेल खेल्ने मंगलबार सार्वजनिक गरेको तालिकामा उल्लेख गरेको छ । उक्त तालिकाअनुसार पाकिस्तानले अस्ट्रेलियासँग अक्टोबर ७ देखि २८ सम्म खेल्नेछ। 

गत मार्चमा सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा बल टेम्परिङ घटनापछि अस्ट्रेलियाले पहिलो पटक पाकिस्तानसँग टेस्ट खेल्न लागेको हो । बल टेम्परिङ घटनामा दोषी देखिएपछि अस्ट्रेलिया क्रिकेट बोर्ड (सिए) ले कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई एक वर्ष प्रतिबन्ध लगाएको थियो भने ओपनिङ ब्याट्सम्यान क्यामरुन बेन्क्रफ्टलाई नौ महिना प्रतिबन्धको सजाय सुनाएको थियो। 

अस्ट्रेलियासँगको शृंखलापछि लगत्तै पाकिस्तानले न्युजिल्यान्डसँग तीनवटा ट्वान्टी–२०, तीन एकदिवसीय र तीन टेस्ट खेल्ने तालिका सार्वजनिक गरेको छ । पाकिस्तानले न्युजिल्यान्डसँग अक्टोबर ३१ देखि डिसेम्बर ७ सम्म शृंखला खेल्नेछ। 

सन् २००९ मा श्रीलंकाविरुद्ध खेल चलिरहँदा आतंकवादी हमला भएपछि पकिस्तानले घरेलु मैदानमा पाहुना टोलीलाई निमन्त्रणा गर्दै प्रतियोगिता सञ्चालन गर्न सकेको छैन । हमलापछि पाकिस्तानले युएइलाई घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ।

यद्यपि पाकिस्तानले २०१५ देखि २०१८ सम्म केही विदेशी टोलीलाई उच्च सुरक्षा प्रदान गर्दै केही खेल आयोजना गराउँदै आए पनि लगातार खेल सञ्चालन गर्न सकेको छैन। 

यसअघि पाकिस्तानको प्रस्तावलाई अस्ट्रेलिया र न्युजिल्यान्डले सुरक्षाको विषयलाई देखाउँदै पाकिस्तानी भूमिमा खेल्न अस्वीकार गरेका थिए । अस्ट्रेलियाले १९९८ देखि र न्युजिल्यान्डले २००३ पछि पाकिस्तानी भूमिमा गएर प्रतियोगिता खेलेका छैनन्। 

 

प्रकाशित: १३ भाद्र २०७५ ००:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App