४ वैशाख २०८१ मंगलबार
खेल

त्यो बेलाको खेल समाचार

२०३० सालमा उपसम्पादकको रुपमा राइजिङ नेपालमा भर्ना हुँदा ‘राजधानी दैनिक’को चिफ रिपोर्टर श्यामबहादुर केसी हुनुहुन्थ्यो । उहाँ संकटा फुटबल टोलीको क्याप्टेनबाट रिटायर्ड भएर पत्रकारिता सुरु गर्नुभएको थियो । उहाँ आफैँ स्पोर्ट्स्‌म्यान । उहाँले मलाई तपाईँ स्पोर्टस्‌मा गर्नुहुन्छ कि भनेर सुझाव दिनु भयो । स्पोर्टस्‌ को समाचार राम्रो कभर गरेपछि अन्य क्षेत्रको समाचार कभर राम्रैसँग गर्न सकिने सल्लाह राम्रै लाग्यो । स्पोर्टस्‌मा शब्द तथा वाक्य प्रयोग राम्ररी गर्न सकिने, राम्रो लेख्न सकिने सुझाउनु भयो । हो पनि रहेछ। मैले त्यसै गरेँ।

अनुवादको भर
त्यसबेला प्रायः साप्ताहिक पत्रिकाले खेलकुदको कभर गर्दैन थिए । दैनिकले गर्थे । साना साइजका दैनिक करिब एक दर्जन थिए । झण्डै अहिलेका ट्याब्लोइड (साप्ताहिक) भन्दा साना आकारका । झण्डै ए–फोर साइजका ।  गोरखापत्र र राइजिङ नेपाल ठूला साइजका पत्रिका थिए । कुनै अखबार चार पाता (पेज) का हुन्थे । धेरैको दुई पाता हुन्थ्योे । साप्ताहिक आठदेखि १२ पेजका हुन्थे । खेलकुद कभर गर्ने अति कम हुन्थे । ९० प्रतिशतभन्दा धेरै राससको समाचारले दैनिक पत्रिका भरिन्थे । पुरै राससको भर पर्नुपर्थ्याे  । रासस आफैँले २/३ प्याराग्राफको फुटबलको समाचार पठाउँथ्यो । ४०/५० शब्दको हुन्थ्यो ।

म राइजिङ नेपालमा गएपछि केसीले मलाई नै खेलकुदको कभर गर्न लगाउनुभयो । उहाँ पनि राम्रो कभर गर्ने व्यक्ति तर भ्याउनु भएन ।

राइजिङ नेपालमा हुँदै पूरै लिग नै पनि कभर गरेको छु । बिहानको म्याच भयो भने त्यो कभर गरेर खाना खान जान्थेँ । फेरि खाना खाएर आएर दिउँसो अर्को म्याच कभर गर्थेँ ।

विश्वकपमा हामीलाई पक्कै चासो हुन्थ्यो । न्युज डेक्स एपी (अमेरिकाको) तथा एएफपी (फ्रान्सको)को रिपोर्टमा भर पथ्र्यो । एएफपीको रिपोर्ट बढी प्रयोग गरिन्थ्यो । एपीको तुलनामा एएफपीको समाचार सन्तुलित मानिन्थ्यो । अहिले पनि मानिन्छ ।

फुटबलमा विशेष चासो राख्ने सम्पादकहरु अन्य नेपाली पत्रिकामा पनि थिए । कहिलेकाहीँ, हप्तामा एक दुईपटक फिचरजस्तो प्रकाशित गर्थे । गोरखापत्रभन्दा राइजिङ नेपालले विश्वकपको समाचार अलि बढी दिन्थ्यो । मलाई लाग्छ, ‘त्यो बेलाका गोरखापत्रका सम्पादकहरु स्पोर्टस्‌मा बढी इन्ट्रेस्ट राख्थे ।’ अधिकांश कर्मचारी स्पोटर्समा चासो राख्थेजस्तो लाग्छ ।

टेलिप्रिन्टरको भर
त्यतिबेला ‘टेलेप्रिन्टर’ बाट समाचार आउँथ्यो । चौबिसै घण्टा कागज राखिदिनुपथ्र्यो । आएको  समाचार टेलिप्रिन्टमा खटट.. टाइप हुन्थ्यो । कहिले दुई दिनसम्म पनि प्राविधिक समस्याका कारणले  समाचार आउँदैनथ्यो । त्यो अवस्थामा विभिन्न एम्बेसी, एजेन्सी लगायतबाट आएका लेख रचना प्रकाशित गरिन्थ्यो। शैक्षिक क्षेत्रमा भएकाहरु राइजिङ नेपालमा लेख्न तँछाडमछाड हुन्थ्यो । खेलकुद लेख पनि आउँथ्यो ।

