दक्षिण एसियाली राष्ट्र बंगलादेश र भारत आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको कठिन समूहमा परेका छन्।
एसियन फुटबल महासंघ (एएफसी) ले अस्ट्रेलियाको सिड्नीमा मंगलबार सार्वजनिक गरेको ‘ड्र’ बाट दक्षिण एसियाली टोली बंगलादेश र भारत कठिन समूहमा परेका हुन्। यसपल्ट छनोटमा यस क्षेत्रबाट यी दुई टोलीसँगै नेपालले पनि एसियन कप खेल्ने अनुमान गरिएको थियो। तर, निर्णायक खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदा नेपाल यो सफलताबाट वञ्चित भएको हो। तर, दक्षिण एसियाका अन्य दुई टोली भारत र बंगलादेश भने समूहमा शीर्ष स्थानमा रहँदै एसियन कपमा छनोट भएका हुन्। तर, डेब्युटेन्ट टोली बंगलादेश र सन् २००३ पछि एसियन कप खेल्न लागेको भारत कठिन समूहमा परेका छन्।
डेब्युटेन्ट टोली बंगलादेश तीनपल्टको विजेता उत्तर कोरिया र डिफेन्डिङ च्याम्पियन चीन रहेको समूह ‘बी’ मा परेको छ। यस समूहको चौथो टोली उज्बेकिस्तान हो। यस समूहमा रहेको उत्तर कोरिया सन् २०१० पछि एसियन कप खेल्दै छ। फिफाको प्रतिबन्ध, छनोट नहुनु र खेलबाट हात झिक्दा उत्तर कोरिया पछिल्ला संस्करणबाट बाहिर थियो। लामो समयपछिको पुनरागमनमा छाप छोड्ने उत्तर कोरियाको दाउ छ। यसै पनि पछिल्ला समय उत्तर कोरियाले उमेरसमूहको फिफा विश्वकपमा उपाधि नै जितेरलाई आफूलाई प्रमाणित पनि गरेको छ। उत्तर कोरिया सन् २०२४ को फिफा यु–२० महिला विश्वकप र यु–१७ महिला विश्वकपमा च्याम्पियन टोली हो। त्यसैले सिनियर टोलीले पनि एसियन कपमा प्रभाव जमाउन सक्नेछ।
तर, दक्षिण एसियाली टोली बंगलादेश र उज्बेकिस्तान कमजोर टोली भने होइनन्। दुवैले पछिल्ला समय महिला फुटबलमा राम्रो विकास गरिरहेका छन्। उज्बेकिस्तानले छनोट चरण पार गर्दै पहिलोपल्ट एसियन कप खेल्दै छ। छनोटमा उज्बेकिस्तानले नेपालसँगै लाओस र श्रीलंकालाई पछाडि पारेको थियो। बंगलादेशले भने फिफा वरीयतामा आपूmभन्दा धेरै माथिको म्यानमारसँगै बहराइन र तुर्कमिनिस्तानलाई स्तब्ध बनाउँदै एसियन कप खेल्न लागेको हो। भारत पनि आगामी एसियन कपमा बलियो टोली जापान रहेको समूह ‘सी’ मा परेको छ। उक्त एसियन कपमा प्रतिस्पर्धा गर्ने १२ राष्ट्रमध्ये जापान फिफा वरीयताको सबैभन्दा माथिल्लो टोली हो।
जापानपछि माथिल्लो वरीयताको टोली उत्तर कोरिया हो। जुन अर्को दक्षिण एसियाली टोली बंगलादेशको समूहमा छ। भारतको समूह ‘सी’ मा जापानसँगै भियतनाम र चाइनिज ताइपेई छन्। भारत पनि पहिलोपल्ट छनोट चरण पार गर्दै एसियन कप खेल्दै छ। आयोजकको रूपमा भारतले पछिल्लो संस्करण (सन् २०२२) मा एसियन कप खेल्न पाएको थियो। तर, कोभिड–१९ का कारण घरेलु मैदानमा नै भएको एसियन कपबाट भारतले हात झिकेको हो। तेस्रोपल्ट उपाधि जित्ने लक्ष्यमा रहेको जापानको समूहबाट शीर्ष दुई स्थानमा रहेर नकआउट चरणमा पुग्न भारतका लागि निकै कठिन हुनेछ। यस प्रतियोगितामा समूहमा तेस्रो हुने उत्कृष्ट दुई टोलीले पनि क्वार्टरफाइनलमा स्थान बनाउनेछन्।
आयोजक अस्ट्रेलिया रहेको समूह ‘ए’ मा दक्षिण कोरिया, इरान र फिलिपिन्स छन्। तर, यस समूहलाई एसियन कपकै सबैभन्दा कठिन समूह मानिएको छ। अस्ट्रेलिया दोस्रोपल्ट एसियन कपको उपाधि उचाल्ने लक्ष्यमा छ। आयोजक टोली सन् २०१० को च्याम्पियन हो।
गत संस्करण क्वार्टरफाइनलबाट पराजित हुन पुगेको अस्ट्रेलिया यसपल्ट घरेलु भूमिमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यमा हुनेछ। गत संस्करण २०२२ को एसियन कप फाइनलमा दक्षिण कोरिया चीनसँग ३–२ ले पराजित हुन पुगेको थियो। यसपल्ट भने कोरिया उपाधि जित्ने लक्ष्यमा हुनेछ। क्वालिफायरमा जोर्डनलाई स्तब्ध बनाउँदै दोस्रोपल्ट एसियन कपमा स्थान बनाउने इरान पनि अस्ट्रेलियाको यात्रा यादगार बनाउन चाहन्छ।
समूह ‘ए’ को अर्को टोली फिलिपिन्स गत संस्करण सेमिफाइनलसम्म पुगेको थियो। विश्व फुटबलमा पछिल्लो समय उदीयमान टोली यसपल्ट भने फाइनलमा पुग्ने लक्ष्यमा छ। महिला एसियन कप आगामी सन् २०२६ को मार्च १ देखि २१ सम्म अस्ट्रेलियाका तीन सहरमा हुनेछ।
हरेक समूहका शीर्ष दुईले सोझै क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। तेस्रो स्थानमा रहने उत्कृष्ट दुई टोलीले पनि नकआउटको यात्रा तय गर्ने प्रावधान छ। एसियन कपका सेमिफाइनलिस्टले सीधै सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपमा स्थान बनाउनेछन्। क्वार्टरफाइनलमा पराजित हुने टोलीले ग्लोबल छनोटबाट विश्वकपको यात्रा तय गर्ने अवसर पनि पाउनेछन्।
प्रकाशित: १४ श्रावण २०८२ ०८:५५ बुधबार





