४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

गौरिका फेरि असफल

जकार्ता – नेपाली पौडीमा सनसनी मच्चाएकी गौरिका सिंह १८औं एसियाली खेलकुदमा लगातार दोस्रो दिन राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने लक्ष्यमा चुकेकी छिन्। 

महिला १ सय मिटर फ्रि–स्टाइलमा निराशा सामना गरिसकेकी गौरिकाले बुधबार २ सय मिटर फ्रि–स्टाइलमा पनि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्न सकिनन्। हिट १ मा प्रतिस्पर्धा गरेकी गौरिकाले २ सय मिटरको दूरी २ मिनेट ३३ः५३  सेकेन्डमा पूरा गरिन् । २  सय मिटर फ्रि–स्टाइलमा गौरिकाकै नाममा २ मिनेट ११ः५४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। 

आफ्नो हिटको शीर्ष स्थानमा रहेकी जापानी खेलाडी चिहिरो इगारासी (२ः००ः२१) भन्दा १२ः३२ सेकेन्डले पछि परेकी उनी ८ सहभागीमध्ये सातौं स्थानमा सीमित भएकी थिइन् । गौरिकाले आफ्नो हिटमा मंगोलियाकी खेर्लेन एल्टानसागाइलाई २१ः०० सेकेन्डले पछि पारेकी थिइन् । उनको हिटबाट इगारासीसँगै हङकङकी क्यामिले लिली मेई चेङ पनि २ः०१ः६८ को टाइमिङका साथ अन्तिम चरणलाई छानिइन्। 

यसै गरी पुरुषतर्फ १ सय मिटर ब्रेस्टस्ट्रोकमा पनि  नेपालका सहभागी शुभम श्रेष्ठ आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्नबाट चुके । १ मिनेट ११ः३४ सेकेन्डको राष्ट्रिय कीर्तिमानधारी शुभमले बुधबार जकार्तामा १ मिनेट ११ः३७ सेकेन्डको टाइमिङका साथ आफ्नो हिटमा तेस्रो स्थान हासिल गरे।

हिट वानमा शुभम तेस्रो हुँदा भारतका सन्दीप सेजवाल (१ः०२ः०७) मात्र अन्तिम चरणलाई छानिए । सोही हिटमा परेका दक्षिण एसियाका प्रतिद्वन्द्वीहरू पाकिस्तानका मोहम्मद हाम्जा मलिक, माल्दिभ्सका अर्सफ  हसन तथा हाइस हसन हुसेनलाई भने शुभमले पछि पारे । मलिकको टाइमिङ १ः१३ः३३ थियो भने हसनको १ः२२ः१२ तथा हुसेनको १ः२२ः३४ थियो। 

फेन्सिङ 
महिला सेबरको अन्तिम १६ मा नेपाली फेन्सिङ टोलीले बुधबार थाइल्यान्डलाई नतिजा सुम्पिएको छ । जकार्ता कन्भेन्सन सेन्टरको फेन्सिङ हलमा थाइल्यान्डले नेपाललाई ४५–१० को फराकिलो अन्तरमा पराजित गरेको थियो । नेपाली टोलीबाट कमला श्रेष्ठ, रविना थापा, मीनादेवी पौडेल र अस्मिता बस्नेतले सहभागिता जनाएका थिए।

भलिबल 
चाइनिज ताइपेईसँग प्रतिस्पर्धात्मक खेलको नतिजा सोझो सेटमा सुम्पिएपछि नेपाली भलिबल टोलीको एसियाली खेलकुदमा सुखद सुरुआत हुन सकेन । जिबिके भलिबल इन्डोरमा बुधबार नेपालले चाइनिज ताइपेईलाई २५–२३, २५–१९, २५–१५ को सोझो सेटमा नतिजा सुम्पिएको थियो । समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार कोरियाको सामना गर्नेछ । भलिबलमा नेपालले पुरुषतर्फ मात्र सहभागिता जनाएको छ। 

टेनिस 
टेनिसमा नेपालको चुनौती समाप्त भएको छ । अन्य इभेन्ट्समा पराजित भइसकेको नेपाली टेनिस टोलीले बुधबार महिला युगलमा चुनौती प्रस्तुत गरेको थियो । तर महिला युगलको अन्तिम १६ मा नेपालका राणा दिदी–बहिनी मायंका र माहिका जापानका मोयुका युचिजिमा र इरिना हायासीको जोडीसँग ६–०, ६–० को सोझो सेटमा पराजित भएपछि टेनिसमा नेपालको बिट मरेको थियो। 

सोमबार भएको अन्तिम ३२ को खेलमा माल्दिभ्सका इरुफा माहिर अमिनाथ र अब्दुल रसिद जिइनालाई ६–४, ६–१ को सोझो सेटमा पराजित गर्दै राणा दिदी–बहिनीले अन्तिम १६ को यात्रा गरेका थिए। 

प्रकाशित: ७ भाद्र २०७५ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App