ढिलो समाचार
मैले राइजिङ नेपालबाटै खेलकुदको रिपोर्टिङ गर्न थालेको हो । विश्वकपको बेलामा डेस्कमा बसेर काम गरिन्थ्यो । बिहान, राति र दिउँसोको सिफ्ट हुन्थ्यो । म धेरैजसो राति र बिहानको सिफ्टमा बसेको छु । राति बस्नेले फ्रन्ट पेज र अर्को एउटा पेज भर्नुपर्ने हुन्थ्यो । विश्वकप खेल र छापिने समयलाई समेत ध्यान दिएर समाचार कभर गरिन्थ्यो । अन्तिमसम्म कुरिन्थ्यो ।

राससबाट गोरखापत्रमा राइजिङ नेपाललाई भन्दा एक डेढ घण्टा छिटो समाचार आउँथ्यो । राइजिङ नेपालमा अङ्ग्रेजीमा उल्था गरेर पठाउनुपर्ने भएकाले समाचार आउन ढिला हुन्थ्यो ।

राससको समाचार ढिलो आउने भएकाले राम्रो समाचार पनि हाल्न पाइन्थ्यो । ढिलो आएको समाचारमा पछि गोल भयो भने पनि हाल्न पाइन्थ्यो । समाचार फाइनल गर्दा बिहान २/३ बज्थ्यो । भोलिपल्ट विश्वकपको बारेमा छलफल हुन्थ्यो ।

राइजिङ नै अगाडि
२०४६ भन्दा अगाडिसम्म खेलकुदमा सबैभन्दा बढी एडिटोरिएल, लेख र समाचार राइजिङ नेपालमा छापिन्थ्यो । सन् १९८५ सम्म खेलकुदको लागि पेज छुट्याइन्थेन । कहिले फ्रन्ट पेज त कहिले भित्री वा अन्तिम पेजमा आउँथ्यो । सन् १९८५ पछि राइजिङ नेपालमा पेज छुट्याइन थाल्यो । छुट्याए पनि सधैँ खेलकुदका समाचारले पेज भरिँदैनथ्यो । अन्य समाचारले पेज भरिन्थ्यो । नेपालमा खेलकुद अति कम हुन्थ्यो ।

टेबल टेनिसमा गोल
सन् १९८६ मा खेलकुद परिषद्ले १२/१५ जना पत्रकार दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलमा लगेको थियो । म पनि गएको थिएँ । टेबल टेनिसको खेलमा एक जना पत्रकारले मलाई सोधे, ‘कति गोल भयो ?’ मैले उनलाई माया लागेर टेबल टेनिसका बारेमा बताइदिएँ । उनलाई टेबल टेनिसका बारेमा थाहा रहेनछ । सन् १९७६ मा धरानमा टेबल टेनिस हुँदा सातै दिन रिर्पोटिङ गरेको छु, दैनिक ४/५ वटासम्म समाचार पढाउथेँ ।

म्याराडोनाको ह्याण्डगोल
नेपाली दैनिकले क्वार्टर फाइनलदेखिका विश्वकप फुटबलको समाचार समय समयमा प्रकाशित गर्थे । त्यतिखेर विश्वकपको रिपोर्टिङ गर्ने चलन थिएन । राससले महत्वपूर्ण लागेको खेल नेपालीमा उल्था गरिदिन्थ्यो ।  
भनेजस्तो समाचार डेस्कमा आइपुगेन । म्याराडोनाले खेलेको समयमा डेक्समा थिएँ । म्याराडोनाले गोल हानेका थिए । उनको ह्याण्डबाट गोल भएको थियो । त्यही पनि मान्यता दिइयो । त्यसलाई मैले हाइलाइट गरेर समाचार हालेको थिएँ ।

भारतीय म्यागेजिनको साथ
नेपालमा विश्वकपका बारेमा बुझ्न भारतबाट आएका म्याग्जिन पढिन्थ्यो । न्युरोडको पीपलबोटमा म पनि म्यागेजिन किन्थेँ, पढ्थेँ । भारतबाट आएका स्पोटर्स वर्ल्ड, स्पोटर्स कारजस्ता म्यागेजिन पढिन्थ्यो । टाइम्स अफ इन्डिया र नवभारत पत्रिका पनि आउँथे । भारतीय पत्रिकाले पनि थेगे । दूरदर्शनले पनि थेग्यो । एक दिनपछि पनि यस्ता खेल समाचार प्रकाशन गरिन्थे । प्रेसमा हातैले कम्पोज गर्ने समय थियो त्यो । त्यसैले गर्दा काम असाध्य ढिलो हुन्थ्यो ।

फोटो छाप्ने चलनै थिएन
त्यतिखेर पत्रिकामा विश्वकपको फोटो छाप्ने चलनै थिएन । भारतीय पत्रिकामा छापिएका फोटा छापिन्थ्यो । पत्रिकामा भएको फोटो काटेर जिङ्क ब्लक बनाएर यता छापिन्थ्यो । काठमा राखेर किलाले ठोकेर छाप्नुपर्थ्याे । भारतीय पत्रिकामा छापिएको पर्सिपल्ट नेपालमा छापिन्थ्यो तर सधैँ छापिँदैन थियो ।

