जकार्ता – एसियाली खेलकुदमा सोमबार नेपालको सुरुआत सुखद बन्न सकेन । दुई वर्षअघि भारतको गुवाहटीमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि महत्वपूर्ण पदक जित्नुका साथै ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा कान्छी खेलाडीका रूपमा चर्चा बटुलेकी गौरिका सिंह जकार्तामा आफ्नै पुरानो प्रदर्शनलाई निरन्तरता दिन समेत चुकिन्।
१ सय मिटर फ्रि–स्टाइलमा सहभागिता जनाउने क्रममा उनी आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानभन्दा ००ः०३ सेकेन्डले पछि परिन् । गौरिकाको नाममा १ सय मिटर फ्रि–स्टाइलमा १ मिनेट ००ः७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । तर सोमबार जिबिके एक्वाटिक सेन्टरमा उनले १ मिनेट ००ः८२ सेकेन्डमा मात्र निर्धारित दूरी पूरा गरिन्।
गौरिका आफ्नो हिटमा छैटौं हुँदा चीनकी मेङझुई झु ५४ः६७ सेकेन्डको टाइमिङका साथ शीर्ष स्थानमा रहिन् । गौरिका झुभन्दा ६ः१५ सेकेन्डले पछि परेकी थिइन् । तथापि आफ्नो हिटमा गौरिकाले मंगोलियाकी इन्खजुल खुयागबाटार (१ः०२ः१९) तथा माल्दिभ्सकी सजिना ऐसाथ (१ः१७ः९१) लाई पछि पार्न सफल भएकी थिइन् । उक्त इभेन्ट्समा ५६ः४९ सम्मको प्रदर्शन गर्ने अन्तिम चरणका लागि छानिएका थिए।
महिला १ सय मिटर फ्रि–स्टाइलमै प्रतिस्पर्धा गरेकी नेपालकी अर्की खेलाडी टिसा शाक्यले भने आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छिन् । हिट ४ मा १ः०३ः९६ मा निर्धारित दूरी पूरा गरेकी टिसा अन्तिम स्थानमा सीमित भएकी थिइन् । उनको हिटमा जापानकी रिकाको इकी ५४ः३३ सेकेन्डको टाइमिङका साथ शीर्ष स्थानमा रहिन् । रिकाकोभन्दा टिसा ९ः६३ सेकेन्डले पछि परिन् । टिसाको यसअघिको व्यक्तिगत उच्च प्रदर्शन १ मिनेट ०७ः२५ सेकेन्डको थियो।
पदकतालिका (तेस्रो दिन)
देश स्वर्ण रजत कांस्य जम्मा
चीन १५ ११ ९ ३५
जापान ८ ११ ११ ३०
द.कोरिया ५ ९ ९ २३
इन्डोनेसिया ४ २ २ ८
उ. कोरिया ४ १ २ ७
चाइनिज ताइपेइ ३ १ ४ ८
इरान २ २ ३ ७
भारत २ २ १ ५
मंगोलिया २ ० ४ ६
काजकिस्तान १ २ ३ ६
प्रकाशित: ५ भाद्र २०७५ ०३:५० मंगलबार