नेपाल ब्राजिलको फ्यान
नेपालमा पहिले पनि ब्राजिल र अर्जेन्टिनाका फ्यान धेरै थिए । अहिले पनि ब्राजिल र अर्जेन्टिनाकै फ्यान धेरै होलान् ।
नेपालमा ब्राजिलको समर्थक हुनुमा पेलेको विश्वसनीयता तथा भलाद्मीपन, नेपालीको निकटता बढी र केही आर्थिक, सामाजिक कारणले पनि हुन सक्छ । ब्राजिलले राम्रो खेल्ने भएकाले ब्रान्ड भएर पनि उसको नेपाली समर्थक बढेका हुन सक्छन् ।

टिभीमा प्रत्यक्ष प्रसारण
पहिला विश्वको अधिकांश राष्ट्रमा टिभीमा लाइभ दिने चलन थिएन । जापानलगायत केही युरोपेली राष्ट्रमा दिइन्थ्यो ।
टेलिभिजन नेटवर्क नै कम थियो । नेपालमा मात्रै टिभी नभएको हैन, डिटेलमा कभरेज नै हुँदैनथ्यो । पाएको भिजुअल दिइन्थ्यो । दक्षिण एसियामा त अझ कम कभरेज हुन्थ्यो ।

तर फुटबलमा कम इन्ट्रेस्ट भएर कभरेज नभएको हैन । अहिलेको जस्तो प्रविधि थिएन । कभरेज गर्न पनि कठिन थियो । नेपालमा टेलिभिजनमा धेरै पछाडि छैन । सन् १९८५ मा आएको हो । टिभीको पहुँच नै थिएन । नेपालमा जो-जसकहाँ टेलिभिजन पुगेको थियो, त्यहाँ खुब टेलिभिजन हेरिन्थ्यो । सहरी क्षेत्रको धनाढ्यमा पहुँच हुन्थ्यो । भोलिपल्ट न्युरोड लगायतका चिया पसलमा विश्वकपको बारेमा चर्चा हुन्थ्यो ।अफिसमा समेत खुब चर्चा हुन्थ्यो । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर तथा कर्मचारीले धेरै चर्चा गर्थे, हेर्थे । पढेलेखेकाले धेरै हेर्थे । काठमाडौँ उपत्यकामा फुटबलको बारेमा बताएको ध्यानपूर्वक खुव सुनियो । बिबिसीको लाइभ कभरेज अत्यन्तै ध्यान दिएर सुन्थे मान्छेहरु । त्यो बेला लाइभ कभरेजको क्रेज अत्यन्तै थियो ।

राम्रो कभरेज
मैले ४० वर्ष पहिले एसिया फाइनलमा पुग्दैन भनेर लेखेको थिएँ । अहिलेसम्म पुगेको छैन । ओलम्पिकमा नेपालले ५० वर्षसम्म मेडल ल्याउँदैन भनेर लेखेको थिएँ । अहिलेसम्म ल्याएको छैन ।

नेपालमा पनि फुटबल टिम थिए । फुटबलको क्रेज थियो । अहिले खेलकुदका लागि मिडियाले राम्रो कभरेज गरिरहेका छन् । रिपोर्टर पनि छन् । मिडियाले पनि खर्च गरिरहेका छन् ।

विश्वमा खेलकुदका समाचारमा नयाँ थालनी तथा मिहिनेत पनि राम्रै भएको देखिन्छ । नयाँ टेस्ट दिने प्रयास गरिन्छ ।
राम्रो समाचार बनाउनका लागि निकै मिहिनेत र लगानी गरिन्छ । त्यसरी खारिएर आएको समाचार कोठैमा बसेर हेर्न पाइन्छ ।

महिला सहभागिता
पहिलाको तुलनामा फुटबलमा महिलाको चासो बढेको छ । अहिला महिला पनि फुटबलमा चासो प्रशस्त देखिन्छ । पहिले—पहिले महिलाहरुको सहभागिता कम देखिन्थ्यो । बाहिर विश्वकपको बारेमा छलफल तथा चर्चा गर्ने महिलाको संख्या कम हुन्थ्यो । नेपालमा अहिले युवायुवतीमा फुटबलका बारेमा धेरै चर्चा हुन थालेको छ ।

नेपाली-पश्चिमा पत्रकारिता
नेपालमा न्यूनतम पारिश्रमिक नपाएर पनि क्वालिटी नभएको हो । पाए पनि कार्यालय सहयोगीसरहको छ । पारिश्रमिक कम, मिडियाले आशा धेरै गर्दा गुणस्तरमा कमी हुन सक्छ । नेपाली मिडियालाई अहिले चुनौती छ । एकातिर पाठकलाई स्तरीय सामग्री दिनुपर्ने, अर्कोतिर पारिश्रमिक थोरै। शुक्रवार साप्ताहिकबाट। प्रस्तुति: उपेन्द्र खड्का

प्रकाशित: ३१ जेष्ठ २०७५ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App